एकै गुँडमा हुर्किए दुई प्रजातिका चरा
दुई प्रजातिका चराले एउटै गुँडमा आफ्ना सन्तान हुर्काएको तथ्यले पन्छीविद् तथा वैज्ञानिकहरू उत्साहित छन्।
न्यू साइन्टिस्टमा प्रकाशित समाचारमा इटालीको जूलोजिक स्टेशन एन्टोन डौरनका वैज्ञानिक रोसारियो बेलिस्ट्रियरीले दुई प्रजातिका चराले एउटै गुँडमा बचेरा हुर्काएको अहिलेसम्म थाहा नभएको बताएका छन्।
वैज्ञानिक ज्याकोमो ब्रुनीले टस्क्यानीको आफ्नो घरको भित्तामा बनाइएको चराको गुँडमा दुई जोडीले बचेरा हुर्काएको देखेका थिए। त्यसपछि भिडिओ क्यामेरा जडान गरेर चराको माउ र बच्चाको क्रियाकलाप अध्ययन गरिएको थियो।
साझा गुँडमा बचेरा हुर्काउने चरा प्रजाति कमन रेडस्टाटर्स र ब्ल्याक रेडस्टाटर्स हुन्। कमन रेडस्टाटर्सलाई नेपालीमा खन्जरी र ब्ल्याक रेडस्टाटर्सलाई ध्याप्ची खन्जरी भनिन्छ। जसमा कमन रेडस्टाटर्सका तीन वटा बचेरा र ब्ल्याक रेडस्टाटर्सका दुई वटा बचेरा हुर्किरहेको देखिन्छ। जहाँ दुवै आमाबाबुले दुवै बचेरालाई आहारा खुवाइरहेको देखिन्छ।
पाँचै वटा बचेरा सफलतापूर्वक हुर्केको देखिन्छ। तर पछि गुँड हेर्ने क्रममा वैज्ञानिकले कमन रेडस्टाटर्सको एउटा अन्डा खेर गएको पाएका थिए।
कोइली लगायत केही चराले आफ्नो अन्डा झुक्याएर अरू चराको गुँडमा राखी बचेरा हुर्काउँछन्। तर त्यस विपरीत दुवै प्रजातिका रेडस्टाटर्सले आफ्नो सम्बन्धबाट लाभ लिएको देखिएको न्यु साइन्टिस्टको रिपोर्टमा उल्लेख छ।
“दुवै जोडीका बचेरा जवान भएर गुँड छोडेर गए। यसले हामीलाई यो दुर्लभ तथा विशेष चरा प्रजातिमा हुने सहकार्यबारे सोच्ने अवसर दिएको छ,” बेलिस्ट्रियरीले भने, “यो वास्तवमै गजबको घटना हो जसबारे हामीले थप अध्ययन गर्नुपर्ने हुन्छ।”