जनकपुरमा बजार बन्द गराउने ६६ जना पक्राउ
आम जनता पार्टी (आजपा)ले गरेको मधेश बन्दका क्रममा ६६ जना पक्राउ परेका छन्।
प्रभु साह नेतृत्वको आजपाका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। जनकपुरमा बजार र यातायात बन्द गराउँदै हिंडेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।
प्रहरीले आजपाका महासचिव उपेन्द्र साह, प्रवक्ता सीबी साह, स्थायी कमिटी सदस्य श्रीलाल महासेठ, महोत्तरी जिल्ला अध्यक्ष विजयकुमार साह लगायत नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
राष्ट्रिय सभा निर्वाचनलाई लिएर जनकपुरमा सुरक्षा व्यवस्था कडा गरिएको छ। ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन्।
ब्यांकले बढाएको ब्याज घटाउनुपर्ने, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आमजनतालाई सहज कर्जा उपलब्ध गराउने लगायत माग राखी आजपाले मधेश बन्दको आह्वान गरेको थियो।
बन्दको कारण राष्ट्रिय सभा निर्वाचनमा असर पर्ने भएपछि प्रहरीले आजपाका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ। मधेशका अन्य जिल्लामा पनि आजपाका कार्यकर्ता पक्राउ परेका छन्।