सातै प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान
राष्ट्रिय सभाका १९ सदस्यका लागि आज सातै प्रदेशमा मतदान चलिरहेको छ।
आगामी फागुन २१ गते राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिंदै छ। जसमध्ये १९ जना निर्वाचित र एक जना राष्ट्रपतिबाट मनोनीत हुन्। आज १९ सदस्यका लागि मतदान चलिरहेको छ।
सातै प्रदेशमा आठ पार्टीका ५१ जना उम्मेदवार छन्। जसमा सत्तारूढ गठबन्धनले सहमतिमा उम्मेदवार उठाएको छ भने नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी र जनमत पार्टीले आआफ्नो उम्मेदवार खडा गरेका छन्।
गण्डकी प्रदेशमा तीन सदस्यका लागि मतदान भइरहेको छ। पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा रहेका दुई मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान शुरू भएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बताए। गण्डकीमा २३० जना मतदाता छन्।
चार दलका आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेसले अन्य र अपांगता/अल्पसंख्यक क्लस्टरमा क्रमशः गोरखाका किरणबाबु श्रेष्ठ र तनहुँका पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ। नेकपा (माओवादी केन्द्र)ले महिलातर्फ मनरूपा शर्मालाई उम्मेदवार बनाएको छ।
एमालेले अन्य क्लस्टरतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, महिलातर्फ गोरखाकी सम्झना देवकोटा र अपांगता/अल्पसंख्यक क्लस्टरमा हेमन्द्र शेरचनलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्यमा कास्कीका रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठ उम्मेदवार छन्।
बागमती प्रदेशमा चार सदस्यका लागि १५ जना उम्मेदवार छन्। बागमतीमा ३४७ जना मतदाता छन्। आजै अपराह्न ३ बजेभित्र मतदान कार्य सम्पन्न भएलगत्तै दलका उम्मेदवारको सहमति अनुसार अपराह्नबाट मतगणना कार्यका लागि आवश्यक तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताए।
लुम्बिनी प्रदेशमा घोराही उपमहानगरपालिका-१५ स्थित कर्मचारी मिलन केन्द्रको प्रांगणमा रहेको मतदान केन्द्रमा मतदान चलिरहेको छ। लुम्बिनी प्रदेशमा दुई सदस्यका लागि ६ जना उम्मेदवार छन्। माओवादीले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदी र कांग्रेसले महिलातर्फ गुल्मीकी विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ।
एमालेले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्री र महिलातर्फ दाङकी तुलसाकुमारी केसीलाई उम्मेदवार बनाएको छ। जनमत पार्टीका तर्फबाट अन्यमा नवलपरासीका बालगोविन्द चौधरी उम्मेदवार छन् भने राप्रपाका तर्फबाट महिलातर्फ कपिलवस्तुकी विजयालक्ष्मी सिंह उम्मेदवार छन्।
कोशी प्रदेशमा दुई सदस्यका लागि पाँच जना उम्मेदवार छन्। महिलातर्फ माओवादीकी चम्पा कार्की र एमालेकी रुक्मिणी कोइराला, अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेबाट पर्शुराम अधिकारी र राप्रपाबाट उद्धव पौडेल उम्मेदवार छन्।