नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित
आईसीसी यू-१९ विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित भएको छ।
पूर्वी लन्डनमा बुधबार भएको खेलमा नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो। पाकिस्तानका लागि अजान अवेसले अर्धशतक प्रहार गरे। उनले ८२ बलमा ६३ रन बनाएपछि पाकिस्तानले जित हासिल गरेको हो।
त्यस्तै, पाकिस्तानका लागि शामिल हुसैन र सहजैब खानले ३७-३७ रन बनाए। यसैगरी, अहमद हुसैनले २९ र हारुन अर्सदले १५ रन बनाएका थिए।
नेपालका लागि आकाश चन्दले तीन, दीपेश कँडेल र आकाश त्रिपाठीले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको थियो। नेपालका लागि विपिन रावलले ३९, दीपक डुम्रेले २६, देव खनालले २३, सुवास भण्डारीले २०, गुल्सन झाले १८, आकाश चन्दले १६ र दीपेश कँडेलले १३ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
पाकिस्तानका लागि अराफात मिनहासले तीन, उबैद शाह र अहम्द हुसैनले दुई-दुई तथा खुबैब खलिल, मोहम्मद जीशन र अलि अस्फन्दले एक-एक विकेट लिएका थिए।
नेपालले समूह चरणको तेस्रो खेल अन्तर्गत माघ १२ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल रहेको समूह ‘डी’ मा न्यूजिल्यान्ड र पाकिस्तानले दुई-दुई खेल जितेर चार-चार अंक जोडेका छन्। नेपाल र अफगानिस्तानले अंक जोड्न सकेका छैनन्।