टेलिकमका पूर्व प्रबन्ध निर्देशक र मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ।
नेपाल राष्ट्र ब्यांकको स्वीकृति विना विदेशी ब्यांकमा खाता खोली रकम जम्मा गरेको लगायत अभियोगका आधारमा उनीहरूलाई पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।
गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा उनीहरू विरुद्ध आयोगले यसअघि नै मुद्दा दायर गरेको थियो। नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको आयोगको अनुसन्धानमा देखिएको प्रवक्ता घिमिरेले बताए।
विकलले अमेरिकाको स्थायी आवासीय अनुमति लिएको पाइएको अख्तियारले जनाएको छ। कसूरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने, भागी जाने सम्भावना समेत भएकाले उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता घिमिरेको भनाइ छ।