कीर्ति राख्ने होडमा कीर्ते उद्घाटन
पूर्ण रूपमा बनिनसकेको मेलम्ची आयोजनाको उद्घाटन आठ पटक भइसक्यो। परियोजना गुणस्तरीय बनाउनेभन्दा शिलालेखमा नाम लेखाइहाल्ने दलीय होडबाजी केन्द्रदेखि पालिकासम्मै व्याप्त छ।
सप्तरीको राजविराजमा सोमबार मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास क्रममा झडप भयो। मधेश प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादव सहित पाँच जना घाइते भए। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई शिलान्यासको प्रमुख अतिथि बनाइएको विरोधमा जनमत पार्टीका कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए। कार्यक्रम बिथोल्न खोजेको भन्दै प्रहरीले लाठी प्रहार गरेको थियो।
मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै पार्टीका अध्यक्ष उपेन्द्रबाट शिलान्यास गराउने कार्यक्रम बनाएपछि जनमतका नेता-कार्यकर्ताले आइतबार विश्वविद्यालयमा तालाबन्दी समेत गरेका थिए। जनमतका केन्द्रीय सचिव बीपी साह विश्वविद्यालयका सहकुलपति तथा सिनेट अध्यक्ष रहेका शिक्षामन्त्री महेशप्रसादको मतभेद रहँदारहँदै मुख्यमन्त्रीले एकपक्षीय रूपमा शिलान्यास गराउन खोजेकाले विरोध गरिएको बताउँछन्।
महेशप्रसाद जनमत पार्टीका नेता हुन्। साह विश्वविद्यालयमा मुख्यमन्त्रीले आफ्ना मान्छे नियुक्त गरेको र भवन निर्माणमा भ्रष्टाचार समेत गरेको आरोप लगाउँछन्। “हाम्रो विरोध हुँदाहुँदै कार्यक्रम गरेकाले झडपको स्थिति बन्यो,” उनी भन्छन्।
आरोप-प्रत्यारोप जेजस्ता रहे पनि यो विवादको मुख्य जड भवन शिलान्यासको जस जसपा र जनमत कसले लिने भन्ने होडबाजी हो। दल र नेताहरूको यस्तो होडबाजी केन्द्रदेखि पालिकासम्मै व्याप्त छ। राष्ट्रिय लगानीका आयोजनालाई आफ्नो कीर्ति बनाउने लालसा नेताहरूमा यतिसम्म देखिन्छ कि कामै नसकी हतार हतार रिबन काटिएका घटना समेत छन्।
कतिपय आयोजना चाहिं पटक पटक उद्घाटन गरिएका छन्। सबैभन्दा बलियो उदाहरण हो- मेलम्ची खानेपानी आयोजना। अझै पूर्ण रूपमा सञ्चालन भइनसकेको यो आयोजना उद्घाटन भने आठ पटक भइसकेको छ।
पछिल्लो पटक गत माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित आफ्नै कार्यालय परिसरमा मेलम्ची पानी वितरणको उद्घाटन गरे। पहिलो पटक २०७७ असार २१ मा तत्कालीन खानेपानीमन्त्री विना मगर र सिन्धुपाल्चोकका तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालले पानी पथान्तरणको शुभारम्भ गरेका थिए। तर केही समयपछि अम्बाथानस्थित ‘अडिट टनेल’ भत्किएर इन्जिनीयर सतीश गोइत र आयोजनाका सवारी चालक राधाकृष्ण थापाको मृत्यु भएको थियो। इन्जिनीयर शेखर खनाल र पेमादोर्जे तामाङ घाइते भए।
घटनापछि खानेपानी मन्त्रालयले गरेको अध्ययनले सुरुङको गुणस्तर नै परीक्षण नभएको देखाएको थियो। भित्र खुल्ने गरी बनाउनुपर्ने ढोका बाहिर खुल्ने गरी बनाइएको, ढोकामा प्रयुक्त नटबोल्ट मजबूत तरीकाले डिजाइन नगरिएको र तोकिएको गुणस्तर समेत नपाइएको प्रतिवेदनमा उल्लेख थियो।
२०७७ फागुन पहिलो साता तत्कालीन खानेपानीमन्त्री मणिचन्द्र थापा र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले अम्बाथान पुगेर दोस्रो पटक मेलम्चीको पानी पथान्तरण गरे। २०७७ फागुन २२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फ्लशिङ टनेल’ को ‘हाइड्रोलिक मेकानिकल गेट’ को बटन थिचेर प्रशोधन केन्द्रमा झारेका थिए। एक महीनापछि २०७७ चैत २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पनि काठमाडौंको भृकुटीमण्डपमा निर्मित ढुंगेधारा खोलेर मेलम्चीको औपचारिक उद्घाटन गरिन्।
बर्खामा बाढीले आयोजना फेरि रोकियो। त्यसपछि २०७८ चैत २९ मा हेडवर्क्स क्षेत्रको गेग्रान पूरै नपन्छाई अस्थायी तवरले पानी काठमाडौं ल्याइयो। तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको मुहानमा पुगेर वैकल्पिक सुरुङमा पानी भर्न शुरू गरेका थिए। वैशाख ११ मा उनैले बानेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ट्यांकबाट ‘स्टेयरिङ’ घुमाएर पानी वितरणको पुनरुद्घाटन गरे। तर पानी तीन महीना पनि आएन।
बर्खा लागेपछि खोलामा भल बढ्न थाल्यो। सुरुङको मुख बन्द गर्नुपर्यो। चौधरीले २०७९ मंसीर २३ गते फेरि पानी वितरणको शुभारम्भ गरे। तर आयोजना कहिले पूर्ण रूपमा बनिसक्छ भन्ने अझै यकीन छैन।
आयोजनाको उद्घाटनमा निहित दलीय स्वार्थ शिलालेखमा आफ्नो पक्षको नाम नराखिएको भन्दै अर्को दलले विरोध गर्ने प्रवृत्तिले पनि पुष्टि गर्छ। तीन वर्षअघि कैलालीको घोडाघोडी नगरपालिका-७ को भवन उद्घाटन कार्यक्रममा उपमेयर प्रेमकुमारी थापाले ढुंगा प्रहार गरेकी थिइन्। शिलालेखमा आफ्नो नाम नभएकोमा उनको असन्तुष्टि थियो।
गत माघ ४ गते कैलालीकै गोदावरी नगरपालिकाको प्रशासकीय भवन दोस्रो पटक उद्घाटन गरियो। यसअघि २०७८ चैत १४ गते एमालेबाट निर्वाचित तत्कालीन नगरप्रमुख हरिसिंह साउदले उद्घाटन गरेका थिए। अहिले कांग्रेसबाट निर्वाचित मेयर वीरेन्द्र भट्टले पुरानो शिलालेख हटाएपछि दिनभर तनाव सिर्जना भयो। एमाले कार्यकर्ता विरोधमा उत्रिएपछि प्रहरी परिचालन गर्नुपरेको थियो।
जानाजान झूटो प्रचार
समाजशास्त्री दिनेश प्रसाईं अपूरा र खुद्रे आयोजनाको रिबन काट्न हतारिने प्रवृत्तिलाई राजनीतिक नेतृत्वमा नैतिकताको अभाव र प्रचारमुखी सोचको परिणाम मान्छन्। उनका विचारमा जनताको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउने दूरदर्शिता र क्षमता नभएकैले नेताहरू खुद्रे काममै भए पनि आफ्नो नाम आएको हेर्न चाहन्छन्। “अधिकांश नेता परियोजना भविष्यमा जेसुकै होस्, आफू सत्तामा रहेका वेला चाहिं वाहवाही भइहालोस् भन्ने मनोविज्ञानबाट ग्रस्त छन्,” प्रसाईं भन्छन्।
राजनीतिक विश्लेषक भास्कर गौतम चाहिं ‘जनता बेवकूफ हुने र जे पनि पत्याइहाल्छन्’ भन्ने सोचका कारण राजनीतिक नेतृत्वले जानाजान भ्रम फैलाउने गरेको बताउँछन्। उनका अनुसार आफूले उद्घाटन गरेको परियोजना आफ्नो कार्यकालमा शुरू नभएको र नसकिने थाहा हुँदाहुँदै आफ्नै कारणले सम्भव भए जस्तो देखाउन यस्ता झूट रच्ने गर्छन्। “नेताहरूले सिर्जना गरेका भ्रमलाई स्थापित गर्न र फैलाउन मिडियाको भूमिका छ,” गौतम भन्छन्, “नेताहरूले फैलाएको भ्रम चिरफार नहुँदा यो खेती भोटको राजनीतिमा रूपान्तरण समेत भएको छ।”
राजनीतिक विश्लेषक इन्द्र अधिकारी सत्ता या शक्तिमा नरहँदा पनि आफ्नो नाम रहिरहने लोभका कारण राजनीतिक नेतृत्वमा उद्घाटन तथा शिलान्यास मोह हुने बताउँछिन्। “तत्काल र पछिसम्म चर्चित हुने मनोविज्ञानका कारण राजनीतिक नेतृत्व परियोजना सम्पन्न नभईकन उद्घाटन गर्न मरिहत्ते गर्छन्,” उनी भन्छिन्, “आफूलाई पछिसम्म सम्झिरहून् भन्ने सोच्नु मानवीय चरित्र हो।”