नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य
आईसीसी यू-१९ विश्वकप अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ।
पूर्वी लन्डनस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको हो। नेपालका ब्याटरले पाकिस्तानी बलिङसामु टिकेर खेल्न सकेनन्।
नेपालका लागि विपिन रावलले ३९, दीपक डुम्रेले २६, देव खनालले २३, सुवास भण्डारीले २०, गुल्सन झाले १८, आकाश चन्दले १६ र दीपेश कँडेलले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
पाकिस्तानका लागि अराफात मिनहासले तीन, उबैद शाह र अहम्द हुसैनले दुई-दुई तथा खुबैब खलिल, मोहम्मद जीशन र अलि अस्फन्दले एक-एक विकेट लिए।
लिग चरण अन्तर्गत पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको थियो। अब तेस्रो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।