प्रहरीको अविजित यात्रा, मधेशसँग फराकिलो जित
नेपाल प्रहरी क्लबले मधेश प्रदेशलाई फराकिलो अन्तरले पराजित गर्दै आफ्नो अविजित यात्रा कायमै राखेको छ।
राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रहरी क्लबले मधेश प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। मधेशले दिएको ९७ रनको लक्ष्य प्रहरी क्लबले १८.३ ओभरमै चार विकेट गुमाएर पूरा गरेको हो।
प्रहरी क्लबका लागि सुनील धमलाले २८, कुशल भुर्तेलले १९, आरिफ शेखले १६ र अमित श्रेष्ठले १५ रन बनाए। त्यस्तै, मधेशका लागि रञ्जित कुमार र अरनिको यादवले दुई-दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको मधेश प्रदेशले २४ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनाएको थियो। मधेशका लागि अरनिको यादवले २३, हरिशंकर साहले २२ र अभिषेक तिवारीले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
प्रहरी क्लबका लागि सागर ढकालले पाँच विकेट लिए। उनले नौ ओभरमा ४१ रन खर्चेर मधेशका पाँच ब्याटरलाई पभेलियन पठाए।
त्यस्तै, ललित राजवंशीले चार विकेट लिए। उनले पाँच ओभरमा दुई मेडन राखेर १२ रन खर्चिए। यसैगरी, रसिद खानले एक विकेट लिए।
यो जितसँगै प्रहरी क्लबले शीर्षस्थान कायमै राखेको छ। पाँच खेलमा पाँचै खेल जितेको प्रहरीको १० अंक पुगेको छ।