विज्ञ भन्छन्- मोरङमा हिउँ चितुवा ‘आएको’ नभई ‘ल्याइएको’ हुन सक्छ
विज्ञका अनुसार उत्तरी भेगबाट मोरङसम्म हिउँ चितुवा आउने सम्भावना न्यून छ, त्यसैले यो उत्साहको समाचारभन्दा पनि चनाखो हुनुपर्ने घटना हो।
माघ ९ गते (मंगलबार) मोरङको उर्लाबारी नगरपालिका-१, चारघरेमा हिउँ चितुवा फेला परेपछि उच्च हिमाली क्षेत्रमा बाँच्ने प्राणी तराईमा कसरी आइपुग्यो भनेर संरक्षणकर्मी एवं सरोकारवाला चिन्तित छन्।
बाँसघारीमा लुकेको अवस्थामा स्थानीयले देखेर खबर गरेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले उक्त हिउँ चितुवालाई बेहोस पारी नियन्त्रणमा लिएको थियो। हिउँ चितुवाबारे विद्यावारिधि गरेका विक्रम श्रेष्ठका अनुसार नेपालमा हिउँ चितुवा दुई हजार ५०० मिटरसम्म मात्र ओर्लेको पाइएको छ। उसले विचरण गर्ने औसत उचाइ चार हजार मिटरमाथि नै हो।
तर मंगलबार हिउँ चितुवा भेटिएको उर्लाबारीको उचाइ समुद्री सतहदेखि १५० मिटर मात्र छ। मंगलबार सो स्थानको तापक्रम करीब १४ डिग्री सेल्सियस थियो। यस घटनालाई जलवायु परिवर्तनको असर भनेर शंका गरिए पनि त्यसको आधार नभएको श्रेष्ठको तर्क छ। “जलवायु परिवर्तन भन्ने हो भने मोरङको तापक्रमसम्म आइपुग्न लामो समय अभ्यस्त हुनुपर्छ,” उनी भन्छन्।
कोषको कोशी केन्द्र प्रमुख वीरेन्द्र गौतमले यो उचाइ र तापक्रममा हिउँ चितुवा भेटिनु आश्चर्य भएको बताउँछन्। “कुनै भवितव्यले आएको हुन सक्छ,” उनी भन्छन्।
हिउँ चितुवाबारे लामो समय अनुसन्धान गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक करन शाह भने यसलाई भवितव्य मान्न तयार छैनन्। हिजो समातिएको हिउँ चितुवा ४० किलोग्राम तौलको रहेको बताइएको छ। प्राध्यापक शाहका अनुसार त्यति तौलको हिउँ चितुवा हुर्किसकेको वयस्क हो। “तर यसको फोटो हेर्दा शरीरमा हुनुपर्ने जति रौं विकसित भइसकेको छैन। त्यस्तै, हिउँ चितुवाको पुच्छर उसको शरीर जत्तिकै लामो हुन्छ। यसको पुच्छर त्यति लामो छैन बीचमै भाँचिएको र रौं पलाएको छ। त्यसैले पुच्छर पहिले नै भाँचिएको हुन सक्छ,” शाह थप्छन्, “यी सबै तथ्यले यो हिउँ चितुवा बच्चैमा कसैले ल्याएर पालेको र अहिले भागेको हुन सक्ने सम्भावना छ।”
ताप्लेजुङमा हिउँ चितुवाका लागि उपयुक्त भेगमध्ये २५ देखि ३० प्रतिशतमा मात्रै उसले विचरण गर्ने गरेको र उत्तरी भेगबाट मोरङसम्म हिउँ चितुवा आउने सम्भावना ज्यादै न्यून रहेको दाबी समेत उनी गर्छन्। “उसलाई अन्यत्र जानु थियो भने बाँकी ७० प्रतिशत भूभागमै जान्थ्यो, त्यसैले स्वैच्छिक रूपमा आउन सक्ने सम्भावना न्यून छ,” उनी भन्छन्।
हिउँ चितुवाविद् श्रेष्ठ पनि हिउँ चितुवा स्वैच्छिक रूपमा उर्लाबारीसम्म आउने सम्भावना निकै कम रहेको दाबी गर्छन्। “त्यति कम तापक्रमबाट आउँदाआउँदै बाटोमै मर्न सक्थ्यो,” उनी भन्छन्। उसको स्वास्थ्य जाँच गरेपछि जबर्जस्ती पालेको वा स्वैच्छिक रूपमा आएको थाहा हुने उनी बताउँछन्।
हिमाली जैविक विविधताका अनुसन्धाता नारायण कोजू पनि हिउँ चितुवा आफैं मोरङसम्म आइपुगेको स्विकार्न तयार छैनन्। उनका अनुसार त्यति न्यून उचाइमा हिउँ चितुवा आउन पनि सक्दैन र शिकार गर्न पनि सक्दैन। “त्यसैले यो उत्साहको समाचारभन्दा पनि चनाखो हुनुपर्ने घटना हो,” कोजू भन्छन्, “हिउँ चितुवाको चोरीशिकारी भएको हुन सक्छ।”