नारायणगढ-बुटवल सडकमा ढिलाइ, यात्रु र स्थानीयलाई सास्ती
नारायणगढ-बुटवल सडक विस्तारको काममा ढिलाइ हुँदा यात्रु र चालकसँगै स्थानीय बासिन्दाले सास्ती खेप्नुपरिरहेको छ।
योजना अन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सकिएको छ। सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरका अनुसार म्याद सकिन करीब ६ महीना बाँकी रहँदा आयोजनाको काम अझै आधा बाँकी छ। २०७५ माघमा सम्झौता भएर नारायणगढ-बुटवल सडक विस्तारको काम थालिएको थियो। त्यसयता दुई पटक म्याद थप गरिएको छ।
दोस्रो पटक थपिएको म्याद आउँदो साउनमा सकिनेछ। यस अवधिसम्म ९० प्रतिशत काम गर्दा लगभग योजनाको निर्माण काम सकिने योजना प्रमुख मगरले बताए। यस योजनामा निर्माणपछिको पाँच वर्ष मर्मतको जिम्मा निर्माण कम्पनीको रहने हुँदा काम करीब १० प्रतिशत मान्दा साउनसम्म प्रगति ९० प्रतिशत हुनुपर्ने उनको भनाइ छ।
हालको भौतिक प्रगतिलाई मध्यनजर गर्दा समयमा सडक विस्तारको काम सम्पन्न गर्न अब मासिक कम्तीमा सात प्रतिशत प्रगति गर्नुपर्ने हुन्छ। तर कामको गति असाध्यै सुस्त रहेको योजना प्रमुख मगरले बताए। “हामीले बारम्बार कामको गति बढाउन निर्देशन गरिरहेका छौं तर गति असाध्यै कम छ,” योजना प्रमुख मगरले भने, “हामी खरायोको गतिमा दौडिनुपर्ने अवस्था छ तर गति चाहिं कछुवाकै छ।”
निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशनलाई अहिले प्रयोग गरेको जनशक्ति र मशिन अपर्याप्त रहेको जनाउँदै पर्याप्त साधनस्रोतको प्रयोग गरी तोकिएको समयमै काम सम्पन्न गर्न निर्देशन गरिरहेको उनले बताए। जुन गतिमा प्रगति हासिल गर्नुपर्ने हो त्यसो हुन नसकेको र निर्माणको गति सुस्त रहेकाले कामको प्रगति बढाउन निर्देशन गरिरहेको उनको भनाइ छ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल खण्डको ११३ किलोमिटर सडक मध्यपूर्वी खण्डमा करीब ६५ किलोमिटर पर्छ। बजार क्षेत्रमा सर्भिस लेन सहित ६, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण हुनेछ। पूर्वी खण्डमा हालसम्म २१ किलोमिटर मात्र दुई लेन सडक निर्माण सकिएको छ।
पुलको भाग छाडेर दुई लेनको हिसाब गर्दा करीब १२५ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ। यस हिसाबले अझै १०० किलोमिटर बढी कालोपत्रे गर्न बाँकी छ। “एकतर्फीको हिसाब गर्दा करीब २१ किलोमिटर कालोपत्रे गर्ने काम सकिएको छ,” योजना प्रमुख मगरले भने, “१०० किलोमिटरभन्दा धेरै कालोपत्रे गर्न अझै बाँकी छ।”
साउनभित्र सबै काम सक्ने गरी निर्देशन गर्नुका साथै जनताको सुविधालाई ध्यानमा राखेर पहिला एकतर्फी कालोपत्रे काम गर्न भनिएको योजना प्रमुख मगरले बताए। साउनभित्र सबै काम सम्पन्न गर्नुपर्ने निर्देशन भएको उनको भनाइ छ।
त्यस्तै, १२ वटा ठूला पुल निर्माण गर्नुपर्नेमा सबैको काम जारी छ। साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा २१ वटा पुलको काम सकिएको र अब एउटा मात्रै बन्न बाँकी छ। गैंडाकोटबाट दाउन्नेसम्म पहिलो खण्ड र दाउन्नेबाट बुटवलसम्म दोस्रो खण्डमा विभाजन गरी निर्माणको काम चलिरहेको छ।
करीब १७ अर्ब रुपैयाँ लागतको यस आयोजना लामो समयसम्म निर्माणसम्पन्न नहुँदा यात्रु र चालकले सास्ती खेप्दै आएका छन्। सडक उड्ने धूवाँधूलोले यात्रु तथा राजमार्ग आसपासका बासिन्दा पीडित छन्। धूलाका कारण व्यापार-व्यवसाय समेत प्रभावित बनेको डन्डाका व्यापारी कृष्ण अधिकारी बताए। -रासस