जंगबहादुरको पालामा लेखिएको स्वस्थानीमा के छ?
संखुवासभाको चैनपुरमा भेटिएको १६५ वर्ष पुरानो पुष्पिका सहितको स्वस्थानी व्रतकथामा चैनपुरका मुमिकश नेवारहरू पाटनबाट गएको र पाटनको कुम्भेश्वर मन्दिरलाई विश्वास गर्दै चैनपुरमा स्थानीय मठमन्दिर स्थापना गरेको उल्लेख छ।
दुई वर्षअघि संखुवासभाको चैनपुरमा पर्यटन विकास सम्बन्धी एक कार्यक्रममा सहभागी भई ऐतिहासिक रमेशकुमार ढुंगेल काठमाडौं फर्किने तरखरमा थिए। त्यही वेला स्थानीय गजेन्द्र श्रेष्ठले आफ्नो घरमा पुराना कागज भएको र त्यसको पहिचान गरिदिन ढुंगेललाई सुटुक्क सुनाए।
ढुंगेल पनि उत्सुक भएर श्रेष्ठको घर पुगे। पुस्तक हेर्नासाथ ढुंगेलले १०० वर्षभन्दा अगाडिको भन्ने पत्ता लगाइहाले। अझ अन्तिम पृष्ठमा भएको पुष्पिकाले त ढुंगेललाई थप अचम्मित बनायो। जहाँ यस्तो लेखिएको थियो :
ईति सम्वत् १९१५ साल मिति मार्घ (माघ) सुदि श्री ५ रोज ३ अरुणपूर्व्व वालेश्वर माहादेव देवस्थले सिद्धिकालीका शरणे चैनपु(र) ग्रामे नेपाल कुम्वेश्वर (कुम्भेश्वर) माहादेवस्थले श्री मस्तरामका ४ (चौथो) पुत्रका पुत्र चन्द्रलाल लिखितम्। शुद्धोवाविशुद्धोवामदोष नदियत्ते। रामश्री (श्रीराम), विष्णुश्री (श्रीविष्णु), श्रीकृष्ण राम राम राम राम शुभम्।
“यो स्वस्थानी पुस्तक रहेछ तर यसमा पुष्पिका सहितको लेखनले धेरै इतिहास खुलाउँछ भन्ने बुझेर थप अध्ययन र प्रकाशन गर्न अनुरोध गरें,” पुस्तकको विवरण हेर्दाको अनुभव सुनाउँदै ढुंगेल भन्छन्।
लगत्तै पुस्तकको ‘डिजिटाइजेशन’ शुरू भयो। दुई वर्षपछि गत पुस २१ गते चैनपुरको ऐतिहासिक स्वस्थानी पुस्तक प्रकाशन भयो।
पुस्तकको सम्पादन ढुंगेलले नै गरेका छन्। पुस्तकमा लेखकको वंश परिचय, मिति तथा केही ऐतिहासिक विवरण पनि समेटिएका छन्।
पाटनबाट चैनपुर पुगेर लेखिएको स्वस्थानी
काठमाडौं उपत्यका बाहिर विशेषगरी पश्चिमका बन्दीपुर, बाग्लुङ, तानसेन र पूर्वका चैनपुर, भोजपुर र धनकुटामा नेवारहरूको बाक्लो बस्ती छ। यीमध्ये चैनपुर, संखुवासभाका नेवार समुदायका पुर्खाहरू कहिले र कसरी त्यहाँ पुगे भन्ने चाहिं अध्ययनकै पाटो छ। यही जवाफहीनता चैनपुरको ऐतिहासिक स्वस्थानीले मेटाउन सक्ने पनि देखिएको छ।
चैनपुर पुगेको नेवार समुदायमध्ये मुमिकश श्रेष्ठहरूका वंश कहाँबाट, कसरी त्यहाँ पुगे भन्ने जवाफ यस पुस्तकले दिएको चैनपुर चौतारीकाल संस्थापक तथा चैनपुर पर्यटनविज्ञ समूहका संयोजक निराकार श्रेष्ठ बताउँछन्।
पुस्तकका अनुसार मस्तराम र हात्तीराम मुमिकश दाजुभाइहरू २७५ वर्षअघि पाटनबाट चैनपुर पुगेका थिए। चैनपुरमा रहेका भीमसेन मन्दिर, सिद्धकालीको महादेव मन्दिर, गणेश मन्दिर, कृष्ण मन्दिर लगायत सांस्कृतिक तथा धार्मिक सम्पदाहरू यिनै मुमिकश दाजुभाइले स्थापना गरेका थिए।
विसं १९१५ मा लेखिएको स्वस्थानी व्रतकथाका लेखक चन्द्रलाल मुमिकश श्रेष्ठ तिनै मस्तरामका काहिंला छोराका छोरा हुन्। चन्द्रलालले आफ्ना पुर्खाको नाम उल्लेख गरेपछि थप अध्ययन गर्दा उनका पुर्खा पाटनको कुम्भेश्वरबाट दक्षिण र उत्तर भोट पहाडतर्फ व्यापार-वाणिज्यको उद्देश्यले यात्रा गर्ने क्रममा चैनपुर पुगेको पाइएको ढुंगेल बताउँछन्।
चैनपुरकै केही स्थानीय अभिलेखमा भीमसेन मन्दिरको शिलालेखमा पनि चन्द्रलालका बाजे मस्तरामको नाम उल्लेख भएको पाइएको छ। ऐतिहासिक ढुंगेलका अनुसार ती शिलापत्र तथा पित्तलका सिंहासनका अभिलेखमा पाटन कुम्भेश्वर नजिक धलसिकु टोलबाट कश वा मुमिकश व्यापारीहरूमध्ये मस्तराम, हात्तीराम लगायत व्यक्तिहरू चैनपुर आई बसेको र धर्मकर्म, मठमन्दिर निर्माण, जीर्णोद्धार गरेको उल्लेख छ।
यता पाटनको कुम्भेश्वरतर्फ पनि मुमिकशका रूपमा चिनिने नेवार परिवारका प्रतिष्ठित नेवार व्यापारीहरू कहिलेकाहीं मूल्मी, मुमी, मूलमी आदिका रूपमा पनि चिनिने गरेका अभिलेखहरू पाइएको संस्कृतिविद् वीणा पौड्यालको सर्वेश्वर महादेव पुस्तकमा उल्लेख छ।
१६५ वर्ष पुरानो यस स्वस्थानी पुस्तकमै पनि लेखक चन्द्रलाल मुमिकश श्रेष्ठले, ‘चैनपु(र) ग्रामे नेपाल कुम्वेश्वर(कुम्भेश्वर)’ भनेर लेखेका छन्। यसको अर्थ पाटनको कुम्भेश्वर मन्दिरलाई शिरमा राखेर चैनपुरको गाउँमा आफू बसेको भन्ने हुनजाने ढुंगेल बताउँछन्।
“यसरी यो पुस्तक भेटिएसँगै चैनपुरका मुमिकश श्रेष्ठहरू पाटनबाट गएको र चैनपुरमा रहे पनि पाटनका देवदेवीहरूलाई मानेर चैनपुरमा अन्य देवस्थलहरू स्थापना गरेको बुझिन्छ,” ढुंगेल भन्छन्।
१६५ वर्षअघि नेवार समुदायको व्यक्तिले पर्वते भाषामा स्वस्थानी लेख्नुले त्यस वेलाको समाज समन्वयकारी रहेको पनि दर्शाउने ढुंगेलको तर्क छ। “अहिले लेखनको कुरामा विभाजनकारी मत हुन्छ। आफ्नो धर्म र भाषामा मात्र लेख्न हानाथाप हुन्छ। शताब्दीअघि ज्ञानको विस्तार गर्न भाषाले विभाजन ल्याएको रहेनछ,” ढुंगेल टिप्पणी गर्छन्।
इतिहास अध्ययनको स्रोत
पर्वते, खस, केही संस्कृत र केही नेपाल भाषामा भएको यस स्वस्थानी लेख्दाको समयमा जंगबहादुर राणाको शासन चलिरहेको थियो। चन्द्रलाल मुमिकश श्रेष्ठले विसं १९१५ मा यस स्वस्थानी लेख्दा राणाशासन शुरू भएको १२ वर्ष भएको थियो।
राणाहरूको कठोर शासनकाल मानिएको त्यस समयमा पनि गाउँ गाउँ पुगेका व्यपारीले ज्ञानको विस्तार गर्न यसरी कथा लेख्नुले नै समाजमा धार्मिक र सांस्कृति चेत फैलाएको ढुंगेल बताउँछन्।
“यसरी लेखिएको कथा कति चौतारा, कति बजार र कति मानिसहरूको भेलामा सुनाइयो होला,” ढुंगेल भन्छन्, “यो स्वस्थानी लेखिएकै कारण चैनपुर क्षेत्रमा स्वस्थानीको प्रचार भएको पनि हुन सक्छ, मुमिकशको स्वस्थानी पढेर धेरैले व्रत पनि बसे होलान्। कतिले उनलाई पण्डित नै मानेको पनि हुन सक्छ।”
यस पुस्तक १६५ वर्षअघिको नेपालमा प्रचलित लेखन तथा भाषाशैलीको अध्ययनको स्रोत पनि बन्न सक्ने देखिन्छ।
अहिले बजारमा पाइने स्वस्थानी व्रतकथा ३१ अध्यायका हुन्छन्। तर चन्द्रलाल मुमिकशद्वारा लिखित स्वस्थानी भने २२ अध्यायको छ। यद्यपि यसका कथा पूर्ण रहेको ढुंगेल बताउँछन्। यस पुस्तकमा सतीदेवीको अंगपतन भएका ५० वटा पीठहरूको स्थान क्रमसंख्यामा उल्लेख गरिएको छ। चैनपुरको सिद्धिकालिका पीठलाई १६औं पीठ मानिएको छ।
त्यसैले यो पुस्तक जुन कालखण्डमा लेखियो, यसले मुमिकश श्रेष्ठहरूका पुर्खाबारे मात्र बताएको छैन। यसले नेपाली समाजको विद्यापरम्परा, लेखनकला, अनुशीलन, आध्यात्मिक चेत, विषयगत समाजको इतिहासलाई पनि देखाएको ढुंगेल बताउँछन्। “यो नै नेपालीको इतिहास हो। आफ्नो देशको खराब भए पनि राम्रो भए पनि यस्ता सामग्रीले थप ज्ञानपद्धतिको धारा बगाउँछन्। थप अध्ययन र शोधका लागि अनुसन्धातालाई अग्रसर पनि गराउँछन्। अझै यो पुस्तकको माध्यमबाट नयाँ प्रमाणहरू फेला पर्न पनि सक्छन्,” उनी भन्छन्।
हिन्दू धर्मावलम्बीले पौष शुक्ल पूर्णिमादेखि एक महीनासम्म स्वस्थानी व्रतकथा सुन्ने र व्रत बस्ने चलन छ।