एक वर्षमा एक हजार २५४ पटक दुई अर्ब २६ करोडको हुन्डी कारोबार
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक जना हुन्डी कारोबारीले एक वर्षको अवधिमा एक हजार २५४ पटकमा दुई अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार गरेको भन्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
सरकारी वकीलको कार्यालय मार्फत दायर मुद्दामा रूपेश श्रेष्ठको घरबाट बरामद डायरीमा यस्तो अभिलेख भेटिएको सीआईबीको दाबी छ। नोभेम्बर २०२२ देखि नोभेम्बर २०२३ बीचमा कारोबार भएको देखिएको अभियोगपत्रमा उल्लेख छ।
श्रेष्ठलाई सीआईबीले गत मंसीरमा बागबजारबाट पक्राउ गरेको थियो। उनको घरबाट ८९ लाख ६९ हजार रुपैयाँ र सात हजार २६ अमेरिकी डलर समेत बरामद गरेको थियो।
श्रेष्ठ सिग्मा ओभरसीज नामक म्यानपावरका सञ्चालक हुन्। उनकी श्रीमती रचना शर्माको नाममा भने डाइनामिक भिजन इंक र स्पार्क आईटी कम्पनी सञ्चालनमा छन्। शर्मा अहिले फरार छिन्। श्रेष्ठ दम्पतीको नाममा काठमाडौं, ललितपुर र मकवानपुरमा ११ रोपनीभन्दा बढी जग्गा रहेको पनि अभियोगपत्रमा उल्लेख छ।
यो समूहले क्रिप्टोकरेन्सीको कारोबार गरेको समेत अभियोग छ। श्रेष्ठको मोबाइल, कम्प्युटरबाट बरामद वालेट एपको विवरण अनुसार उनले एक खर्ब ७१ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्। श्रेष्ठबाटै बरामद क्यास एपको विवरण अनुसार १४ अर्ब ७४ लाख रुपैयाँभन्दा बढी अवैध विदेशी विनिमय कारोबार गरेको पनि अभियोगपत्रमा उल्लेख छ।
संगठित रूपमा हुन्डी र क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै यो समूहका पाँच जना पक्राउ परे पनि १२ जना फरार छन्। फरार हुनेमा यसअघि सुन तस्करीमा जोडिएका व्यापारी विमल पोदार समेत छन्। यो समूहले करीब तीन खर्ब रुपैयाँ बराबरको विदेशी विनिमयको सञ्चिति तथा आम्दानीमा नोक्सान पुर्याएको आरोप छ। नेपाल राष्ट्र ब्यांक ऐन र संगठित अपराध निवारण ऐनको कसूर गरेको भन्दै सजाय माग गरिएको छ।