मधेश प्रदेश : जनमतका दुई मन्त्रीले दिए राजीनामा, यी हुन् असहमति
जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै पार्टीका मन्त्रीद्वय महेशप्रसाद यादव र चन्दन सिंहले पनि आआफ्नो राजीनामा बुझाएका छन्।
शिक्षा तथा संस्कृतिमन्त्री यादव र श्रममन्त्री सिंहले आज मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन्।
जनमत पार्टीका संसदीय दलका नेता समेत रहेका महेश यादवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो दलको भागमा परेको मन्त्रालय खोसेर महीनौं विना विभागीय मन्त्री बनाएको, शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई पटक पटक फुटाएर शिक्षा तथा संस्कृति मन्त्रालयमा मात्रै सीमित गरिएको, मन्त्रिपरिषद्मा छलफलै नगरी एकतर्फ र गोप्य ढंगले निर्णय गरिएको, रंजु खंगको नाम राज्यमन्त्रीमा सिफारिश भइसक्दा पनि शपथ ग्रहण नगराइएको जस्ता असहमति व्यक्त गरेका छन्।
जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा)बीच केही समयदेखि विवाद चलिरहेको छ। सोमबार सप्तरीमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीले लाठीचार्ज गर्दा मन्त्री यादवको टाउको फुटेको थियो भने केही सांसद घाइते भएका छन्। जसपाबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले समेत जनमतलाई सरकारबाट निकाल्ने अभिव्यक्ति दिएका थिए। यही विवादबीच जनमतले जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
विज्ञप्तिमा समेत जनमतले भनेको छ, ‘...यहाँसम्म कि आफ्नो मातहतको मधेश कृषि विश्वविद्यालयको शिलान्यासको विषयमा जानकारी समेत नदिएको तथा कार्यक्रमस्थलमा पुग्दा आफ्नै सरकारको निर्देशनमा म सहित मधेश प्रदेशका माननीयज्यूहरूमाथि लाठीचार्ज गर्न लगाई घाइते बनाएको जस्ता निन्दनीय क्रूर तानाशाही कदमहरू चालेको हुनाले आजकै मितिबाट जनमत पार्टीका मन्त्रीहरूले मधेश सरकारको मन्त्रिपरिषद्बाट राजीनामा दिनुका साथै मधेश सरकारबाट समर्थन समेत फिर्ता गरेको छ।’