घट्यो खाद्यान्न आयात
नेपालले आयात गर्ने खाद्यान्नको परिमाण घटेको छ।
गत आर्थिक वर्षको तुलनामा यस वर्षको पहिलो ६ महीनामा खाद्यान्नको आयातमा खर्च गर्नुपरेको रकम करीब २० प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महीना (पुससम्म)मा नेपालले रु.२७ अर्ब ९२ करोड मूल्यको खाद्यान्न आयात गरेको थियो। तर यस वर्षको साउनदेखि पुससम्म रु.२२ अर्ब २३ करोडको मात्रै खाद्यान्न आयात भएको छ।
भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धका कारण चामल आयात घटेको तथ्यांकले देखाएको छ। गत वर्ष पुससम्म चार लाख २३ हजार टन धान चामल आयात भएकोमा यस वर्षको पुससम्म एक लाख ८८ हजार टन मात्रै धानचामल आयात भएको छ। मूल्यमा हेर्दा यस वर्ष रु.१० अर्ब १४ करोडको मात्रै धानचामल आयात भएको छ। जबकि गत वर्ष यही अवधिमा रु.१८ अर्ब ६३ करोडको धानचामल आयात भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा धानचामलको मूल्यमा भएको वृद्धि, भारतको निर्यात प्रतिबन्धका कारण स्वदेशी बजारमा चामलको उपभोक्ता मूल्य चुलिएको छ। नेपाल सरकारले यस वर्ष धानको उत्पादन बढेको तथ्यांक सार्वजनिक गरे पनि बजारमा चामलको भाउ भने गत वर्षको तुलनामा बढेको छ।
भन्सार विभागका अनुसार यो आर्थिक वर्षको पहिलो ६ महीनामा विदेशबाट कृषि वस्तुको आयात करीब १४ प्रतिशतले घटेको छ। गत पुससम्म नेपालले रु.एक खर्ब २९ अर्बको कृषिजन्य वस्तु आयात गरेकामा गत वर्षको यही अवधिमा कृषिजन्य वस्तु आयात रु.एक खर्ब ५० अर्ब हाराहारीमा थियो। खासगरी खाद्यान्न, चिनी, पाम र भटमासको कच्चा तेल जस्ता वस्तुको आयात घटेको छ।
यद्यपि फलफूल, तरकारी, चियाकफी, पेयपदार्थको आयात बढेको छ। यस वर्षको पुससम्म नेपालले रु.१७ अर्ब ५० करोडको तरकारी आयात गरेको छ। गत वर्षको यही अवधिका तुलनामा यो २.७ प्रतिशत धेरै हो। त्यसैगरी, रु.१० अर्ब ७३ करोडको फलफूल र काजुबदाम आयात भएको छ जुन गत वर्षको यही अवधिका तुलनामा २८ प्रतिशत धेरै हो।
भन्सार विभागका अनुसार यस वर्ष पाम तथा भटमासको कच्चा तेलको आयात र निर्यात दुवै खस्किएको छ। नेपालको आयात र निर्यात हुने वस्तुको प्रमुख सूचीमा कच्चा तेल रहँदै आएका थिए। यस वर्ष नेपालले रु.१४ अर्ब २२ करोडको मात्रै भटमास र पाम तेल आयात गरेको छ। गत वर्षको यही अवधिमा भटमास र पाम तेलको आयात करीब रु.५२ अर्ब हाराहारीमा थियो।
विभागका अनुसार यस वर्षको पुससम्म नेपालले सबै प्रकारका तेल तथा पशुजन्य बोसोको आयातमा रु.२५ अर्ब ३५ करोड खर्चिएको छ। जुन गत वर्षको यही अवधिमा रु.५२ अर्ब ११ करोड हाराहारीमा थियो। नेपालले तेस्रो देशबाट आयात गरी सामान्य प्याकेजिङ मार्फत भारतमा यी वस्तुको निर्यात गर्दै आएको थियो।
मूल्य अभिवृद्धि कम हुने यस्ता वस्तुको व्यापारमा नेपाललाई धेरै लाभ नभए पनि व्यवसायीले फाइदा उठाउँदै आएका थिए। भारतले यस्ता वस्तुको भन्सार शुल्क घटाएसँगै नेपालमा यी वस्तुका आयात र निर्यात दुवै संकुचित भएका हुन्।