‘इतिहास लेखनमा भुइँमान्छेको आवाज छुटेको छ’
‘हाम्रा लागि धेरै ठीक र धेरै अधिकार दिने भनिएको संघीय प्रणालीतर्फ पनि प्रश्न उठ्नु राजनीतिक संकटकालको संकेत हो।’
वीणा पौड्याल इतिहास, संस्कृति र पुरातत्त्व विषयकी प्राध्यापक हुन्। उनका थुप्रै पुस्तक र अनुसन्धानमूलक सामग्री प्रकाशित छन्। सांस्कृतिक र ऐतिहासिक आलोकमा लैंगिक सवालहरूलाई सम्बोधन गर्नु उनको खास विशेषता हो। संस्कृतितर्फको राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित पौडेलले त्रिभुवन विश्वविद्यालयमा झन्डै ४० वर्ष प्राध्यापन गरिन्।
सेवानिवृत्तिपछि पनि संस्कृति र पुरातत्त्व विषयका दर्शनाचार्य र विद्यावारिधि तहका शोधार्थीलाई पढाउँदै आएकी छन्। उनीसँग गोविन्द न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंको परिवारका तीन पुस्ता गोरखापत्रको सम्पादक हुनुभयो। आफ्नो पारिवारिक पृष्ठभूमिबारे बताइदिनुस् न।
मेरो जिजुबुबा चिरञ्जीवी शर्मा पौडेल गोरखापत्रका प्रथम सम्पादक हुनुहुन्थ्यो। मेरा हजुरबा प्रेमराज र बुबा रामराज पौडेल पनि गोरखापत्रका सम्पादक हुनुभयो। यो एउटा दुर्लभ संयोग हो। गोरखापत्रमा उहाँहरूले लेख्नुभएका कविता पनि प्रकाशित छन्। हजुरबुबाकै प्रेरणामा मेरा हजुरआमाहरूले घरमै पढ्ने अवसर पाउनुभयो। परिवारमा पढ्ने माहोल निकै राम्रो थियो। त्यसैले मेरो शैक्षिक उन्नयनमा पनि मद्दत पुर्यायो।
जिजुबुबा युवाकवि मोतीराम भट्टको समकालिक हुनुहुन्थ्यो। बनारसमा संस्कृत शिक्षा पढ्नुभएका उहाँलाई साहित्यमा पनि विशेष रुचि रहेछ। संस्कृत र नेपाली भाषामा पुस्तक पनि लेख्नुभएको छ जुन मदन पुरस्कार पुस्तकालयमा संरक्षित छन्। तिनमा चन्द्रशम्शेरको यूरोपयात्रा, भागवतको सुखार्णवग्रन्थ आदि छन्। अर्कातर्फ आममानिसले पत्रकारिताको महत्त्व र उपादेयता नै बुझिनसकेका वेला उहाँले यसै मार्फत भाषा-संस्कृतिको सेवा गर्नुभयो। पत्रिकामा छापिएको कुराले सर्वसाधारणमा कस्तो चेतना निर्माण गर्न सक्छ भन्नेमा सम्पादकीय नै लेख्नुभएको छ। त्यो सम्पादकीय अहिले पनि पत्रकारिताका अध्येताहरूले आफ्नो अनुसन्धानमा उद्धृत गर्ने गरेका छन्।
विश्वविद्यालयमा करीब ४० वर्ष संस्कृति तथा पुरातत्त्व विषय पढाउनुभयो। कलेज पढ्दै गर्दाको विद्यार्थीदेखि सेवानिवृत्त प्राध्यापक हुँदासम्म आफ्नो विषयगत बुझाइमा कुनै परिवर्तन पाउनुभयो कि?
मानव समुदायले जीवनयापनका क्रममा अपनाएका भौतिक वा अभौतिक क्रियाकलापलाई संस्कृतिका रूपमा परिभाषित गरिन्छ। सामूहिक पहलमा सिर्जित मठमन्दिर, कलाकृति र तीसँग जोडिएका जात्रापर्वले व्यक्तिको मानसिक भावनालाई मूर्त/अमूर्त शैलीबाट व्यक्त गरिरहेका हुन्छन्, त्यही नै संस्कृति हो। संस्कृतिले सभ्यताको विशालतालाई प्रतिविम्बन गर्नुपर्छ भन्ने होइन तर यो सभ्यताको महत्त्वपूर्ण पक्ष हो। राष्ट्रको मेरुदण्ड रहेको अर्थतन्त्रलाई परिचालन गर्न संस्कृतिको भूमिका हुन्छ। यसैले संस्कृतिलाई समाज र राष्ट्रको दर्पण भन्न सकिन्छ।
तपाईंले स्नातकोत्तर तहको शोधपत्रमा संग्रहालयलाई संस्कृतिको आत्मा भन्नुभएको छ। हाम्रा संग्रहालयले त प्रायः विजेताका वैभव मात्र झल्काइरहेका हुन्छन्। हार्नेहरूको संस्कृति चाहिं संगृहीत हुनु पर्दैन?
हामीकहाँ संग्रहालयलाई विजेताको विरासत जसरी बुझ्ने/बुझाउने गरिएको छ। तर गहिरिएर हेर्दा शासकले स्थापना गरेका धरोहरमा नागरिकको सांस्कृतिक तथा सामाजिक इतिहास प्रतिविम्बन भएको देखिन्छ। जस्तै- हनुमानढोका, पाटन, भक्तपुर दरबार क्षेत्र लगायत उपत्यकाका केही संग्रहालयमा आजसम्म पनि नेवारी समुदायको सांस्कृतिक, धार्मिक एवम् सामाजिक अनुष्ठान सम्पादन हुन्छन्। जीवन्त ऐतिहासिक सम्पदा र त्यससँगको सामाजिक/सांस्कृतिक आबद्धता आदिका कारण काठमाडौं उपत्यका लगायत प्राचीन शहर आफैंमा खुला संग्रहालय प्रतीत हुन्छन्। यसरी हेर्दा संग्रहालय भुइँमान्छेको आवाज व्यक्त गर्ने कक्ष बन्न सक्छन्।
मैले पश्चिमी राष्ट्रका धेरै संग्रहालय घुम्दा तिनमा कथाका पात्रलाई समेत चित्रण गरिएको देखेपछि संग्रहालयको व्यापकताको बोध भयो। वस्तुतः संग्रहालय पुराना वस्तु मात्र संरक्षण गर्ने ठाउँका रूपमा बुझाइएको देखिन्छ। तर संग्रहालय कुनै मूर्दाघर होइन जहाँ मृत इतिहास भण्डारण गरियोस्। खासमा यो त यस्तो अस्पताल वा प्रयोगशाला हो जहाँ मृत हुनै आँटेको इतिहासलाई जीवन दिइन्छ। यस कारण संग्रहालय आममानिसको इतिहास उघार्ने आँखीझ्याल बन्नुपर्छ। देशको सग्लो चित्र उतार्ने कलाकेन्द्र पनि हो यो।
देशमा चलिरहेको को आदिवासी, को आप्रवासी भन्ने सवाललाई पुरातात्त्विक प्रमाणले कसरी सम्बोधन गर्छ?
नेपालमा आदिवासी र आप्रवासीको प्राचीनता प्रमाणित गर्ने बलियो पुरातात्त्विक आधार छैन। यहाँको सामाजिक तथा सांस्कृतिक संरचनामा आदिवासी र आप्रवासी भनिने दुवै समूहको महत्त्वपूर्ण योगदान रहेको तथ्य बुझिए मात्र यस सम्बन्धी बहसले सार्थकता पाउँछ। भारतीय मैदानी भूभागबाट आएका भनिने खस आर्य र तिब्बती पठारबाट आएका भनिने मंगोलमूलका समूहको समन्वयबाट विकसित समुदाय नै यहाँका मूलवासी हुन् जसको ज्ञान, सीप र प्रविधिले नेपाली सभ्यताको विकास सम्भव भएको हो।
विश्व समुदायलाई उदाहरणका रूपमा प्रस्तुत गरिंदै आएको सांस्कृतिक सहिष्णुतामा यी दुवै महासमुदायको योगदान रहेको तथ्य मनन गरिए को आदिवासी, को आप्रवासी भन्ने प्रश्न गौण हुन जान्छ। इसाई र इस्लाम धर्मबीच आन्तरिक विविधता छन् जसकारण उनीहरूबीच दरार आएको प्रतीत हुन्छ। तर हामीकहाँ पृथक् दर्शन र धार्मिक मूल्य बोकेका हिन्दू र बौद्ध धर्मावलम्बीबीचको मजबूत सम्बन्धले संसारलाई नै सहिष्णुताको मूल्य दर्शाएको छ जुन नेपाली सहअस्तित्वको दर्शन हो। यो सम्बन्ध खलबल्याउन केही तत्त्वले राजनीति मार्फत आप्रवासी र आदिवासी भाष्यको बीजारोपण गरेकोमा हामी सचेत हुनैपर्छ।
नेपालको सामाजिक तथा सांस्कृतिक विकास प्रक्रियामा कुनै एक नश्ल नभई सबै समूहको उत्तिकै योगदान छ। त्यसैले घटीबढी जस्ता शब्दावली प्रयोग गरेर जातीय समुदायहरूको ऐतिहासिक भूमिकालाई मापन गर्नु हुँदैन। नेपाली सभ्यताको शिलान्यासलाई नश्लीयताको आँखाबाट मूल्यांकन गर्दाको परिणाम निकै घातक हुन सक्छ।
भाषिक पुरातत्त्वको कोणबाट हेर्दा किराती नेपालका प्रथम निवासी होइनन्?
प्राज्ञिक अनुसन्धानमा पुरातात्त्विक र साहित्यिक दुई प्रमाणलाई महत्त्व दिइन्छ। पुरातात्त्विक प्रमाणले अनुसन्धानलाई आधिकारिकता दिन्छ। आज हामीले लुम्बिनीलाई शाक्यमुनि गौतमबुद्धको जन्मथलो भन्नुको महत्त्वपूर्ण आधार सम्राट् अशोकले राख्न लगाएको शिलास्तम्भ हो। तर जनकपुरलाई जानकीको जन्मस्थल मान्नुमा प्रमाणभन्दा बढीे धार्मिक आस्थाले भूमिका खेलेको छ। नेपालको प्रथम निवासी को भन्ने सवालमा पनि अभिलेख्य प्रमाणका आधारमा मात्र दाबी गर्नु न्यायोचित हुन्छ।
साहित्यिक रूपमा गोपालवंशी, महिषपालवंशी र किरातवंशीहरूको शासनकाल भनिंदै आए पनि यो पुरातात्त्विक रूपमा प्रमाणित तथ्य होइन। ती सार्वभौमसत्ता सम्पन्न शासक रहेकोमा पनि प्रश्न उठाउन सकिन्छ। किनकि त्यसलाई पुष्टि गर्ने अभिलेख, मुद्रा, सीमाबद्ध राजनीतिक भूगोल र राजनिर्देशनहरू अहिलेसम्म पाइएको छैन। वंशावली साहित्य र पौराणिक कथाहरूमा किरातकालका कम्तीमा ३२ जना जति राजाले शासन गरेको विवरण पाइन्छ। लिच्छविकालका अभिलेखहरूमा संस्कृतइतरका शब्दहरूलाई कतिपय विद्वान्ले किराती शब्द भनेका छन्। यसमाथि भाषिक पुरातत्त्वको कोणबाट अध्ययन जरुरी छ।
हनुमान्ढोका दरबार परिसरमा लिच्छविकालीन शासक अंशुवर्माले राख्न लगाएको अभिलेखमा ‘किरातवर्षधर’ उल्लेख हुनुले किरात सभ्यताको अस्तित्व चाहिं झल्कन्छ। पाटनस्थित च्यासलले पनि भाषिक पुरातत्त्वको कोणबाट किरात सभ्यतालाई सम्झाइरहेको छ। किरात सभ्यताको अध्ययनका लागि पाटनस्थित पटुकोद्योमा केही वर्ष पहिले उत्खनन गरिए पनि अपेक्षा अनुरूपका पुरातात्त्विक वस्तु भेटिएनन्। यद्यपि किराती क्षेत्र भनी अनुुमान गरिएका काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पुरातात्त्विक अन्वेषण गरिए नयाँ तथ्य नभेटिएलान् भन्न सकिन्न।
नारीवादी पुरातत्त्वले लैंगिक सवाललाई कसरी सम्बोधन गर्छ?
पुरातत्त्वलाई विभिन्न विधामा विभाजन गरिएको देखिन्छ। जस्तै- मार्क्सवादी पुरातत्त्व, इथ्नोआर्कियोलोजी, भाषिक पुरातत्त्व, प्रागैतिहासिक पुरातत्त्व, नारीवादी पुरातत्त्व आदि। वस्तुतः उत्खननबाट प्राप्त पुरातात्त्विक वस्तुको व्याख्याका क्रममा यसले ज्ञानका अनेकौं विधागत स्वरूप ग्रहण गर्यो। पुरातत्त्वमा लैंगिक सन्दर्भ किन जोडियो त भन्ने प्रश्न पनि छ। उत्खननबाट प्राप्त पुरातात्त्विक वस्तुमा उत्कीर्ण चित्रबाट त्यस वेलाको नारीहरूको अवस्था अध्ययन गर्न सकिन्छ। प्राङ्मानवको शारीरिक संरचनाको अध्ययन गर्दा लैंगिक पक्षको व्याख्या गर्ने क्रममा नारीवादी पुरातत्त्वको विशेष महत्त्व रहन्छ।
प्रागैतिहासिक गुफाहरूमा कोरिएका चित्रमा प्राचीन नारीहरूको पारिवारिक तथा सामाजिक भूमिकाको खोजी गर्न सकिन्छ। ती गुफाकलाका सर्जक महिला नै हुन सक्ने मानवशास्त्री तथा पुरातत्त्वविद्हरूको तर्क छ। अतः प्राक्समाजमा महिलाको भूमिका के थियो भन्ने विषय ओझेल नपरोस् भनेर नारीवादी पुरातत्त्वले प्राज्ञिक मान्यता पाएको हो। नारीवादी दृष्टिकोणबाट पुरातत्त्वको छलफल पश्चिमा देशहरूमा बढी भएको पाइन्छ।
तपाईंले नेपाली मूर्तिविज्ञानमा विद्यावारिधि गर्नुभएको छ। हाम्रा मूर्तिकलामा चाहिं नारीवादी चित्रण कस्तो छ?
पूर्वीय सभ्यताका वास्तुकलात्मक सम्पदा धार्मिकतामा आधारित छन्। तिनमा लौकिक कला वा सौन्दर्यपक्ष नभई धर्मले निर्दिष्ट गरेको ईश्वरीय शक्तिको परिकल्पना उतारिएको पाइन्छ। प्रकृतिपूजक र यज्ञप्रधान वैदिक समयमा ईश्वरीय शक्ति एउटै ज्योतिपुञ्ज रहेको विश्वास थियो। वेदान्त अर्थात् पछिल्लो उपनिषद्कालपछि एउटै ज्योतिपुञ्जको सट्टा पुरुषशक्ति र स्त्रीशक्तिको अलग अलग अस्तित्व परिकल्पना गरियो। मूलतः पुरुषहरूलाई सञ्चालन गर्ने नै स्त्रीशक्ति हो, शक्ति विनाको शिव शव हुन्छ भन्ने शास्त्रीय मान्यता छ। महालक्ष्मीको साथ नभई विष्णुले कुनै काम गर्न सक्दैनन्। जसरी त्रिदेवलाई महत्त्व दिइएको छ, त्यसरी नै उनीहरूको शक्तिलाई दिइएको छ। पछि त्रिशक्तिलाई देवी, काली, भगवती, महाकाली आदि पृथक् शक्तिका रूपमा दर्शाइएको छ।
माथिको सन्दर्भबाट स्त्रीशक्तिलाई विशिष्ट स्थान दिएर मूर्ति बनाइएको लामो इतिहास छ। लिच्छवि र मल्लकालमा निर्मित अर्धनारीश्वर, लक्ष्मी र सरस्वतीका विविध मूर्तिहरूले यसै दार्शनिकतालाई व्यक्त गरेका छन्। काठमाडौं उपत्यका स्त्रीशक्तिको उपासनाको केन्द्र रहेको तथ्य यहाँका शाक्त धर्म-दर्शनको इतिहासबाट पनि प्रमाणित हुन्छ। प्राचीनकालका मानिने सप्तमातृका, अष्टमातृका र नवदुर्गाका मूर्तिको प्राप्ति र आजपर्यन्त पनि शाक्त दर्शनको अनुष्ठान गर्ने सामाजिक अभ्यासले उक्त कथनलाई पुष्टि गर्छ। नेपालको इतिहासमा स्त्रीशक्तिको उपासना दुई प्रकारले चलेको देखिन्छ। एउटा, मूर्तिका रूपमा स्त्रीशक्तिको आराधना गर्ने।
अर्को, जीवित देवीका रूपमा पूजा गर्ने। बौद्ध र हिन्दू धर्ममा आस्था राख्नेहरूले छोरीहरूलाई पूजा गर्ने सामाजिक अभ्यास छ। हामीकहाँ प्रचलित कुमारी पूजाको परम्पराले यसै स्त्रीशक्तिको दार्शनिकता बुझाउँछ। पाटन, भक्तपुर, बनेपाका बौद्ध धर्मावलम्बीमा कन्यालाई पूजा गर्ने चलन छ। मूर्ति तथा चित्रमा पनि कुमारीलाई व्यक्त गरिएको देखिन्छ। देवी भागवतमा भगवती, जगदम्बिकाले महासरस्वती, महालक्ष्मी, महाकालीका रूपमा क्रमशः ब्रह्मा, विष्णु र महेश्वरलाई शक्ति प्रदान गरेको वर्णन छ। यिनै मिथकमा टेकेर देवीका मूर्तिहरू कुँदिएका छन्।
लैंगिक दृष्टिकोणले हेर्दाखेरि शाक्त-शैव, लक्ष्मी-नारायण, प्रकृति-पुरुषको सम्बन्धमा स्त्रीशक्तिलाई नै सर्वोपरि देखाइएको छ। अर्धनारीश्वरको मूर्तिले महिला-पुरुषबीचको सम्बन्धलाई समभावले हेर्नुपर्ने मान्यता राख्छ। टुँडालमा कुँदिएका इरोटिक आर्टले शैव-शाक्त सम्बन्धको सौन्दर्यलाई जीवनवादी दृष्टिकोणबाट हेर्न अभिप्रेरित गर्छन्। यिनले महिलाको लैंगिक सवाललाई बढी जोड दिएको प्रतीत हुन्छ। शिवलिंगले पनि समभावको दार्शनिकता बोकेको छ।
लिच्छविकाल स्वर्णयुग भन्ने भाष्यमा पछिल्लो समय प्रश्न उठ्दै आएको छ। यसबारे तपाईंको बुझाइ के हो?
राष्ट्रलाई सार्वभौमसत्ता सम्पन्न प्रमाणित गर्ने मुद्रा, भाषा, साहित्य, संस्कृति र राजनीतिक भूगोलबारे जानकारी दिने अभिलेख, कलासम्पदा तथा वास्तुकलात्मक सिर्जनाका आधारमा निश्चित कालखण्डलाई स्वर्णयुगका रूपमा परिभाषित गर्ने चलन संसारभर छ। हाम्रा इतिहासविद्हरूले पनि जनताका हरेक आवश्यकता सहजै पूरा हुने विश्वास गरिएको ‘रामराज्य’ को अवधारणामा रहेर लिच्छविकाललाई स्वर्णयुग भनेको प्रतीत हुन्छ। तर पछि भेटिने पुरातात्त्विक प्रमाणले स्थापित सत्यलाई भत्काइदिन सक्छ।
लिच्छविभन्दा अघिको किरात कालबारे लिखित प्रमाण छैन, वंशावली र पौराणिक साहित्य मात्र छ। लिच्छविकालको चाहिं अभिलेख्य प्रमाणयुक्त आदर्श सभ्यता, भाषा-साहित्य, लिपि, वास्तुकला आदि पाइएकाले यसलाई स्वर्णयुग मानियो। अभिलेखमा वर्णित मानगृह, कैलाशकूट र भद्राधिवास जस्ता दरबारले लिच्छविकालको भव्यताको झल्को दिन्छन्। लिच्छविकालका अहिलेसम्म उपलब्ध २०० वटा जति अभिलेखले त्यो युगको अर्को पाटोको पनि संकेत गर्छन्। लिच्छवि समाज वर्णव्यवस्थामा आधारित थियो। वर्गीय विभेद थियो।
कुलीन नारीहरूले सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक क्षेत्रमा एक खालको हैसियत कायम गरेको पाइन्छ। मानदेवका रानीहरू (भोगिनी, गुणवती र क्षमसुन्दरी), मानदेवकी छोरी विजयवती र अर्की एक सर्वसाधारण महिला विजयस्वामिनीको हैसियत उच्च रहेको अनुमान गर्न सकिने आधारहरू छन्। यसको मतलब उनीहरू पूर्ण स्वतन्त्र थिए भन्ने होइन। त्यस्तै, चाबहिल बौद्धचैत्यको अभिलेखमा स्त्री हुनुमा हीनताबोध गर्दै लेखिएको ‘अर्को जन्ममा महिला भएर जन्मन नपरोस्’ भन्ने वाक्यांशले तत्कालीन महिलाको अवस्था दर्शाउँछ। दास-दस्यु, चाण्डाल, शूद्र लगायत पिंधमा परेका समुदायको दयनीय अवस्था पनि त्यसमा अंकित छ।
त्यसभन्दा पछिको मल्लकाल पनि भाषा-साहित्य, कला-वास्तुकला शिक्षा, संस्कृति र दर्शनका क्षेत्रमा सम्पन्न छ। अहिले देखिने उपत्यकाका अधिकांश सांस्कृतिक वैभव मल्लकालकै देन हुन्। बरु लिच्छविकालका सम्पदामा सांस्कृतिक प्रवाह देखिंदैन। उद्योग, कृषि, बन्द-व्यापार र वैदेशिक सम्बन्ध विस्तारमा मल्लकालको विशेष भूमिका थियो। तर यसो भन्दैमा लिच्छविकालाई स्वर्णयुग भनिनु गलत भन्ने होइन। किनकि उक्त कालको भव्यताबारे तत्कालीन चिनियाँ यात्रीहरूले पनि चर्चा गरेका छन्। यसर्थ लिच्छविकाललाई स्वर्णयुग भनिरहँदा मल्लकाललाई पनि सांस्कृतिक वैभवको युग भन्नु उचित हुन्छ। स्वर्णयुग शब्दले सम्बोधन नगरिंदैमा मल्लकालको जाज्वल्यमान् इतिहास ओझेल पर्दैन।
अभिलेख्य प्रमाणले पुष्टि नगर्ने मिथकीय पात्रहरूको विभूतीकरणलाई चाहिं कसरी हेर्नुभएको छ?
नेपालको सामाजिक-सांस्कृृतिक लगायत इतिहासका विविध पक्षमा मिथकको प्रभाव देखिन्छ। पञ्चायतकालमा कुनै पनि विषयको निरूपण गर्दा बृहत् छलफल नगरी व्यक्तिविशेषको निर्णयलाई मानिन्थ्यो। ती व्यक्ति इतिहासकार, कलाकार वा साहित्यकार जो पनि हुन सक्थे। यसरी व्यक्तिविशेषलाई विभूति बनाइँदा उसको एकपक्षीय धारणा व्यक्त हुनु अस्वाभाविक होइन। तर अनुसन्धाता पक्षपातरहित हुनुपर्छ। अन्यथा अन्जानमा वा नियतवश, जुनसुकै कारणले इतिहासको तथ्य तोडमोड हुन सक्छ। विभूतिका प्रसंगमा पनि यो कुरा लागू नहुने होइन। मैले धेरै वर्षदेखि जयपृथ्वीबहादुर सिंहबारे लेख्दै आएँ।
आजभन्दा १६० वर्षअघि नै विश्वभ्रमण गरी, आफ्नो मानवतावादी दर्शनको प्रचार गरेर नेपालको परिचय दिने उनलाई सरकारले गत वर्ष मात्र राष्ट्रिय विभूति घोषणा गर्यो। जबकि प्रमाण विनाका मिथकीय पात्रलाई विभूति बनाउन ढिलाइ गरिएको छैन। धार्मिक पात्रहरूको आस्थागत मूल्य हुन्छ, तिनलाई विभूतीकरण जरुरी नै हुँदैन। गरिन्छ भने गलत हो। ऐतिहासिक प्रमाण र योगदान रहेकालाई मात्र मापदण्ड बनाएर विभूति बनाइनु न्यायोचित हुन्छ।
इतिहास लेखनमा यस्तो राष्ट्रिय भावुकता हावी भइरहँदा भुइँमान्छेको इतिहास चाहिं कहाँ छ?
पुराना अभिलेखहरूको उठान हेर्दा शासककै बखान हुन्छ। शासकको व्यक्तित्व, विरुदावलीको बखानपछि सनदपत्र र राजाज्ञाहरू जारी गर्नुको बेहोरा खुलाइन्छ। हामीले पनि धेरै वर्षसम्म राजनीतिक इतिहास मात्र पढ्यौं। आमनागरिकको पनि इतिहास हुन्छ भन्ने सवालमा अज्ञानकै अवस्थामा रह्यौं। अहिले पनि सत्तानिकटका वा सत्तासीनहरूकै गुणगान गर्ने चलन छ। निमुखा र निर्धाका सवालमा बोलिदिने/लेखिदिने मान्छे निकै कम छन्। सैद्धान्तिक रूपमा भुइँमान्छेका पक्षमा आवाज उठाए जस्तो गरे पनि व्यवहारमा तिनलाई बेवास्ता गर्छौं। तारे होटलमा गरिने बहस र बुझाइने प्रतिवेदनले लक्ष्यित समूहको मुद्दालाई शायदै सम्बोधन गर्ला।
नालापानी किल्लामा अंग्रेजसँग हारेका बलभद्र कुँवरको विजेता जस्तो विभूतीकरण हुँदा जितगढीमा अंग्रेजलाई हराएका उजीरसिंहको इतिहास गुमनाम हुनु कत्तिको न्यायोचित हो?
कतिपय अवस्थामा जितले भन्दा पनि हारले बढी महत्त्व पाउँदो रहेछ। बलभद्रको हकमा त्यस वेलाको अंग्रेजको सैन्य शक्ति र नालापानी किल्लाको अवस्था तुलना गर्नुपर्छ। उनले अत्यन्त न्यून सैन्य क्षमताका बावजूद आफूभन्दा कैयौं गुणा शक्तिशाली अंग्रेजी सेनालाई परास्त गर्ने प्रयत्न गरेका थिए। बलभद्रको वीरताबाट अंग्रेज पनि प्रभावित भए। शत्रुपक्षले समेत प्रशंसा गरेकाले उनको हारले पनि जित जस्तो महत्त्व पायो। उजीरसिंहको विजयबारे पनि इतिहासका पानामा नलेखिएको होइन।
वातावरणीय र पर्यावरणीय विनाश रोक्न संस्कृतिले कस्तो भूमिका खेल्न सक्छ?
वातावरण र पर्यावरणको संरक्षणमा धर्म/संस्कृतिको महत्त्वपूर्ण भूमिका रहेको कुरा सामाजिक अभ्यास तथा धर्मशास्त्रीय सन्दर्भबाट प्रमाणित हुन्छ। लोकहितका लागि गरिने वृक्षरोपण (विशेषतः वरपीपल) र पानीपँधेरा, ढुंगेधाराहरूको निर्माणले पुण्य प्राप्त हुने शास्त्रवचनले पर्यावरणीय संरक्षणमा भूमिका खेलेको देखिन्छ। यी कुरालाई लोक आख्यानहरूमा वातावरण र पर्यावरण जस्ता शब्दबाट नभई धर्म र पाप आदि दृष्टान्तबाट बुझाइएको हुन्छ। प्रकृतिपूजन र उपासनाको अभ्यासले पनि संरक्षणको यसै मर्मलाई बुझाउँछ। पृथ्वी र नदी जस्ता प्राकृतिक सम्पदालाई मातृकरण गर्ने शास्त्रीय पद्धतिमा पर्यावरणीय चेतना निहित छ। तर हामीले अहिले नदी संस्कृतिलाई अवमूल्यन गर्दै फोहोर विसर्जन गर्ने माध्यम बनायौं। विनाशतर्फ उन्मुख भयौं। जसकारण हाम्रो पर्यावरणीय चक्रप्रणाली जटिल अवस्थामा पुगेको छ।
यसलाई रोक्न अचेल प्रचलित ‘पोलिटिकल इकोलोजी’ प्रभावकारी हुन सक्छ। किनकि व्यक्ति र संस्थाले गर्दा ढिलो हुने कुरा राजनीतिले छिटै गरिदिन सक्छ। विशेषतः इकोलोजी, इकोनोमी, एजुकेशन, प्राकृतिक सम्पदा र संस्कृति जस्ता पक्षहरूको दिगो संरक्षण र व्यवस्थापनमा राजनीतिको महत्त्वपूर्ण भूमिका रहनुपर्छ। इकोलोजी र इकोनोमीबीच सन्तुलन कायम राख्न राजनीतिकर्मी देशका आर्थिक, सामाजिक, सांस्कृतिक लगायत पक्षमा जानकार हुनैपर्छ। तब मात्र उसले यी विविध विषय जोड्दै सही नीतिनिर्माण गर्न सक्छ।
नेपालको परम्परागत संस्कृति मौलिक प्रवाहमै छ कि अन्तै मोडिइसक्यो?
अतिथि देवो भवको आदर्श परिवार, सामाजिक संगठन र सांस्कृतिक जात्रापर्वमा आजपर्यन्त जीवन्त देखिन्छ। आफू आर्थिक रूपमा कमजोर हुँदाहुँदै ऐंचोपैंचो गरेर श्रद्धासाथ पाहुनालाई सत्कार गर्ने सामाजिक व्यवहार अन्य देशमा शायदै पाइएला। हाम्रो सामाजिक तथा सांस्कृतिक एकताको आधार नै धर्म हो। तर पछिल्लो कालमा सामाजिक तथा पारिवारिक एकतालाई विखण्डन गर्ने प्रयास भइरहेछ जसकारण सांस्कृतिक प्रवाह गलत दिशामा मोडिंदै छ। बाह्य तत्त्वले कथित अनुसन्धानका नाममा गलत प्रतिवेदन लेखेर वा प्रकाशन गरेर यहाँको सामाजिक भाइचारा बिथोल्ने जुन प्रयास गरेको छ, खतराको संकेत हो।
त्यस्तै, यहाँका मानिसलाई आर्थिक तथा भौतिक प्रलोभन देखाएर कब्जामा लिने कोशिश पनि भएको देखिन्छ। यस खालको बाह्य आक्रमणबाट जोगिन हामी आर्थिक रूपमा सम्पन्न त हुनैपर्छ। अर्कातर्फ सांस्कृतिक नीति पनि मजबूत हुनुपर्छ।
अहिले देखिंदै गरेको सामाजिक उथलपुथललाई सांस्कृतिक संकटकालका रूपमा चित्रण गर्नेहरू पनि छन् नि?
सांस्कृतिक मात्र होइन, सामाजिक, आर्थिक हरेक क्षेत्रमा उथलपुथलको अवस्था छ। विशेषतः पञ्चायती राजनीतिक प्रणाली परिवर्तन भएर नयाँ राजनीतिक प्रणालीमा घुलमिल हुने प्रयत्नमा छौं हामी। नयाँ भनिएको राजनीतिक प्रणाली ठीक/बेठीक के हो भन्नेमा विभिन्न तह-तप्कामा बहस पनि चलिरहेको छ। हाम्रा लागि धेरै ठीक र धेरै अधिकार दिने भनिएको संघीय प्रणालीतर्फ पनि प्रश्न उठ्नु राजनीतिक संकटकालको संकेत हो।
त्यस्तै, शिक्षातर्फ हेरौं। विभिन्न शिक्षानीति त अपनायौं, ती कत्तिको उपयोगी भए त? यसकारण शिक्षा, धर्म, संस्कृति, समाज, राजनीति जस्ता हरेक क्षेत्रमा हामी संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेछौं।
बाह्य शक्तिले यहाँका सामाजिक तथा सांस्कृतिक संरचनामा के-कसरी खलल पुर्याएको छ?
एक-दुई उदाहरण हेरौं। हामीकहाँ विदेशी राजदूतले कहिलेकाहीं आफ्नो सीमा र गरिमाभन्दा बाहिर गएर विभिन्न विषयमा बोलेको सुनिन्छ, जुन राजनीतिक रूपले अमर्यादित देखिन्छ। पारिभाषिक दृष्टिकोणबाट नेपालको सार्वभौम हैसियत अरू देश सरह हो। तर नेपालको प्रतिनिधित्व गर्ने राजदूतले विदेशमा समकक्षीलाई भेट्न समय नपाएको र एकखालको दबाब महसूस गरेको सुनिन्छ। शिक्षा र स्वास्थ्यका आडमा पहाडदेखि तराईसम्मका नेपाली नागरिकको आस्थामा प्रहार गरिएका घटना प्रशस्तै छन्। प्रकृतिपूजक, बौद्ध धर्मावलम्बी वा सनातनी धर्मावलम्बीलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराइएका छन्। यसको प्रतिरोधका लागि हामी आर्थिक रूपमा सबल हुन आवश्यक छ। ऐन-कानून पनि संस्कृति अनुकूल बनाइनुपर्छ।
क्षमतावान् र प्रतिभावान् युवालाई विदेश पठाएर देश सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपमा मजबूत बन्दैन। तर हामीकहाँ युवा जहाज चढेर जाने र बाकसभित्र फर्कने घटना बढिरहेका छन्। त्यसैले नयाँ संस्कृति नीति बनाउँदा नेपालका सबै समुदायका ज्ञान, सीप र अभ्यासलाई आयआर्जनसँग जोड्नमा ध्यान दिइनुपर्छ। सांस्कृतिक सम्पदाका माध्यमबाट देशको पर्यटन उद्योगमा टेवा पुर्याई रोजगारी र आयआर्जनका अवसर वृद्धि गरिनुपर्छ। दराजमा थन्क्याउन मात्र बनाइने नीतिको कुनै अर्थ छैन।