सर्वोच्चमा तारेख लिन बर्दियादेखि काठमाडौंसम्म साइकलमा
सदियौंदेखि भोगचलन गर्दै आएको पुर्ख्यौली जग्गा सँधियारले मिचेपछि न्याय पाउने आसमा महीनैपिच्छे तारेख लिन बर्दियादेखि काठमाडौंसम्म साइकल चढेर आउजाउ गर्ने ६५ वर्षे शालिकराम अहिरको कथा-व्यथा।
“एक जना अनौठो मानिस यहाँ आउनुभएको छ। आइहाल्नोस्। तपाईं आउने भए एकैछिन रोकेर राख्छौं,” सर्वोच्च अदालतका शाखा अधिकृत युवाचन्द्र घिमिरेले यस्तो सूचना दिएपछि माघ ४ गते तुरुन्तै रामशाहपथ पुगियो।
सेताम्मे फुलेका दारी। चाउरिएको अनुहार। पातलो ब्ल्यांकेट ओढेका एक वृद्ध सर्वोच्च अदालतको आँगनको पेटीमा बसिरहेका थिए।
माघको ठिही। गोडामा प्लास्टिकको जुत्ता थियो। तर मोजा थिएन। धोती घुँडासम्म लत्रिएको थियो। घुँडामुनि कपडाको त्यान्द्रोधरी थिएन। टोपीमाथि पहेंलो गम्छा बेरेर बाँधेका थिए। उनी रहेछन्, बर्दिया बाँसगढी नगरपालिका-७, डेउढाकलाका शालिकराम अहिर (६५)।
“१०/११ दिन लगाएर साइकलमा आएको भन्नुहुन्छ,” सर्वोच्चका शाखा अधिकृत घिमिरेले भने, “हाम्रा बाउबाजेहरू हिंडेर १५/२० दिनमा काठमाडौं आइपुगेको कथा सुनाउनुहुन्थ्यो। उहाँको कथा सुनेर बाउबाजेको समय फर्किए जस्तो लाग्यो।”
शालिकराम साइकल चढेर ११ दिनमा बर्दियादेखि काठमाडौं आएका रहेछन्। सर्वोच्चसँगैको नेपाल बार एशोसिएशनको पार्किङको रूखमा बाँधेर राखेका थिए, हिरो साइकल।
बर्दिया-काठमाडौं साइकलमै आउजाउ। शोखीनहरूका लागि यो रोमाञ्चक साइकल शयर हुन सक्छ। शालिकरामको साइकल यात्रा भने सर्वोच्चमा विचाराधीन एउटा मुद्दाको तारेखमा हाजिरी जनाउने बाध्यताको थियो। भोलिपल्ट माघ ५ गते उनको मुद्दाको पेशी तोकिएको रहेछ। लामो साइकल यात्रामा हिंडेका शालिकराम एक दिन अगावै अदालत पुगेछन्। “एक दिन अगाडि नै आएछु। यहीं आएर थाहा पाएँ,” उनले सुनाए।
अलि पर उभिएका घिमिरेले शालिकरामलाई इशाराले बोलाए र सरासर सह-रजिस्ट्रार हरिराज कार्कीको कार्यकक्षतिर लगे। कार्की प्रशासन महाशाखा प्रमुख हुन्। “कस्ता खालका समस्या भएका सेवाग्राही आइरहेका छन् भनेर प्रशासनको हाकिमलाई थाहा हुनुपर्यो नि,” बाटैमा घिमिरेले भने।
कार्की कार्यकक्षमा नदेखिए पनि केही छिन बस्यौं। शालिकराम सोफामा बस्न हिचकिचाए। बारम्बार आग्रह गरेपछि सोफाको डिलमा अलग्गै बसे।
“बर्दियाबाट साइकलमै आउनुभएको?” केही बेरपछि आएका कार्कीले शालिकरामसँग सोधे। “हो” को जनाउ दिंदै मुन्टो हल्लाए उनले।
“किन त?” कार्कीले फेरि सोधे।
“हामी गरिब आदमी। गाडी चढ्ने, वकील राख्ने पैसा छैन। तर न्याय त खोज्नुपर्यो,” शालिकरामले बिस्तारै भने।
भोलि पल्ट मात्रै पेशी भएकाले अदालतमा त्यस दिन उनको काम थिएन। बिहान सवा ११ बजेतिर निस्किए।
शालिकराम पशुपति क्षेत्रको धर्मशालामा बसेका रहेछन्। साइकल डोर्याउँदै उनी धर्मशालातिर हिंडे। म पनि सँगै हिंडें।
बत्तीसपुतली हुँदै गौशाला चोक पार गर्ने बित्तिकै उनले बायाँतिरको रेलिङमा साइकल अड्याए। पसलबाट एउटा धोक्रो र भुइँमा ओछ्याउने म्याट निकालेर साइकलमा राखे। डोर्याउँदै धर्मशालातिर छिर्दाछिर्दै भने, “धर्मशालामा कोठा लिंदा पैसा पर्ने रहेछ। छिंडीमा बसेको पैसा पर्दैन। तर छिंडीमा सामान छोड्दा हराउला भनेर पसलमा राखेको थिएँ।”
धर्मशालामा पुगेपछि साइकल पनि सिंढी चढाएर ‘प्यासेज’ मा पुर्याए। “हिजो राति यहीं सुतेको,” साइकल अड्याउँदै उनले मार्बल बिछ्याएको भुइँमा ओछ्यान देखाए। भोलि पल्टको पेशीमा हाजिरी लगाउन अझै एक रात त्यहीं बस्ने पनि उनले सुनाए।
मध्याह्न सवा १२ बजेको थियो। उनले चामल, दाल, तरकारी, ओढ्ने, ओछ्याउने जम्मै बोकेर ल्याएका रहेछन्। धर्मशालामा आफैं पकाएर खान मिल्ने भान्सा रहेछ। बोराबाट चामल, दाल र आलु निकाले। पकाउन भान्सातिर लागे। भान्साको एक छेउमा अलिकति दाउरा थुपारिएको थियो। “हिजो यतैको जंगलतिरबाट ल्याएको,” उनले भने।
बाहिरबाट तीन वटा इँटा ल्याएर चुल्ढुंगा बनाएर आगो फुक्ने तर्खर मात्र के गर्दै थिए, धर्मशालाका गार्ड आएर आगो बाल्न रोक लगाए। “बाबाजी, ग्यास, स्टोभमा पकाओ,” गार्डले हिन्दी लवजमा भने, “आगो बाल्न निषेध छ।” हुलियाले गर्दा उनलाई धेरैले साधु, बाबा भन्छन् रे।
गार्डले शालिकरामको हातमा भएको सलाइ लिए। शालिकरामले हिजो बेलुका आगोमै पकाएको नजीर सहित आफूले बिहानदेखि केही नखाएकाले एक दिन अनुमति दिन अनुनय गरे। धुवाँका कारण कोठा कालो हुने र आफूहरूले हाकिमको गाली खाने भन्दै आगोमा पकाउन रोक लगाएको गार्डले दोहोर्याए। “मिल्दैन भने ठीक छ। भोकै बस्छु,” उनले गार्डलाई भने, “मसँग कुनै उपाय छैन।”
भोकले रन्थनिएका शालिकराम प्यासेजमा निस्किए। मैले होटलमा खाना खान प्रस्ताव गरें। चोखोनितो नहुने भन्दै मानेनन्। साइकलछेउमा उभिएर सुस्केरा काढ्दै टोलाइरहे। केही बेर हराएका गार्ड आएर भने, “आज एक दिन पकाएर खान हाकिमले अनुमति दिएको छ। भोलिदेखि हुन्न है।”
गार्डको कुराले शालिकरामको अनुहार उज्यालो भयो। “भोलि त म बिहानै हिंडिहाल्छु,” उनी हाँसे।
तर उनलाई आगो सल्काउनै आधा घण्टा लाग्यो। दिक्क मान्दै निस्किए र यताउताबाट कागजका टुक्रा जोरजाम गरेर आगो सल्काए। चामल र मुङको दाल डेक्चीमा धोएर आगोमा बसाए। एक दानो आलु ताछे, चार टुक्रा पारेर दाल र चामलमा मिसाए। “खिचडी बनाउने हो,” हातमा सानो चक्कु घुमाउँदै भने।
खिचडी उम्लिएर भर्सियुन्जेल हामी गफ गर्न थाल्यौं।
... ...
शालिकरामका दुई छोरा र तीन छोरी छन्। सबैको विवाह भइसकेको छ। छोराहरूलाई अंश पनि दिइसकेका छन्। “हामी दुई जना बूढाबूढी मात्रै बस्छौं,” उनले भने, “खेती गरेर खान ठिक्क पुग्ने जग्गा छ। त्यही पनि अरूले मिचिदिएपछि अप्ठेरो भएको छ।”
सँधियार तिलकराम अहिर र तीर्थराम अहिरले जग्गा मिचिदिएपछि न्याय खोज्दै आफू काठमाडौंसम्म आउनुपरेको उनले सुनाए। उनका अनुसार बाँसगढीको भवनपुरहवामा उनको ३४ कट्ठा जग्गा छ। त्यसमध्ये ८/१० कट्ठा तिलकराम र तीर्थरामले मिचिदिएको उनको भनाइ छ। सोही जग्गाको मुद्दाले उनलाई काठमाडौंसम्मको लामो र कष्टकर यात्रातिर धकेलिदियो।
यो जग्गा फिर्ता पाउन उनले दुई भिन्दाभिन्दै मुद्दा लडिरहेका रहेछन्। एउटा बर्दिया जिल्ला अदालतमा जग्गा किचलोको मुद्दा र अर्को सर्वोच्च अदालतमा आफ्नो पुरानो नक्शा अनुसारको जग्गाको स्वरूप कायम गरिपाऊँ भन्ने।
जिल्ला अदालतमा दिएको फिरादपत्र अनुसार शालिकरामको साढे तीन कट्ठाभन्दा बढी जमीन तिलकराम र तीर्थरामले मिचेका छन्। २०७९ कात्तिक ४ गते अदालतमा दर्ता भएको यो मुद्दा शुरूमा न्यायाधीश टेकराज जोशीको इजलासले मेलमिलापमा पठाउने आदेश दिएको थियो। तर मेलमिलाप भएन। त्यसपछि घरजग्गाको नापनक्शा गर्ने, विवादित लिखतको प्रमाणित प्रतिलिपि झिकाउने र बकपत्र गराउने लगायत काम सकिए पनि फैसला भएको छैन।
सर्वोच्चमा आइपुगेको मुद्दामा भने शालिकरामले बर्दिया नापी कार्यालयलाई विपक्षी बनाएका छन्। २०५२ सालमा नापीले नयाँ नापजाँच गर्दा आफ्नो जग्गाको स्वरूप बदलिएपछि सँधियारले जग्गा हडपेको उनको आरोप छ। फिरादपत्र अनुसार २०७९ असारमा तिलकराम र तीर्थरामले शालिकरामको जग्गामा खनजोत गर्न थाले। त्यसपछि मात्रै आफूले जग्गा मिचिएको थाहा पाएको उनको दाबी छ। साँधको आली भत्काएर उनीहरूले जग्गा जोतेपछि सोधीखोजी गर्दा आफ्नो नम्बरी जग्गा अर्कैको नाममा पुगिसकेका आफूले चाल पाएको शालिकरामले फिरादपत्रमा जिकिर गरेका छन्। “२०५२ सालदेखि मेरो नक्शा बिग्रिएको रहेछ,” उनी भन्छन्, “उनीहरूले मेरो जग्गा जोत्न थालेपछि मात्र थाहा पाएको हुँ। बिग्रिएको नक्शा सुधारेर मेरो जग्गा पाउनुपर्यो भन्ने मेरो कुरा हो। २०२२/२३ सालदेखि तिरो तिर्दै आएको छु। आज आएर अर्कैले खाइदियो।”
जग्गा अर्कैको नक्शामा गाभिएको थाहा पाएपछि शालिकरामले पुरानो नक्शा अनुसार जग्गाको स्वरूप सुधारेर पुरानै क्षेत्रफल अनुसारको जग्गा कायम गरिपाऊँ भन्ने माग सहित मालपोत कार्यालयमा हुलाक मार्फत निवेदन दिए। २०७९ कात्तिक २१ गते पठाएको निवेदनबारे नापी कार्यालयले चासो देखाएन। तर छिमेकीले विवादित जग्गामा खेती गर्न थालेपछि उनले नापी कार्यालयले निवेदनको सुनुवाइ नगरेको भन्दै उच्च अदालत, तुलसीपुरको नेपालगन्ज इजलासमा रिट हाले। रिटमा पुरानो नापी कार्यालयमा दिएको निवेदन चाँडो कारबाही प्रक्रियामा लैजाने आदेश माग गरिएको छ। तर उच्च अदालतले २०७९ चैतमा रिट खारेज गरिदियो। न्यायाधीशद्वय केशवप्रसाद जोशी र पुरुषोत्तमप्रसाद ढकालको इजलासले शालिकरामको निवेदन नापी कार्यालयमा दर्ता भएर कारबाहीको प्रक्रियामै रहेको देखिएको भन्दै रिट बदर गरिदिएको हो।
उच्च अदालतले रिट बदर गरिदिएको ६ महीनासम्म पनि नापी कार्यालयमा परेको निवेदनबारे कुनै निर्णय भएन। त्यसपछि गत असोजमा शालिकराम उच्चको फैसला विरुद्ध पुनरावेदन गर्न सर्वोच्च अदालत आएका हुन्। सर्वोच्चका शाखा अधिकृत योगेन्द्र पराजुलीका अनुसार शालिकरामको निवेदन ‘दोहोर्याइपाऊँ’ भन्ने हो। तल्लो अदालतमा अन्तिम फैसला भएर बसेको मुद्दा फेरि जगाएर हेर्न माग सहित परेको निवेदनलाई कानूनी भाषामा ‘दोहोर्याइपाऊँ’ निवेदन भनिन्छ।
“शालिकरामको मुद्दा उच्च अदालतमा अन्तिम फैसला भएर बसेको देखिन्छ। इजलासबाट दोहोर्याएर हेर्ने निस्सा (अनुमति) पाएमा थप सुनुवाइका लागि मुद्दा दर्ता हुन्छ,” पराजुलीले भने, “त्यसपछि मात्रै उनको मागबारे निर्णय हुन्छ।”
दोहोर्याएर हेर्न मिल्ने कि नमिल्ने भन्ने निर्क्योल गर्ने अर्को पेशी आउँदो फागुन ४ गते तोकिएको छ। माघ ५ गते दिनभरि सर्वोच्चको आँगनमा सुनुवाइको पालो कुर्दा पनि पालो आएन। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र विनोद शर्माको इजलासमा यो मुद्दाको सुनुवाइको पालो २२औं नम्बरमा थियो। उक्त दिन यो इजलासले नवौं नम्बरसम्मका मुद्दा मात्र सुनुवाइ गर्न भ्यायो।
“पालो नआउने भएपछि चाँडै भन्दिएको भए यतिखेर म धादिङ पुगिसक्थें,” डुब्न लागेको घामतिर हेर्दै शालिकरामले भने। अनि, अपराह्न ४ बजेतिर साइकल चढे र बर्दिया ताकेर पाइडल थिचे।
... ...
न्याय खोज्न बर्दियादेखि साइकलमै काठमाडौंसम्मको आउजाउ शालिकरामको यो चौथो पटक रहेछ। पहिलो चोटि उनी गत असोजको शुरूमा काठमाडौं आए, मुद्दा दर्ता गराउन। उनको काठमाडौं आगमन नै त्यो पहिलो थियो। उनका अनुसार पहिलो पटक साइकलमै आए पनि बीच बीचमा ट्रक, मालवाहक भ्यानको सहायता लिंदै आइपुगेका थिए। “पहाडको उकालो बाटोमा सहयोग मागें,” उनले सुनाए, “भालुवाङ र दाउन्नेको पहाडमा ट्रकमा चढेर आएँ। तर समथर ठाउँमा साइकलमै आएँ।” बुटवल आएपछि भने एउटा बसले ५०० रुपैयाँमा पोखरा हुँदै काठमाडौं ल्याइदिएको पनि उनले सुनाए। “त्यति खेर दुई हजार रुपैयाँ बोकेर आएको थिएँ,” उनले भने।
निवेदन दिएर बर्दिया फर्किएका उनी असोजमै दोस्रो पटक काठमाडौं आए। मुद्दा दर्ता नभए पनि असोज १८ गतेको तारेख थियो। साइकलमा आउने समय छोटो भएकाले यस चोटि पनि उनले पहाडी भेगको सडकमा ट्रक, मिनिट्रकको सहारा लिए। समथर ठाउँमा भने साइकल नै चढे। “हारगुहार गर्दा पनि कहिलेकाहीं त कति गाडीवालाले त मान्दैनथे,” उनले भने। यति गर्दा पनि ६/७ दिनमा मात्रै काठमाडौं आएको उनले बताए। त्यस वेला भने एक साता जति काठमाडौंमा बसे। किनभने असोज १९ गते दर्ता भएको मुद्दाका लागि असोज २३ गते तारेख धाउन भनियो।
त्यसपछि भने उनलाई पुस ४ गतेको साधारण तारेखको म्याद दिइयो। पुसमा पनि आफू साइकलमै आउजाउ गरेको उनले सुनाए। त्यति वेला भने ट्रक, मिनिट्रक आदिले आफूलाई बोक्न नमानेको बताए। “१०/११ दिनमा काठमाडौं आइपुगें जस्तो लाग्छ,” उनले भने।
यस पालि पनि आफू ढुवानीजन्य सवारीसाधनको सहयोग विनै काठमाडौं आइपुगेको शालिकरामले बताए। साइकलमा उनी मात्रै हुँदैनन्, एक महीनालाई पुग्ने सातुसामलको पोको, ओढ्ने र ओछ्याउने सहितको बोरा पनि बाँध्छन्। बाटामा आफैं खाना पकाएर खान्छन्। प्रतीक्षालय, मन्दिर, देवालयमा सुत्छन्। कोही दयालुले घरको बरन्डामा ठाउँ दिएमा त्यहीं निदाउँछन्। तेस्रो चोटि काठमाडौं आउँदा भने दाउन्नेमा रूखमुनि रात गुजारेको उनले बताए।
यस पालि काठमाडौं आइपुग्न ११ दिन लागेको उनले बताए। बाँसगढीबाट हिंडेको दिन उनी बाँकेको कोहलपुरको प्रतीक्षालयमा वास बसेछन्। वास बसेको कतिपय ठाउँको नाम उनलाई याद छैन। “कतै मन्दिरमा बसें, कतै देवलमा,” उनले भने, “काठमाडौं जाने बाटो सोध्दै आउँछु। साइकलमै काठमाडौं पुग्ने बताउँदा कोही पत्याउँदैनन्। जान सकिंदैन भन्छन्।”
उनले सम्झिएसम्म दाङको भालुवाङ, कपिलवस्तुको चन्द्रौटा, रुपन्देहीको बुटवल, नवलपरासीको दाउन्ने, चितवनको मुग्लिन उनले वास बसेका स्थान हुन्। बुटवलमा भने होटलवालाले बेन्चमा सुत्न दिएको उनले बताए। “त्यो रात म मजाले निदाएछु,” उनले रमाइलो मान्दै सुनाए। मुग्लिनदेखि यता लागेपछि पनि आफू एक ठाउँमा वास बसेको उनले बताए। तर ठाउँको नाम सम्झिएनन्।
सर्वोच्च अदालतको मुद्दाको तारेख नजिकैको जिल्ला वा उच्च अदालतबाट अनलाइन मार्फत लिन सकिने बन्दोबस्त छ। सर्वोच्चका कर्मचारी घिमिरेका अनुसार अनलाइन तारेखको सुविधा लिन मोबाइल नम्बर अनिवार्य छ। तर शालिकरामसम्म सूचना पुग्ने मोबाइल नम्बर नहुँदा उनले यो सुविधा नपाएको घिमिरेले बताए। यस पालि चाहिं शालिकरामले छोराको मोबाइल नम्बर ल्याएकाले आइन्दा बर्दिया अदालतबाटै तारेख बुझ्न मिल्ने भएको छ। “मोबाइल भएको भए पहिल्यै हुने रहेछ,” शालिकरामले भने, “छोरालाई किन्न लगाएर यस पालि चाहिं सरहरूले मिलाइदिनुभयो।” अबका दिनमा पेशीमा हाजिर हुन उनी काठमाडौं आइराख्नुपर्नेछैन।
मुद्दाको तारेख बुझ्न साँच्चै शालिकराम साइकलमै बर्दिया–काठमाडौं आउजाउ गरिरहेका होलान् त? माघ ५ गते बेलुकीपख काठमाडौंबाट बर्दिया हिंडेका उनी यो समाचार तयार पार्दासम्म तेस्रो दिन कपिलवस्तु पुगेका छन्। हामीले प्रहरीको सहयोगमा शालिकरामले बोकेको मोबाइल नम्बरको ‘लोकेसन’ हेर्दा ८ गते अपराह्न सवा ४ बजे उनी कपिलवस्तुको तुरुन्तपुर पुगेको देखाएको थियो। यसबाट हामी के निष्कर्षमा पुग्यौं भने बीच बीचमा सामान बोक्ने सवारीसाधनमा चढ्ने अपवाद बाहेक उनी साइकल चढेरै न्याय खोज्न बर्दिया–काठमाडौं आउजाउ गरिरहेका छन्। पैसा नभएकाले नै साइकलमा यति कष्टकर यात्रा गर्न आफू बाध्य भएको उनले बताए। बर्दियादेखि काठमाडौंसम्म मुद्दा लड्दा आफूले अलि अलि जम्मा गरेको रुपैयाँ रित्तिएको उनले बताए। “एक लाख जति सकियो,” उनले भने, “अब मसँग पैसै छैन।”
छोराछोरीले मुद्दामामिला छोड्न र बुढेसकालमा दुःख नबेसाउन बारम्बार भने पनि उनले मानेका छैनन्। साइकलमा यति लामो बाटो हिंड्दा कति पटक राजमार्गमा गाडीको वेगले उडाउला जस्तै बत्ताइदिएको छ। “कति पटक त हान्ला जस्तो गर्छ,” उनी भन्छन्, “मरे मरिन्छ भनेर हिंडेको छु।” बाघभालु लाग्ने भएकाले भालुवाङको जंगलमा भने आफूलाई निकै डर लाग्ने उनले सुनाए। “प्रहरीले पनि बाघभालु लाग्छ, साइकलमा नजाऊ भन्छन्। मनमा डर भए पनि हिंड्छु। मसँग अरू उपाय छैन,” उनले भने।
आफ्नो पुर्खाले जोडेको जग्गा मिचिंदा सहन नसकेको उनले बताए। “जग्गाका लागि दुःख पाएँ। न्याय मिलेर जग्गा पाएँ भने यो दुःख भुलिहाल्छु,” धर्मशालामा खाना पकाउँदै गर्दा उनले सुनाए, “अपराधीलाई दण्ड मिल्छ भने अरूको जग्गा मिच्नेलाई पनि दण्ड मिल्ला। उपरवाला छ भने हेर्ला नि।”
सम्भवतः न्यायालयमा बसेका न्यायमूर्तिले निकट भविष्यमा दिने निसाफले नै शालिकरामले कल्पना गरेको भगवान्प्रतिको भरोसा अडिएको छ र सँगै न्यायालयप्रतिको भरोसा पनि।
(सम्पादन: जीवन कार्की, भाषा: प्रद्युम्न खनाल)