जनमत पार्टीले फिर्ता लियो मधेश प्रदेश सरकारलाई दिएको समर्थन
जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
पार्टीका संसदीय दलका नेता तथा प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवले प्रदेश प्रमुखलाई एक पत्र लेख्दै आज बसेको पार्टीको संसदीय दलको बैठकले आजैका मितिबाट समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिएका छन्।
मधेश प्रदेश सरकारमा जनमतबाट दुई जना मन्त्री सहभागी छन्। शिक्षामन्त्री यादव सहित चन्दन सिंह श्रम तथा यातायातमन्त्री छन्। पार्टीले उनीहरूलाई पनि फिर्ता बोलाउने भएको छ।
जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा)बीच केही समयदेखि विवाद चलिरहेको छ। सोमबार सप्तरीमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीले लाठीचार्ज गर्दा मन्त्री यादवको टाउको फुटेको थियो भने केही सांसद घाइते भएका छन्। जसपाबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले समेत जनमतलाई सरकारबाट निकाल्ने अभिव्यक्ति दिएका थिए। यही विवादका बीच जनमतले जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
१०५ सदस्यीय मधेश प्रदेश सभामा जनमत पार्टीका १३ सांसद छन्।