हाब्रे जोगाउन भिडिओग्राफी प्रतियोगिता
लजालु स्वभावको संकटापन्न प्राणी हाब्रे (रेड पान्डा) जोगाउन सचेतना अभियानस्वरूप भिडिओग्राफी प्रतियोगिता आयोजना गरिने भएको छ।
प्रतियोगितामा भाग लिन तीन जनासम्मको एउटा समूह बनाउन सकिनेछ भने एउटा समूहले पाँच मिनेटसम्मको एउटा मात्र भिडिओ प्रेषित गर्न सक्नेछन्। भिडिओ नेपाली वा अंग्रेजीमध्ये कुनै एक भाषामा बनाउन सकिनेछ।
जलवायु परिवर्तनको असर र हाब्रे संरक्षणको उपायलाई प्रभावकारी रूपमा भिडिओमा दर्शाउने एउटा समूहलाई विजयी घोषणा गरिनेछ। विजयी हुने समूहलाई हाब्रे संरक्षणमा सक्रिय संस्था रेड पान्डा नेटवर्कले पुरस्कृत गर्नेछ।
“प्रतियोगिता मार्फत हामीले विद्यार्थीहरूको संरक्षण उपाय के रहेछ? उनीहरूले आफ्नो उपायलाई कसरी प्रस्तुत गर्छन् भन्ने उजागर गर्न खोजेका हौं,” आयोजक ग्रीन फेमिली नेपालका कार्यक्रम संयोजक अनुस उदयले हिमालखबरसँग भने।
पोखरेली संस्था ग्रीन फेमिलीसँगै जलवायुजन्य सचेतना र संरक्षमा सक्रिय नेपलिज यूथ फर क्लाइमेट एक्सनले पनि प्रतियोगितामा समन्वय गर्दै छ।
कस्तो प्राणी हो हाब्रे?
हालसम्म नेपालका २४ वटा जिल्लामा हाब्रे देखिएको छ। खासगरी मकालु वरुण, लाङटाङ र सगरमाथा राष्ट्रिय निकुञ्ज तथा कञ्चनजंघा संरक्षण क्षेत्र हाब्रेको प्रमुख वासस्थान हो। देशभर ३०० देखि ५०० को संख्यामा हाब्रे रहेको अनुमान छ।
हाब्रे संकटापन्न प्राणी भए पनि यसलाई जोगाउनुपर्छ भन्ने सचेतना न्यून हुँदा संरक्षणमा चुनौती भएको रेड पान्डा नेटवर्कका सोनाम टासी लामा बताउँछन्।
हाब्रे राति पनि हिंडडुल गर्ने र विशेषतः बिहानबेलुका बढी सक्रिय हुने प्राणी हो। यो राति पनि आहाराको खोजीमै भौंतारिन्छ।
हाब्रेले गाउँघरमा निगालो भनिने चार-पाँच मिटरसम्म अग्लो हुने ड्रेपानोस्टाचियम, हिमालयकालामस, थाम्नोकालामस र गाउँघरमा मालिंगो भनिने युशानिया जातका वनस्पतिका पात र मुन्टा रुचाउँछ।
“दक्षिण र दक्षिणपूर्व एशियामा मात्र पाइने यी वनस्पतिमा पौष्टिक तत्त्व न्यून हुन्छ,” लामा भन्छन्, “बिहानबेलुका मात्र सक्रिय हुने भनिए तापनि सन् २०१८ मा हामीले गरेको क्यामेरा ट्र्याप अध्ययनले रेड पान्डा जुनसुकै वेला सक्रिय हुने देखाएको थियो। सो अध्ययनमा यो प्राणी बिहान ४ देखि ६ बजेको समयमा बढी सक्रिय रहेको पाइएको थियो।”
हाब्रे जोगाउन सबैभन्दा मुख्य कुरा त प्राकृतिक वासस्थान नै सुरक्षित बनाउनुपर्ने उनी बताउँछन्। त्यो सन्देश प्रवाह गर्न पनि भिडिओग्राफी प्रतियोगिताले सहयोग गर्ने उनको अपेक्षा छ। “जनवरीदेखि मार्चसम्म र मेदेखि जुलाई महीनासम्म रेड पान्डाको निम्ति जोखिमयुक्त छ भन्ने सन्देश सरकारी निकाय, संरक्षणसँग सम्बद्ध संघसंस्था र विद्यालय तहबाट प्रचार गरिनुपर्छ। त्यसका लागि पनि यो भिडिओग्राफी महत्त्वपूर्ण हुन्छ।”
हाब्रे निश्चित क्षेत्रमा एक्लै बस्न रुचाउने प्राणी हो। विशेषतः पोथी हाब्रे एउटा क्षेत्रमा एक्लै बस्छ। त्यहाँ उसलाई कुनै अर्को पोथीको उपस्थिति सह्य हुँदैन। भालेको पनि आफ्नै निश्चित क्षेत्र हुन्छ। तर भाले चाहिं संसर्गको याममा तीन–चार वटा पोथीको क्षेत्र चहार्छ।
पुसदेखि फागुनसम्मको समय यसका लागि संवेदनशील मानिन्छ। यो समय हाब्रेको संसर्गको समय हो। त्यस्तै, वैशाखदेखि असार महीनासम्म यसले बच्चाएर हुर्काउने वेला भएकाले यो समय पनि हाब्रेका लागि संवेदनशील हुन्छ।
पोथीहरू छुट्टाछुट्टै बस्ने भएकाले भाले हाब्रेले निकै दूरी तय गर्नुपर्छ। यो समयमा मानिस र अन्य जीवजन्तुसँग यसको जम्काभेट हुने सम्भावना हुन्छ। त्यस्तै, अर्धवयस्क बच्चाहरू फागुनमा आमालाई छाडेर नयाँ वासस्थान खोज्न निस्किंदा पनि लामो दिनसम्म यात्रामा हुन्छन्।
“यो वेला उसले खाने मालिंगो र निगालोको अभावमा आहारा खोज्न पनि धेरै हिंड्नुपर्छ। चाँडै कुद्न नसक्ने र मानिस नजिकै जाँदा पनि हत्तपत्त नभाग्ने भएकाले हाब्रेलाई अधिक जोखिम हुन्छ,” लामा भन्छन्।
विश्वभर यसको संख्या सन् १९९७ देखि २०१५ का बीच झन्डै ५० प्रतिशतले घटेको अनुमान थियो। तसर्थ सन् २०१५ मा विश्व प्रकृति संरक्षण संघ आईयूसीएनले यसलाई संकटापन्न प्रजातिको सूचीमा राखेको छ। हाब्रेलाई दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण महासन्धि (साइटिस) को अनुसूची १ मा पनि समावेश गरिएको छ।
अनुसूचीमा हाब्रे सहित बाघ, हात्ती, गैंडा, हिउँ चितुवा, चितुवा, जंगली याक आदि समावेश छन्। यो अनुसूचीमा परेका वन्यजन्तु तथा वनस्पति संसारभरि नै बिक्री गर्न प्रतिबन्ध छ। संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ अनुसार दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा सोको नमूना सम्बन्धी कसूर गर्नेलाई कसूरको मात्रा हेरी पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्छ।
हाब्रे चीनको दक्षिणपूर्वी क्षेत्र सिचुवान, युनानदेखि बर्मा, भूटान, भारत र नेपालमा पाइन्छ। तर यसको वासस्थान खण्डित छ। एक वासस्थानबाट अन्यत्र जाने जंगल मासिंदै जाँदा यसलाई जोगाउने चुनौती पनि बढ्दै गएको छ।