विधान हेरफेर गर्न एकीकृत समाजवादीद्वारा राष्ट्रिय सम्मेलन आह्वान
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले विधान हेरफेर गर्न यही माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन आह्वान गरेको छ।
पार्टीको राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदा सम्बन्धी छलफलका लागि सम्मेलन गर्न लागिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजना निर्माणमा केन्द्रित रहनेछ भने पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म संगठन स्थापित गर्न कार्ययोजना पनि बनाइनेछ।
पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ। सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानूनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने उपमहासचिव खतिवडाले जानकारी दिए।
पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीका काम, कर्तव्य तथा अधिकारको बाँडफाँड गर्ने सम्मेलनले पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, संगठन निर्माणमा गरेको योगदान लगायत आधारमा मापदण्ड तय गर्नेछ। सम्मेलनले मस्यौदा अनुमोदन गरेपछि पार्टीले त्यसैका आधारमा आगामी जेठ पहिलो सातामा पार्टीको महाधिवेशन गर्नेछ।