मोदीको राम मन्दिर उद्घाटन राजनीतिक हिन्दूत्ववादी भारततर्फको विजय
शताब्दीऔं पुरानो मस्जिद विध्वंस भएकै स्थानमा निर्माण गरिएको राम मन्दिरमा प्राणप्रतिष्ठा गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुसलमान विरुद्ध भएका अपराधलाई उन्मुक्तिको नजीर स्थापना गरेका छन्।
चार दशकअघि भारतलाई पुनःपरिभाषित गर्ने अभियानको नाम लिंदै उनीहरू देशैभर फैलिएका थिए। युवा नरेन्द्र मोदी सहित हजारौंको यो पैदल ‘फौज’ ले अयोध्यामा विशाल हिन्दू मन्दिर निर्माणको लामो लडाइँका लागि दशौं लाख अमेरिकी डलर चन्दा जम्मा गरे। करीब दुई लाख जति गाउँहरूमा पुगेर उनीहरूले भगवान् रामको जन्म भएको मानिने पवित्र शहरमा हरेक व्यक्तिसँग इँटा जम्मा गरे।
उक्त अभियानका नेताहरूले घोषणा गरे जस्तो यी इँटा शताब्दीयौंदेखि मस्जिदले कब्जा गरेको जमीनमा मन्दिरको निर्माण सामग्री मात्र थिएनन्। यी त हिन्दू राष्ट्रको जग पनि थिए। हिन्दू राष्ट्रवादीहरूको दृष्टिमा धर्मनिरपेक्ष भारतको निर्माण अन्याय हो। हिन्दू राष्ट्रले मात्रै न्याय प्रदान गर्ने उनीहरूको ठम्याइ छ।
झन्डै चार दशकपछि त्यो दृष्टिकोणको कोशेढुंगा गाडिएको छ।
त्यति वेलाका जवान मोदीले हिजो (माघ ८) अयोध्यामा राम मन्दिर उद्घाटन गरेका छन्। र, यो भारतमा हिन्दू वर्चस्व स्थापना गर्ने राष्ट्रिय आन्दोलनतर्फको एउटा महत्त्वपूर्ण उपलब्धि हो।
हिन्दू राष्ट्रवादीहरूको विजय बनिरहेको यो क्षण राजनीतिबारे खासै वास्ता नगर्ने धेरैका लागि उमंगको स्रोत पनि बनिरहेछ। त्यसो त भारतमा भगवान् रामका भक्त प्रशस्त छन्। त्यसैले राममन्दिरको प्राणप्रतिष्ठा हुने धार्मिक अनुष्ठान क्षेत्र वरिपरि हप्तौंदेखि गेरुवस्त्रधारीको भीड लागिरहेछ। गेरु रङकै झन्डा र रामका तस्वीर यत्रतत्र छरिएका छन्। उच्च सुरक्षा सहितको अनुष्ठान पूरा हुँदासम्म पर्खिन अनुरोध गरिए पनि भक्तहरू मन्दिर प्रवेश गरे।
अयोध्यामा यो उमंग उत्सव भइरहँदा भारतका २० करोड मुसलमानका लागि भने राम मन्दिरले निराशा र अव्यवस्थाको भावना पुनःसिर्जना गरेको छ।
सन् १९९२ मा हिन्दू अतिवादीहरूले अहिले राम मन्दिर बनाइएको स्थानमा रहेको बाबरी मस्जिद भत्काएका थिए। बाबरी मस्जिदको विध्वंससँगै फैलिएको हिंसाका कारण हजारौंको ज्यान गएको थियो। मस्जिदको विध्वंसमा हिन्दू अतिवादीले पाएको उन्मुक्ति नजीर बन्न पुगेको छ। गाई काटेको वा ओसारपोसार गरेको, ‘लभ जिहाद’ चलाएका जस्ता अनेक आरोप लगाएर मुसलमानमाथि भइरहेको हुलहुज्जतमा त्यही नजीर प्रतिध्वनित हुन्छ। कानूनी प्रक्रिया पूरा नगरी मुसलमानको घरमा सरकारी अधिकारीले डोजर चलाउँदा पनि अयोध्याकै झल्को आउँछ।
यही धार्मिक अतिवादको रथ चढेर हिन्दू दक्षिणपन्थ भारतको वर्चस्वशाली राजनीतिक शक्ति बन्न पुगेको हो। आउँदो वसन्त ऋतुमा हुने लोकसभा निर्वाचनको सँघारमा भएको ७० एकड जमीनमा झन्डै २५ करोड अमेरिकी डलर खर्चमा निर्मित यो मन्दिर उद्घाटन मोदीको तेस्रो कार्यकालका लागि अभियानको अनौपचारिक आरम्भ हो।
र, अयोध्याको धार्मिक अनुष्ठानको केन्द्रमा अहिले मोदी नै छन्। त्यही अयोध्या जसलाई हिन्दू राष्ट्रवादीले क्याथोलिकको भ्याटिकन सिटी र इस्लाम धर्मावलम्बीको मक्कासँग तुलना गर्छन्।
सन् १९४७ मा भारतबाट पाकिस्तान विभाजित हुँदा साम्प्रदायिक दंगाको सामना गरेका हुनाले भारतका निर्माताले यो राज्यलाई धर्मबाट १२ हात पर राख्न निकै कष्ट झेलेका थिए।
तर यो दशकमा देशकै सबैभन्दा शक्तिशाली नेता मानिएका मोदीले भारतीय राज्यको मूल चरित्रको विपरीत चिन्तनलाई निर्विवाद जसरी सरल तरीकाले प्रस्तुत गरिरहेछन्। उनको सार्वजनिक पहिचान एकातिर राजनीतिक नेता हो भने अर्कोतिर ईश्वरको पुत्र। उनको पार्टीका अध्यक्षले हालै उनलाई ‘ईश्वरका राजा’ भनेर प्रस्तुत गरेका छन्। हुन पनि मन्दिरको उद्घाटनको सँघारमा अयोध्या शहर भगवान् राम र मोदीका पोस्टर र बोर्डहरूले ढाकिए।
सन् १९८० को दशकमा जसरी नै दक्षिणपन्थी हिन्दू संगठनका स्वयंसेवक मन्दिर उद्घाटन हुनुअघि हजारौं गाउँका घर घरमा पुगे। यस पटक भने यो प्रयत्न मोदीको फराकिलो सञ्जालको प्रस्तुति पनि बन्न पुग्यो जसको दाँजोमा विपक्षी राजनीतिक संगठन निकै कमजोर देखिन्छन्।
अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा अनुष्ठानमा सहभागी हुन मोदीले हिन्दू परम्परा अनुसारको ११ दिने शुद्धि प्रक्रिया पनि अपनाए। त्यस्तै, यो अनुष्ठानअघि उनी देशका विभिन्न मन्दिरमा पुगे जहाँ उनका सुरक्षाकर्मीले पनि परम्परागत पोशाक नै लगाएका थिए।
मोदीको कार्यालयले जब उनले गाईलाई दाना खुवाइरहेको तस्वीर सार्वजनिक गर्यो, उनको गुणगान गाउने टेलिभिजन च्यानलले ब्रेकिङ समाचार जस्तै गरी प्रसारण गरे। आफ्नो धार्मिक आस्था प्रदर्शन गरिरहेकै वेला उनी राज्यका महत्त्वपूर्ण कार्यक्रममा पनि सहभागी भइरहेका थिए। ठूला परियोजना उद्घाटन गरिरहेका थिए जसले उनलाई विकासको संवाहकका रूपमा पनि स्थापित गर्छ।
धार्मिक र राजनीतिको मिश्रण गर्न र आफ्नो हितमा ठूलो स्रोत दोहन गर्न सफल मोदीले यसअघिका नेताले गर्न नसकेको एउटा काम गर्न सफल भएका छन्। विविधतापूर्वक र बहस गर्ने भारतीय समाजलाई आफ्नो अनुयायी हुने एकल चिन्तनमार्गी बनाएका छन्। उनलाई प्रश्न गर्नुको अर्थ हिन्दू मूल्यहरूमाथिकै प्रश्न जसरी प्रस्तुत गर्न थालिएको छ। र, त्यसलाई ईश्वरको निन्दा गरे जसरी लिइन्छ।
दिल्ली विश्वविद्यालयका प्राध्यापक एवं विपक्षी दलका विधायक मनोजकुमार झाका अनुसार कुनै दिन विपक्षी शक्तिले मोदीको भारतीय जनता पार्टी (भाजपा)लाई सत्ताबाट हटाउनेछन् तर अहिले विभाजित समाजलाई पुरानै अवस्थामा ल्याउन भारतीय राज्य र सरकारलाई दशकौं लाग्न सक्छ।
“चुनावमा विजय र हार अंकगणितीय कुरा हो। तर लडाइँ त मनोविज्ञानको क्षेत्रमा भइरहेछ- मनोवैज्ञानिक रूपमै दरार सिर्जना भएको छ, सामाजिक दरार सिर्जना भएको छ,” प्राध्यापक झाले भने। धर्मको जगमा पाकिस्तानको निर्माण भएको थियो, अहिले भारत त्यही बाटोमा हिंडिरहेको छ।
“धर्म र राजनीतिको विषालु मिश्रणलाई नै आदर्श बनाइएको छ,” उनले थपे, “त्यो विषालु मिश्रणले के गर्यो भनेर हेर्ने चेष्टा कसैले गरिरहेको छैन।”
महात्मा गान्धी र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू लगायत संस्थापकहरूले भारतलाई धर्मनिरपेक्ष गणतन्त्रको रूपमा स्थापना गर्ने आदर्श बोकेका थिए। देशको विविधतालाई ध्यानमा राखेर नै उनीहरूले धर्मनिरपेक्ष राज्यलाई केवल एउटा धर्मबाट अलग्गिने मात्र नभई सबै धर्मलाई समदूरीमा राख्ने राज्यका रूपमा परिभाषित गरेका थिए।
पाकिस्तानपछि भारतमा रहेको मुसलमान समुदाय जनसंख्याको हिसाबमा विश्वकै तेस्रो ठूलो मानिन्छ। त्यस्तै, भारतमा करोडौंको संख्यामा क्रिश्चियन, सिख र बौद्धहरू छन्। हिन्दू धर्मभित्रै पनि अनेकौं हाँगाबिंगा छन्। जातगत तह र क्षेत्रीय सांस्कृतिक पहिचानहरू पनि अनेकौं छन्।
बेलायतले मुसलमानहरूका लागि बेग्लै राष्ट्र पाकिस्तान बनाइदिंदा भारतलाई त्यसैगरी हिन्दू राष्ट्र नबनाएकोमा हिन्दू दक्षिणपन्थीको गुनासो थियो। पटक पटकको मुस्लिम आक्रमण र शताब्दीऔंसम्म मुगल साम्राज्यको शासन बेहोरेको हिन्दूहरूको राष्ट्र नहुनु असमानता हो भन्ने उनीहरूको दाबी थियो।
त्यसैले शुरूमा यी हिन्दू दक्षिणपन्थीहरूले विभाजन विरुद्धको राजनीतिक आन्दोलनका रूपमा आक्रोश व्यक्त गर्न थाले। त्यो आक्रोश आतंकवादी तवरमा पनि व्यक्त भयो। हिन्दू दक्षिणपन्थी सिपाही नाथुराम गोड्सेले सन् १९४८ मा महात्मा गान्धीको हत्या नै गरे। गान्धी सधैं अहिंसा र भारतको विविधताको वकालत गर्थे।
बिहानी प्रार्थनाको क्रममा निकै नजिकबाट तीन गोली हानिएपछि गान्धीले जीवनको अन्तिम क्षणमा बोलेका वाक्य अयोध्याकै भगवान्को नाम थियो। ‘हे राम’ मृत्युको काखमा निदाउँदै गर्दा उनले पुकारेका थिए।
भारतको स्थापनापछि लगातार दुई दशकसम्म नेहरू सत्तामा रहेकाले संस्थापकहरूको धर्मनिरपेक्ष दृष्टिकोणले स्थान पाइरह्यो। तर यो निकै कमजोर जगमा अडिएको थियो। हालै हिन्दू दक्षिणपन्थबारेको पुस्तक वाजपेयी : द एसेन्ट अफ द हिन्दू राइट, १९२४–१९७७ प्रकाशन गराएका लेखक अभिषेक चौधरीका अनुसार हिन्दू र मुसलमानबीच मेलमिलाप गराउने गरी कुनै ठूलो अभियान नै चलाइएन। उनका अनुसार अत्यधिक मेहनती प्रधानमन्त्री नेहरू देशको तत्कालीन अस्तित्वलाई सुनिश्चित गर्न लागिपरे।
नेहरूको निधनपछिका दशकहरूमा राज्यको धर्मनिरपेक्ष स्वरूप अस्पष्ट हुँदै गएपछि दक्षिणपन्थले स्थापित हुने वातावरण पायो। आफू सत्ता–शक्तिमा रहनैका लागि नेहरूपुत्री इन्दिरा गान्धी र उनका छोरा राजीव गान्धीले सन् १९८० को दशकमा बहुसंख्यकको भावनामाथि खेलबाड गरेर जुन खेलमा फसे त्यसका लागि हिन्दू दक्षिणपन्थीहरू तम्तयार थिए।
त्यसको नेतृत्व गरेको थियो, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले। अर्को वर्ष स्थापनाको शताब्दी मनाउँदै गरेको यो आरएसएस संघ परिवारको नेतृत्वकारी संगठन हो। संघ परिवारका अनेकौं हाँगाबिंगा छन्। कुनै एकले राज्यको प्रहार खप्दा अरू संगठित भइरहेका हुन्छन्।
तर हिन्दू दक्षिणपन्थीसँग राजनीतिक शक्ति थिएन। आरएसएससँग सम्बन्धित एउटा समूह पहिलेदेखि नै राम मन्दिरको मुद्दा उठाएर आन्दोलित थियो। त्यति नै वेला आरएसएसकै राजनीतिक संगठन भाजपा मैदानमा आइपुग्यो।
हिन्दू दक्षिणपन्थीको दाबी छ– १६औं शताब्दीमा पहिलो मुगल शासक बाबरका सैनिक कमान्डर मिर बाक्सीले राम मन्दिर भत्काएर बाबरी मस्जिद बनाएका हुन्। त्यही ठाउँमा राम मन्दिर बनाउने आन्दोलन केवल धार्मिक आस्थाबाट प्रेरित थिएन बरु यो त विजय प्रतीक गिराएको संकेत पनि थियो।
राम मन्दिर निर्माणको आन्दोलनमा देशैभर जनसहभागिता बढाउँदै गएपछि भाजपाले सन् १९८९ र १९९१ को निर्वाचनमा अत्यधिक मत पायो (सन् १९८४ मा जम्मा ७.७४ प्रतिशत मत पाएको यो पार्टीले १९८९ मा ११.३६ र १९९१ मा २०.११ प्रतिशत मत पायो)। त्यसपछि उसलाई पछाडि फर्किनुपरेको छैन।
राम मन्दिर निर्माणको यो अभियानले कतिसम्म जनसमर्थन पायो भने यो जग्गाबारे डिसेम्बर १९९२ मा अदालतमा सुनुवाइ हुँदा दशौं हजार प्रदर्शनकारीहरू अयोध्यामा जम्मा भए। दक्षिणपन्थी नेताहरूको उपस्थितिमा उनीहरूले डोरी, हथौडा र खाली हातले नै बाबरी मस्जिद भत्काए।
संघ परिवारकै शाखा विश्व हिन्दू परिषद्का अध्यक्ष आलोक कुमार मन्दिर निर्माणलाई हिन्दू पुनर्जागरणको महत्त्वपूर्ण कदम ठान्छन्। दशकौं लामो मन्दिर आन्दोलनको नेतृत्व गरेका उनी हिन्दूहरूको ‘इच्छाशक्ति र आत्मसम्मान’ कमजोर बनाउन मुसलमान शासकहरूले मस्जिद खडा गरेको दाबी गर्छन्।
नम्र भावले बोल्ने यी अधिवक्ताले एउटा अन्तर्वार्तामा भनेका छन्, “अयोध्यामा त्यो (मस्जिद) संरचना भत्काएपछि हिन्दू जातिमा रहेको ‘इन्फेरियरिटी कम्प्लेक्स’ हरायो भन्ने म ठान्छु।”
अदालती प्रक्रिया लम्बिंदै जाँदा साम्प्रदायिक सद्भाव झनै भड्किंदै गयो। सन् २००२ मा अयोध्याबाट फर्किरहेका ५० जना हिन्दू प्रदर्शनकारीलाई रेलमा आगो लगाएर जलाइएपछि गुजरातका मुसलमान बस्तीमा साम्प्रदायिक दंगा भड्कियो। उक्त दंगामा एक हजारभन्दा बढी मानिस मारिए जसमा अधिकांश मुसलमान थिए।
त्यति वेला गुजरातका मुख्यमन्त्री रहेको मोदीलाई दंगा भड्काएको आरोप लगाइयो यद्यपि पछि उनलाई अदालतले सफाइ दियो। तत्कालीन प्रधानमन्त्री अटलविहारी वाजपेयी भाजपाकै नेता थिए जसले उक्त हिंसालाई ‘लज्जा’ भनेका थिए।
त्यसको १२ वर्षपछि मोदी आफैं प्रधानमन्त्री बने। पहिलो निर्वाचनमा (सन् २०१४) आर्थिक मुद्दामा र पाँच वर्षपछि (२०१९) मा राष्ट्रिय सुरक्षालाई नारा बनाए पनि उनको प्राथमिकतामा हिन्दू दक्षिणपन्थी मुद्दा नै थिए जसको केन्द्रमा थियो राम मन्दिरको निर्माण। २०१९ मा भाजपा पुनः विजयी हुँदै गर्दा भारतको सर्वोच्च अदालतले अयोध्याको जमीन हिन्दूहरूलाई दिने फैसला गर्यो।
मोदीले हिन्दूहरूलाई एउटै उद्देश्यमा बाँधिराख्ने कर्मलाई निरन्तरता दिइरहेछन्। त्यसका लागि उनले हिन्दू समाजका पिंधमा पारिएका जातसम्म कल्याणकारी योजनाहरू लगिरहेछन्। यो प्रक्रियामा धर्मनिरपेक्षतालाई अन्य आस्थाको सार्वजनिक अभिव्यक्तिको दमनका रूपमा परिभाषित गरिएको छ। जबकि हिन्दूत्व राज्यको धर्मका रूपमा प्रस्तुत भइरहेछ।
खासगरी मुसलमानहरूलाई ‘अरू’ का रूपमा प्रस्तुत गर्दै ऊ विरुद्ध हिन्दूहरू एकतालाई जोड दिइएको छ।
भारतमा मुसलमान विरुद्ध भइरहेको हिंसा र सीमान्तीकरणलाई हालै प्रकाशित पुस्तक बिइंग मुस्लिम इन हिन्दू इन्डिया : अ क्रिटिकल भ्यूमा दस्तावेजीकरण गरेका जिया उस सलामका अनुसार दक्षिणपन्थी अभियानका कारण मुगल शासकले गरेको नकारात्मक कामलाई मात्रै प्रचार गरेको छ तर मुसलमानको योगदानलाई नजरअन्दाज गरिएको छ।
“मुसलमानहरूलाई इतिहासका खलनायकका रूपमा प्रस्तुत गर्दै वर्तमान मुसलमानहरूलाई पनि त्यही रूपमा लिइएको छ जसलाई १३औं र १४औं शताब्दीमा भएका घटनाका दोषी बनाइएको छ,” सलाम भन्छन्।
(मुजीब मशाल द टाइम्सका दक्षिणएशिया ब्यूरो चीफ हुन् भने हरि कुमार दिल्लीका पत्रकार हुन्। द न्यूयोर्क टाइम्समा प्रकाशित यो रिपोर्टको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)