न्यूरोड क्षेत्रमा आजदेखि गाडी पार्किङ निषेध गरिंदै
काठमाडौं महानगरपालिकाले आजदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा गाडी पार्किङमा रोक लगाउँदै छ।
महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भएको छ भने न्यूरोड क्षेत्रमा पार्किङमा रोक लगाउन लागेको हो। महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले काठमाडौं टावरमा ३०० वटा चारपांग्रे र ७०० वटा दुईपांग्रे सवारीसाधन पार्किङ गर्न सकिने बताए।
महानगर प्रहरी प्रमुख पाण्डेले आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको बताए। यसले सवारी आवागमन सहज बनाउने अपेक्षा गरिएको उनको भनाइ छ।
उनका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरिनेछ। यसअघि झोंछे क्षेत्रमा सवारी पार्किङ निषेध गरिएको थियो।