अयोध्यामा राम मन्दिर उद्घाटन, नेपालमा उल्लास
जनकपुरधामबाट ५०० किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन भइरहँदा मधेश सहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ।
सोमबार भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राणप्रतिष्ठा दिइने चर्चाको विषय बनेको छ। यति खेर जताततै चर्चाको प्रमुख विषय नै राम मन्दिरको उद्घाटन बनेको छ।
अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठालाई लिएर मधेश प्रदेशको राजधानी भगवान् रामको ससुराली जनकपुरधाम सहित मधेशका अधिकांश मठमन्दिर रङरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम र हनुमान अंकित झन्डा झुन्ड्याइएका छन्। राम मन्दिरको प्राणप्रतिष्ठाका लागि जानकी मन्दिरका तर्फबाट चाँदीका धनुष वाण लगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूल सहित एक हजारभन्दा बढी भार अयोध्या पठाइएका छन्।
राम मन्दिरको प्राणप्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती गरिने तयारी गरिएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र साहले जानकारी गराए।
त्रेतायुगमै नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको र सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाएको वेला नेपाल पनि उल्लासमय बनेको बताइएको छ। “त्रेतायुगमा राम र सीताको वैवाहिक सम्बन्धले दुई देशलाई एक सूत्रमा बाँधेको छ, जसको उदाहरण रामललाको प्राणप्रतिष्ठाको अवसर हो,” जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशनदास वैष्णव भन्छन्, “भगवान् रामको मन्दिर अयोध्यामा ५०० वर्षपछि निर्माण हुनु र रामललाको प्रतिमाले प्राणप्रतिष्ठा पाउनु सबै सनातनी हिन्दू धर्मावलम्बीका लागि गौरवको कुरा हो र यस अवसरमा जति धेरै उत्सव मनाइन्छ, त्यो कम नै हुन्छ।”
जनकपुरधाम उपमहानगरपालिकाले पनि भगवान् रामको प्राणप्रतिष्ठा हुने दिन सनातनी हिन्दू धर्मावलम्बीका लागि विशेष भएकाले पालिकाभित्र माछा, मासु, मदिरा बिक्रीवितरण नगर्न सबैमा अपील गरेको छ। त्यसैगरी घर घरमा दीप बालेर खुशियाली मनाउन नगर प्रमुख मनोज साहले सबैलाई आग्रह गरे।
सयौं वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुशियालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, शहीदनगर, औरही लगायत मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। (रासस)