मीन भामको ‘शाम्भाला’ बर्लिनालेमा छनोट
मीन भाम निर्देशित चलचित्र शाम्भाला ७४औं बर्लिन फिल्म फेस्टिभल (बर्लिनाले)मा छनोट भएको छ।
अन्य १९ चलचित्र सहित शाम्भाला अन्तर्राष्ट्रिय चलचित्र विधातर्फको प्रतिस्पर्धामा छनोट भएको हो। छनोट हुने चलचित्रमा अनदर एन्ड, आर्किटेक्शन, ब्ल्याक टी, ला कोकिना, दाहोमे, अ डिफ्रेन्ट म्यान, द एम्पायर, ग्लोरिया, सस्पेन्डेड टाइम, फ्रम हिल्डे विथ लभ, माइ फेब्रेट केक, लाङ्ग्वे एट्रान्जरे, हु डु आई बिलङ टु, पेपे, स्मल थिङ्स लाइक दिज, डाइङ, द डेभिल्स बाथ, सन्स र अ ट्राभलर्स निड्स रहेका छन्।
यी चलचित्रबीच आपसमा प्रतिस्पर्धा हुनेछ। बर्लिनाले आगामी १५ देखि २५ फेब्रुअरीसम्म आयोजना हुनेछ।
ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले बर्लिनालेको छनोटको प्रत्यक्ष प्रसारण गरेको थियो। यो सहित शाम्भाला बर्लिनालेमा मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली चलचित्र पनि बनेको छ।
बहुपति प्रथा चलनमा रहेको नेपालको एक गाउँमा पेमा नाम गरेकी एक युवतीले टासी नाम गरेका युवा र तिनको दुई भाइसँग विवाह गरेकी हुन्छिन्। तर टासी ल्हासामा व्यापार गर्न जाने क्रममा बेपत्ता हुन्छन्। यसपछि पेमाले आफ्नो गर्भमा हुर्किरहेको बच्चाका बाबुबारे अनेक भनाइ सहनुपर्छ। जसका कारण उनी आफ्ना देवर र श्रीमान् कर्मासँग टासीलाई खोज्न एउटा यात्रामा निस्कन्छिन्। चलचित्र त्यही यात्राका क्रममा पेमाले महसूस गर्ने आत्मखोज र अस्तित्वबोधमा आधारित छ।
नौ लाख ८० हजार यूरो (करीब १४ करोड २० लाख रुपैयाँ) बजेटमा बनेको चलचित्र विश्वको सबैभन्दा अग्लो स्थानमा मानव बसोबास भएकोमध्ये एक डोल्पा क्षेत्रमा (४२००–६००० मिटर) छायांकन गरिएको छ। तिब्बती र नेपाली भाषामा निर्माण गरिएको चलचित्र १५० मिनेट लामो छ।
चलचित्रका पटकथा निर्देशक भाम र अविनाशविक्रम शाहले लेखेका हुन्। चलचित्रमा थिन्ले ल्हामो, सोनाम तोप्देन, तेन्जिन डल्हा, कर्मा वाङग्याल गुरुङ, कर्मा शाक्य लगायत कलाकारको अभिनय छ।
कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै निर्देशक भामले आफूले ४४ खेस्रा लेखेपछि बल्ल चलचित्रको साफी बनेको बताए। साथै, चलचित्र बन्न आठ वर्ष लागेको पनि बताए। चलचित्रको मौलिकतामा ह्रास नआओस् भनेर तिब्बती भाषा प्रयोग गरेको र हिमाली भेगको जीवन सुस्त हुने भएकैले वास्तविकता दर्शाउन आफूहरूले चलचित्रमा लामा लामा दृश्य राखेको पनि उनले स्पष्ट पारे।
चलचित्रको नाम शुरूमा चिसो वर्ष राखेको भए पनि पछि यसलाई शाम्भाला नामकरण गरिएको उनले सुनाए।