सहकारीपीडितको पैसा सरकारले तिर्नुपर्छ भनेको छैन : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीपीडितको सन्दर्भमा आफूले बोलेको कुराको गलत अर्थ लगाएको बताएका छन्।
काठमाडौंमा सोमबार पत्रकार सम्मेलन आयोजना गरेर लामिछानेले भने, “सरकारले तिर्नुपर्छ भनेर मैले ठाडो भनेको होइन, सरकार जिम्मेवार हुनुपर्छ भनेको हुँ। पीडितको पैसा खाने सहकारी सञ्चालकलाई सम्पत्ति रोक्का गरेर, समाएर वा राहदानी रोक्का गएर भए पनि तिराउनुपर्छ भनेको हुँ।”
समाचारमा आए जस्तो ग्यालेक्सी टीभी छाड्दा आफ्नो खातामा रकम जम्मा नभएको लामिछानेको भनाइ थियो। पत्रकार सम्मेलनमा उनले भने, “एक करोड ८० लाख मेरो खातामा जम्मा भएकै छैन।”
पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सहकारीको विकृति रोक्न स्थानीय तहबाट दिइने बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृति एक वर्षलाई बन्द गर्नुपर्ने धारणा राखे।