मयनको शतकमा मधेशको सहज जित
मयन यादवको शतकीय पारीको मद्दतमा मधेश प्रदेशले जित हासिल गरेको छ।
राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले पराजित गरेको छ। मधेशले दिएको ३२० रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम २३९ रनमै समेटिएको हो।
सुदूरपश्चिमका लागि नरेन भट्टले शतक प्रहार गरे। उनले १२२ बलमा १२१ रन बनाए। त्यस्तै, नारायण जोशीले २६, किरण ठगुन्नाले २०, नरेन साउदले १८, खडक बोहराले १४ र गजेन्द्र बोहराले १२ रन बनाए।
मधेशका लागि राजेश यादव र प्रदीप पासवानले तीन-तीन, रञ्जित कुमारले दुई, हरिशंकर साह र पवन सर्राफले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको मधेशले नौ विकेटको क्षतिमा ३१९ रन बनाएको थियो। मधेशका लागि मयन यादवले ११५ रन बनाए। उनले १२८ बलमा आठ चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, पवन सर्राफले ७०, अनिल साहले ६९, रूपेश सिंहले २१, अविनाश तिवारीले १६ र हरिशंकर साहले १४ रन बनाए। सुदूरपश्चिमका लागि शेर मल्लले चार, विकास आग्रीले दुई, नारायण जोशी र गजेन्द्र बोहराले एक-एक विकेट लिए।
यो जितसँगै मधेशको आठ अंक भएको छ भने अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ। त्यस्तै, एपीएफलाई हराउँदै नेपाल प्रहरी क्लब शीर्षस्थानमा पुगेको छ। प्रहरी क्लबको पनि आठ अंक छ। आठ अंक नै जोडेको बागमती प्रदेश रनरेटका आधारमा दोस्रो स्थानमा छ।
त्यसैगरी, सुदूरपश्चिम ६ अंक सहित चौथो स्थानमा छ भने पाँचौं, छैटौं र सातौं स्थानमा रहेका त्रिभुवन आर्मी क्लब, एपीएफ र कर्णाली प्रदेशको चार-चार अंक छ। आठौं र नवौं स्थानमा रहेका गण्डकी र लुम्बिनीको दुई-दुई अंक छ भने कोशीले अंक जोड्न सकेको छैन।
मंगलबार एपीएफ र त्रिभुवन आर्मी क्लब, बागमती र गण्डकी तथा कर्णाली र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।