सुरक्षा घेरामा विश्वविद्यालय भवन शिलान्यास, झडप हुँदा मन्त्री सहित पाँच जना घाइते
मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा विवाद हुँदा राजविराजमा झडप भएको छ। प्रहरीसँगको झडपमा मधेशका मन्त्री सहित पाँच जना घाइते भएका छन्।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई विश्वविद्यालय भवन शिलान्यास कार्यक्रमको अतिथि बनाएपछि जनमत पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्। यसअघि उनीहरूले आइतबार विश्वविद्यालयमा तालाबन्दी पनि गरेका थिए।
विरोध हुँदाहुँदै पनि सुरक्षा घेरामा विश्वविद्यालय भवनको शिलान्यास गरिएपछि जनमत पार्टीका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको छ। प्रहरीको लाठी चार्जबाट मधेश प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादव, प्रदेश सभा सदस्य सतीशकुमार सिंह, भाग्यश्री चौधरी र रञ्जु खंग घाइते भएका छन्।
राजविराज–१३ स्थित विषहरियामा विश्वविद्यालय भवन शिलान्यास कार्यक्रमको विरोध गर्न पुगेका मन्त्री यादवमाथि प्रहरीले लाठी प्रहार गरेको हो। मन्त्री यादवसँगै उनका अंगरक्षक पनि घाइते भएका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र जसपा अध्यक्ष यादवले शैक्षिक भवनको शिलान्यास गरेको विश्वविद्यालयका उपकुलपति डा.वैद्यनाथ महतोले जानकारी दिए। विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रमस्थल वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएका थिए।
चारैतिरबाट सुरक्षाकर्मीले घेरा हालेर भवनको शिलान्यास गरिएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी २०० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रमुख सिद्धि बज्राचार्यले बताए।
शिक्षामन्त्री यादवले विश्वविद्यालयका उपकुलपतिलाई शिलान्यास कार्यक्रम रोकर सहमतिका साथ अगाडि बढ्न आग्रह गरेका थिए। मन्त्री यादव विश्वविद्यालयका सहकुलपति हुन्।
त्यसपछि मुख्यमन्त्री यादवले कुलपतिको हैसियतमा कार्यक्रम गर्न निर्देशन दिएका थिए। विवादबीच शिलान्यास कार्यक्रम आयोजना गरेपछि झडपको स्थिति निम्तिएको हो।