अयोध्यामा प्राणप्रतिष्ठा, तराई-मधेशमा बिदा
अयोध्यामा राम मन्दिरको उद्घाटनको पूर्व सन्ध्यामा तराई-मधेशमा स्थानीय सरकारले बिदा दिएर भारतको धर्म-राजनीतिलाई अनुसरण गर्न खोजेको देखिन्छ।
भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर उद्घाटनको उत्सव मनाउन रुपन्देहीको रोहिणी गाउँपालिकाले माघ ८ मा स्थानीय बिदा दिएको छ। छिमेकी गाउँपालिका ओमसतियाले पनि स्थानीय बिदा दिएको सूचना जारी गर्दै माछा, मासु र मदिरा सेवन, बेचबिखन तथा पशु काटमार नगर्न भनेको छ। माघ ८ मा अयोध्यामा राम मन्दिरको उद्घाटन गरिंदै छ।
त्यही आशयका सूचना जारी गर्दै कपिलवस्तुका आठ वटा स्थानीय सरकारले बिदा दिएका छन्। कृष्णनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, महाराजगन्ज नगरपालिका, मायादेवी गाउँपालिका, विजयनगर गाउँपालिका, शिवराज नगरपालिका र यशोधरा गाउँपालिकाले स्थानीय बिदा घोषणा गरेका हुन्।
तापक्रम अत्यधिक घटेपछि तराई-मधेशमा शीत लहर चलिरहेको छ। जाडोले जनजीवन प्रभावित बनेको छ। यस्तो वेला जाडो बिदा समेत नदिएका स्थानीय सरकारले अयोध्यामा हुने राम मन्दिरको प्राणप्रतिष्ठामा स्थानीय बिदा घोषणा गरेका छन्।
लुम्बिनी प्रदेशस्थित कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी बहुसंख्यक हिन्दू समुदायको धारणा बुझेर बिदा दिएको तर्क गर्छन्। “भगवान् राम भारतका वा नेपालका भन्ने हुँदैन। सबै सनातनीका भगवान् हुन्,” अध्यक्ष चौधरी भन्छन्, “गाउँपालिकामा सनातनीको बाहुल्य भएकाले ‘पब्लिक’ ले पनि बिदाको माग गरिरहेका थिए। हामीले ‘मोहम्मद डे’ मा पनि बिदा दिएका थियौं।”
मधेश प्रदेशको वीरगन्ज महानगरपालिकाले माघ ८ मा पशु वध, मदिरा सेवन, माछामासु बिक्री जस्ता क्रियाकलापलाई निधेष गरेको छ। कसैले त्यस्तो गरेको पाइएमा कारबाही गर्ने चेतावनी सहितको सूचना महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जारी गरेका छन्। महानगरले अयोध्यामा प्राणप्रतिष्ठा हुने दिनमा स्थानीय रामजानकी मन्दिरमा रामको मूर्ति राख्ने योजना बनाएको छ।
त्यस्तै, सप्तरीको राजविराज र डाक्नेश्वरी नगरपालिकाले पनि माघ ८ मा बिदा दिएका छन्। रौतहटको गौर नगरपालिका, बाराको कलैया नगरपालिका सहित अन्य धेरै स्थानीय सरकारले पनि स्थानीय बासिन्दालाई धूमधामसँग धार्मिक अनुष्ठान गर्न भनेका छन्।
रामको ‘मिथिकल’ जन्मभूमि अयोध्यामा हुन लागेको प्राणप्रतिष्ठाको अनुष्ठानप्रति नेपालको तराई-मधेश क्षेत्रका हिन्दूमा उत्सवको अनौठो सादृश्य देखिएको छ। स्थानीय सरकारले आफूखुशी बिदा घोषणा त गरेकै छन्, हिन्दू बाहुल्य दक्षिणी तराई-मधेशका बासिन्दामा पनि उल्लास देखिन्छ।
मधेश प्रदेशका राजविराज, जनकपुर, वीरगन्जमा हनुमान् आराधना, हनुमान् चालिसा पाठ, राम धुन जस्ता धार्मिक अनुष्ठानको तयारी भइरहेका छन्। भैरहवा, परासी, तौलिहवा, नरैनापुर र नेपालगन्जमा माघ ८ मा धार्मिक र्यालीको आयोजना गरिएको छ। बाँकेको नरैनापुर सहित वीरगन्ज, जनकपुरमा माघ ७ मा पनि ‘जय श्री राम’ को नारा सहित विभिन्न धार्मिक र्याली निस्केका थिए।
धनुषाको जनकपुर उपमहानगरका मेयर मनोजकुमार शाह र जानकी मन्दिरका महन्त रामरोशन दासले गरगहना, मिठाई, फलफूल, कपडा र भाँडाकुँडा सहित तीन हजार वटा उपहारका पोका अयोध्या पठाइसकेका छन्। जसमा ५०० जना पनि गएका छन्।
अयोध्यामा मन्दिर स्थापनाको विषयलाई लिएर नेपालमा हिन्दूवादी संगठनले सरकारलाई बिदा घोषणा गर्न दबाब दिएका थिए। विश्व हिन्दू परिषद् र राष्ट्रिय स्वयंसेवक संघका नेपाली च्याप्टर संगठनका स्थानीय शाखाहरूले बिदा घोषणा गर्न दबाब दिएको बुटवल उपमहानगरका एक जनप्रतिनिधि बताउँछन्। “अघिल्लो सातादेखि दिनहुँ फोन आइरहेको छ। बिदा नदिने हो भने पनि माछामासुमा प्रतिबन्ध लगाउनुपर्यो भनेर फोन गरेका थिए,” उनी भन्छन्।
जानकी मन्दिर गुठीको डेलिगेशन नै गएर मधेश प्रदेश सरकार समक्ष प्रदेशमा सार्वजनिक बिदा दिन आग्रह गरेको थियो। प्रदेश सरकारले बिदा घोषणा गरेको छैन।
रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव हिन्दूवादी संगठनको दबाबमा बिदा दिइएको स्वीकार गर्छन्। “हिन्दूवादी समूहले फोन गरेर बिदा दिन भनिरहेको थियो। त्यही कारणले बिदा दिइएको हो,” रोहिणीका अध्यक्ष यादव भन्छन्।
समाज अध्येता रामचन्द्र श्रेष्ठ तीव्र गतिमा फैलिइरहेको भारतको राजनीतिक र सांस्कृतिक प्रभावका कारण नेपालका स्थानीय सरकारले अयोध्या राम मन्दिर उद्घाटनको नाममा बिदा दिएको बताउँछन्। “मन्दिर उद्घाटनमा व्यक्ति आफू सहभागी हुन सक्छ, प्रार्थना गर्न सक्छ, उपवास बस्न सक्छ तर त्यही कुरा कुनै पनि तहको सरकारले जनतामा लाद्न हुँदैन,” श्रेष्ठ भन्छन्, “यो धर्मनिरपेक्षताको विरुद्धमा छ। स्थानीय सरकारहरूले खासमा यति वेला संघीयताले स्थापित गरेका राजनीतिक मूल्यको खिल्ली उडाइरहेका छन्।”
अयोध्याको राम मन्दिर भारतमा लामो समयदेखि हिन्दू-मुस्लिम द्वन्द्वको कारक बन्दै आएको छ। सन् १५५८ मा मुगल सम्राट् बाबुरले अयोध्यामा विशाल मस्जिद बनाएका थिए। पछि बाबरी मस्जिदका नाममा प्रख्यात भयो।
१९औं शताब्दीदेखि हिन्दूवादी संघसंस्था र राजनीतिक दलले त्रेतायुगमा भगवान् राम जन्मेको ठाउँमा मस्जिद बनेको भन्दै विरोध गर्न थाले। सन् १९९२ मा भारतीय जनता पार्टी, विश्व हिन्दू परिषद् र राष्ट्रिय स्वयंसेवक संघका प्रतिनिधिको नेतृत्वमा अयोध्या पुगेका हजारौं कार्यकर्ताले मस्जिद ध्वस्त पारे।
त्यसपछि उत्पन्न भएको हिन्दू-मुस्लिम दंगामा कैयौंको ज्यान गयो। सन् २०१९ मा भारतीय सर्वोच्च अदालतले त्यो स्थल हिन्दूको भएको विवादास्पद फैसला सुनायो। त्यही फैसलाको आडमा भारतको हिन्दूवादी भारतीय जनता पार्टीको सरकारले राम मन्दिर निर्माण गरेको हो। निर्माण कार्य अहिले पनि जारी छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा माघ ८ मा राम मन्दिरमा प्राणप्रतिष्ठा गरिंदै छ।
भारतीय जनता पार्टीले राम मन्दिरलाई राजनीतिक परियोजना बनाएको आरोप लगाउँदै कांग्रेस पार्टीले उद्घाटन कार्यक्रममा सहभागी नहुने जनाइसकेको छ। ज्योतिर्मठका शंकराचार्य अविमुक्तेश्वरानन्द सरस्वतीले प्राणप्रतिष्ठा कार्यक्रममा देशका चारवटै मठका शंकराचार्य सहभागी नहुने बताएका छन्।
द इकोनोमिस्टका अनुसार अयोध्यामा प्राणप्रतिष्ठा अनुष्ठान मार्फत मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न चुनावी अभियानको अनौपचारिक थालनी गर्दै छन्। संसारकै सबैभन्दा धेरै मतदाता भएको देश भारतमा आगामी जेठमा आमनिर्वाचन हुँदै छ।
समाज अध्येता श्रेष्ठ पनि भारतको अयोध्यामा राम मन्दिर स्थापना धार्मिक विषय नभएको बताउँछन्। “हिन्दूत्वको आडमा भारतमा नवफासीवादको उदय भइरहेको छ। यसले धार्मिक आवरणमा एउटा निश्चित कुलीन वर्गको संरक्षण गरिरहेको छ,” उनी भन्छन्, “खासमा भारतमा बढ्दो असमानता, बेरोजगारी, महंगी, सामाजिक अपराधलाई धर्मको आवरणमा छोप्न खोजिंदै छ।”
त्यही हिन्दूत्वको प्रभाव अहिले नेपालमा पनि बलियोसँग देखा पर्दै गएको श्रेष्ठ सुनाउँछन्। “भारतको जस्तो शिव सेना, बजरंगी दल, हिन्दू परिषद् आदि संस्थाका नेपालमा शाखा खोलिएका छन्। तिनको आशय नेपाललाई भारतको नवउपनिवेश बनाउने हो,” उनी भन्छन्, “के यो विशुद्ध धर्म हो त? यो त प्रस्ट राजनीति हो।”
अर्का विश्लेषक मनिकर कार्की भारतमा देखिएको हिन्दू सर्वोच्चताबाट नेपाललाई हिन्दू राष्ट्र देख्न चाहने तप्कालाई प्रोत्साहन मिलिरहेको सुनाउँछन्। “हिन्दू धर्म बहुदर्शनको धर्म हो। तर भारतीय हिन्दू सर्वोच्चताले रामलाई मात्र सर्वोपरि देख्छ। आजकल तराई-मधेशमा गुन्जने जय श्री रामको नारा उही हिन्दू सर्वोच्चताको प्रभाव हो,” कार्की भन्छन्, “हिन्दू राष्ट्र बनाउनुपर्छ भन्नेहरूले यस्तो नारा लगाउन थालेका छन्।”
भारतको धर्म-राजनीतिको प्रभावले नेपाली समाज ध्रुवीकरणतिर जान सक्ने जोखिम औंल्याउँछन्। जसले गर्दा मुस्लिम तथा गैरहिन्दू अल्पसंख्यकहरू धार्मिक अतिवादको निसानामा पर्न सक्ने जोखिम बढेको उनको भनाइ छ। “यो ध्रुवीकरणले समाजलाई साम्प्रदायिकतातर्फ लैजान्छ,” कार्की भन्छन्।
दुई महीनाअघि मात्रै नेपालगन्ज, धरान र मलंगवामा छोटो अवधिमा ठूला सम्प्रदायिक तनाव उत्पन्न भएका थिए। दंगा सिर्जना नहोस् भनेर स्थानीय प्रशासनले पटक पटक निषेधाज्ञा जारी गरेका थिए। ती घटना स्मरण गर्दै कार्की थप्छन्, “अहिले धमाधम बिदा घोषणा गरिरहेका स्थानीय सरकारले साम्प्रदायिकताको संवेदनशीलता बुझ्न सकेको देखिएन।”