सिक्लेसवासीसँग सिनेकर्मीको भलाकुसारी
सिक्लेसवासीले गाउँघरमा पुगेका सिनेकर्मीलाई उत्साहपूर्वक स्वागत मात्रै गरेनन्, आँगनमा बसेर उनीहरूका दुःखसुखका कुराकानी सुन्दै रमाए पनि।
लाइभ, क्यामेरा, एक्शनको दैनिकीबाट फुर्सद निकाल्दै सिनेकर्मी कास्कीको पर्यटकीय गाउँ सिक्लेस पुगे। पोखराबाट ४२ किलोमिटर कच्ची सडक हुइँकिएर पुगिने हिमालछेउकै पर्यटकीय गुरुङ गाउँ हो- सिक्लेस।
बिहानै अन्नपूर्ण दोस्रो हिमाललाई नजिकबाट नियालेर सिनेमा बहसमा उत्रिए कलाकार र पत्रकार। चलचित्र पत्रकार संघ, कास्कीले सिक्लेसमा जुराएको सिनेमा संवादमा ‘हिरोहिरोइन’ हेर्न भनेर सिक्लेसवासी उत्साहित देखिन्थे। दहीमा मुछेको सेतो टीका र स्थानीय फूलको माला लगाउँदै आगन्तुकलाई स्वागत गरे।
अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेत्री गौरी मल्ल, निर्देशक दीपाश्री निरौला, निर्देशक अनुप बराल, अभिनेत्री दिया मास्के लगायत कलाकारलाई आँगनमै भेट्दा सिक्लेसवासी पनि मक्ख थिए। कतिपय सेल्फी लिइरहेका थिए भने कतिपय सँगै उभिएर आफन्तसँग फोटो खिचाइरहेका थिए।
सिक्लेस पुगेर सिनेकर्मीले पनि स्थानीय बासिन्दासँग भलाकुसारी त गरे नै, आफ्ना दुःखसुख पनि सुनाए। सिनेकर्मीले सिनेमाका विगत, वर्तमान, भविष्यसँगै अनुभवबारे दिनभर छलफल गरे। सिक्लेसवासी भने आँगनमा बसेर सिनेमाका कुराकानी सुनिरहेका थिए।
पहिलो बहस ‘सिनेमा सरकार : हिजो, आज र भोलि’ मा चलचित्र विकास बोर्डका अध्यक्ष केसीले चलचित्र विकास बोर्ड सञ्चार मन्त्रालयभित्रै हराएको सुनाए। प्रकाश सुवेदीले सहजीकरण गरेको संवादमा अध्यक्ष केसीले चलचित्र विकास बोर्ड स्वायत्त नभएसम्म चलचित्र, चलचित्रकर्मीको विकास हुन नसक्ने बताए।
बोर्ड र मन्त्रालयबीचको भद्रगोल मिलाउने प्रयास गरिरहेको उनको भनाइ थियो। डिजिटल युग आइसक्दा पनि नेपाली सिनेजगत् २०२६ सालको चलचित्र ऐन अनुसार चल्नुपर्ने बाध्यता रहेको केसीको गुनासो थियो।
अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले सरकारले चलचित्र क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो गरिन्। चलचित्र क्षेत्रमा रहेको जनशक्तिलाई तालीम दिएर दक्ष बनाउनुपर्ने निरौलाको भनाइ थियो।
निर्माता आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सरकारले उद्योगका रूपमा विकास गर्न नचाहेको बताए। “यो उद्योगले आम्दानी दिन सक्दैन भन्ने सरकारी सोचका कारण चलचित्र उद्योगको बारेको धारणा परिवर्तन गर्न सकिएको छैन,” अधिकारीले भने।
लेखक प्रकाश सायमीको स्वकथनमा नेपाली चलचित्रलाई विश्वव्यापी बनाउन चलचित्र पत्रकारले लेखेको भूमिकाको चर्चा गरे। चलचित्रमा डिजिटलको बहस चलचित्र पत्रकारले गरेको भन्दै सायमीले प्रशंसा पनि गरे।
अर्को संवाद ‘नेपाली सिनेमाको स्वाद : कस्तो छ, कस्तो हुनुपर्छ’ मा सुरज सुवेदीको सहजीकरणमा अभिनेत्री दिया मास्के सहित निर्देशक तथा रंगकर्मी अनुप बराल र निर्देशक मनोज पण्डित जुटे। निर्देशक तथा अभिनेता बरालले सिनेमा मानिसको चेतनासँग जोडिने बताए। सिनेमाका कथामा विविधताको खोजी हुनुपर्नेमा जोड दिंदै भूगोलको जरालाई कथामा समेट्न सक्ने क्षमता नेपाली चलचित्रमा विकास भइसकेको सुनाए।
निर्देशक तथा समीक्षक मनोज पण्डितले नेपाली सिनेमा सीमित दायराभित्र मात्र बस्दा अस्पतालको खाना जस्तो अन्लो भएको औल्याए। नेपाली चलचित्र अझै पनि ‘केरामा चिप्लिने’ कथा जस्तो मात्र भएको भन्दै पण्डितले व्यंग्य गरे। नेपाली चलचित्रका कथा सधैं प्रेमको वरपर र एकै किसिमका मात्रै भएको उल्लेख गर्दै मान्छेले आफैंभित्र प्रश्न गर्न सक्ने चलचित्र कहिले बन्ने भनेर प्रश्न गरे।
अभिनेत्री दिया मास्केले नेपाली चलचित्रले वास्तविक स्वाद पस्किन नसकेको औंल्याइन्। यसमा उनले बजेटको सीमित दायरालाई कारण देखाइन्।
त्यस्तै, अभिनेत्री गौरी मल्ल र अभिनेता भुवन केसीले तेस्रो संवादमा आफ्नो विगतलाई सम्झिए। ‘सिनेमाभित्र म : मभित्र सिनेमा’ मा गरेको संवादमा अभिनेत्री मल्लले अभिनय गरुँली भनेर कहिल्यै नसोचेको सुनाउँदै भनिन्, “तर पछि मेरो पेशा नै अभिनय हुन्छ भन्ने सोचेको थिइनँ। यसमा बसुन्धरा दिदीको ठूलो योगदान छ।”
अभिनेत्री मल्लले आफ्नो पहिलो चलचित्र सन्तानको अडिशनको दिन सम्झिइन्। उनले भनिन्, “म एक्स्ट्राअर्डिनरी थिइनँ। देख्नमा सामान्य थिएँ। स्क्रीन टेस्टमा मलाई पढ्न दिइएको डायलग लामो थियो। सानैदेखि किताब पढ्ने बानी भएकाले मैले राम्रै गरें।”
त्यही चलचित्रमा रहेका अभिनेता केसीले पनि अभिनेत्री मल्ललाई पहिलो पटक भेटेको समय सम्झंदै भने, “मैले गौरी मल्ललाई भेट्दा कसरी हिरोइन बन्ली भनेर अकमक्क थिएँ, पछि निर्देशक प्रकाश थापाले ‘ट्यालेन्टेड’ छ र नेपालको ‘मीनाकुमारी’ हुन्छे भनेका थिए।”
दुवै कलाकारले एकअर्काका विगत र वर्तमान सिक्लेसवासीलाई सुनाए। उनीहरूका कुराकानी सुन्दा सिक्लेसवासी कति वेला हाँस्थे भने कति वेला ताली बजाउँथे। कति वेला भने गम्भीर र एकोहोरिए जस्ता देखिन्थे। उनीहरूले कुराकानीका क्रममा कलाकारसँग जिज्ञासा पनि राखे।