लालसागरको तनावले महँगिंदो विश्व व्यापार
गाजामा इजरायली हमलाको प्रतिकारमा हुथी विद्रोहीले पानीजहाजमाथि आक्रमण गर्न थालेपछि लालसागर तनावग्रस्त हुँदा एशिया-यूरोपको व्यापार महँगिन थालेको छ।
गाजामा इजरायली हमलाको प्रभाव जमीनबाट सागरतर्फ सरिसकेको छ। प्यालेस्टेनी विद्रोही समूह हमासले गत असोज २० मा इजरायलमा आक्रमण गरेपश्चात् गाजामा युद्ध शुरू भएको हो। त्यसयता इजरायली हमलामा २५ हजारभन्दा बढीको ज्यान गइसकेको छ।
जहाँ नरसंहारकारी हतियार मात्र होइन, भोक समेत युद्धको अस्त्र बनिरहेको छ। गाजाका निहत्था जनता नरसंहारको शिकार बनिरहँदा अर्कोतर्फ विश्व-व्यापार पनि प्रभावित बन्न थालेको छ। लालसागरमा सिर्जना भएको तनावले विश्व व्यापार प्रभावित बन्न पुगेको हो।
संसारको जलमार्गमा लालसागर निकै महत्त्वपूर्ण छ। खासगरी लालसागर र भूमध्यसागर जोड्ने स्वेज नहर हुँदै विश्वको करीब १२ प्रतिशत व्यापार हुने भएकाले यो जलमार्गको महत्त्व अत्यधिक छ।
आन्ध्र महासागरदेखि पश्चिम एशियासम्म फैलिने भूमध्यसागरले यूरोपलाई अफ्रिकासँग अलग्याउँछ। त्यस्तै, दक्षिण-पश्चिममा इजिप्टको स्वेजदेखि एडेनको खाडी हुँदै अरब सागरसम्म फैलिएको लालसागरले इजिप्ट, सुडान लगायत अफ्रिकी देशलाई पश्चिम एशियाका साउदी अरब र यमनबाट अलग्याउँछ।
भूमध्यसागर र लालसागरको बीचमा छ, इजिप्ट। इजिप्टको यस भूखण्डलाई चिरेर स्वेज नहर बनाइएको हो। सन् १८६९ मा निर्माणसम्पन्न यस नहरले यूरोपदेखि एशियासम्म आउने जलमार्गको दूरी छोट्याइदिएको छ।
यो नहर बन्नुअघि यूरोपेली जहाज अफ्रिकाको दक्षिणी कुनो ‘केप अफ गुड होप’ हुँदै सिंगो अफ्रिका घुमेर एशियासम्म आइपुग्थे। दैनिक करीब ५० वटा जति जहाज यात्रा गर्ने भएकाले यसलाई विश्व व्यापारको महत्त्वपूर्ण धमनी पनि भनिन्छ।
गाजामा इजरायली आक्रमण बढ्दै गएपछि गत कात्तिकबाट यमनमा आश्रय लिइरहेका हुथी विद्रोहीले स्वेज नहर हुँदै लालसागर मार्फत यूरोपबाट एशिया पुग्ने जहाजमा रकेट र ड्रोन आक्रमण थाले। पहिलो आक्रमण गत कात्तिक २९ मा भएको थियो।
त्यसपछि मंसीर १७ मा त एकै दिन तीन वटा व्यावसायिक जहाजमा हमला भएको थियो। हुथी विद्रोहीले इजरायलसँग सम्बन्धित हतियार मात्र विनाश गर्ने भनेका छन् तर अन्य जहाज पनि क्षतिग्रस्त छन्।
गत कात्तिकमा हुथी विद्रोहीले एउटा कार ओसार्ने जहाज ‘ग्यालेक्सी लिडर’ अपहरण गरेर त्यसका चालक दलका सदस्यलाई कब्जामा राखेका छन्। तीमध्ये अधिकांश फिलिपिन्सका नागरिक छन्।
अहिलेसम्म मानवीय क्षति नभए पनि लालसागरमा हुथी आक्रमणमा परेर केही जहाज क्षतिग्रस्त भएका छन्। अमेरिकी जलसेनाले थुप्रै ड्रोन र मिसाइल आक्रमण हुनुपूर्व नष्ट गरेकाले क्षति कम भए पनि यो प्रत्याक्रमण महँगो भइरहेको छ।
लालसागरमा मडारिएको युद्धको यो बादलले त्यो मार्ग हुँदै सामान ओसार्ने जहाजले बाटो फेर्न थालेका छन्। माघ पहिलो सातासम्म स्वेज नहरबाट जम्मा १५० जहाजले यात्रा गरेका छन्, जबकि यही अवधिमा अघिल्लो वर्ष ४०० जहाजले यात्रा गरेका थिए।
पछिल्लो दुई वर्षमा लालसागर र स्वेज नहरको यो मार्गको महत्त्व झनै बढेको छ। युक्रेन युद्ध शुरू भएपछि यूरोपेली देशले तेल किन्न छोडेका छन्। उनीहरू इन्धनका लागि पश्चिम एशियाली देशप्रति बढी निर्भर हुनुपरेको छ।
अर्कातर्फ, रूसले पनि आफ्नो तेलको बजार भारतलाई बनाइरहेको छ। रूसले पनि स्वेज नहरकै बाटो हिंड्नुपरेको छ।
तर लालसागरमा सिर्जित तनावका कारण अहिले अधिकांश व्यापारिक जहाज सिंगो अफ्रिका घुम्दै यात्रा गरिरहेका छन्। एशियादेखि यूरोपसम्म सामग्री ओसारपसार गर्ने भाडा तीन गुणा महंगिएको छ। यसको चर्को असर यूरोपको इन्धन व्यापारमा परिरहेको छ। कोभिड-१९ महामारीको समयमा थला परेको विश्व व्यापारमा फेरि एक पटक ग्रहण लागेको छ।
यो पनि पढ्नुहोस्: