इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणको कसूरमा दोषी ठहर
पूर्व सांसद एवं सिभिल तथा ऋण सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणको कसूरमा दोषी ठहर भएका छन्।
विशेष अदालत, काठमाडौंले तामाङ सहित उनकी पारिवारिक सदस्य सिर्जना शाक्य तामाङलाई दोषी ठहर गरेको छ। त्यस्तै, उनका पारिवारिक सदस्य प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङले सफाइ पाएका छन्।
यो मुद्दामा केशवलाल श्रेष्ठ पनि दोषी ठहर भएका छन्।
सहकारीका दुई हजारभन्दा बढी बचतकर्ताले जम्मा गरेको रकम आफू सम्बद्ध कम्पनी, संस्था र निजी सम्पत्तिका रूपमा लगानी गरेर अवैध धनलाई वैध बनाएको आरोप सहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ मा मुद्दा दायर गरेको थियो।
न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारिबाबु श्रेष्ठको इजलासले आइतबार कसूर ठहर गर्दै सजाय निर्धारणका लागि पेशी तोक्न भनेको छ। तामाङ ठगी कसूरमा अहिले पनि थुनामा छन्। ठगी कसूर सम्बन्धी मुद्दा भने जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ।
इच्छाराजले तीन अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँको स्रोत खुलाउन नसकेको आरोप छ। त्यस्तै, सिर्जनाले एक अर्ब ३० करोड ९३ लाख ९५ हजार ८०२ रुपैयाँ, प्रतीक्षाले ६ करोड ४७ लाख ४६ हजार २५० रुपैयाँ, प्रतिष्ठाले एक करोड ८९ लाख १८ हजार ६४६ रुपैयाँ अवैध सम्पत्ति जोडेको आरोप थियो। प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाएका हुन्।
यसैगरी, केशवलालले २६ करोड ६१ लाख ४५ हजार ५३० रुपैयाँको अवैध सम्पत्ति भेला पारेको आरोप छ। सबै अवैध सम्पत्ति जफत सहित उक्त रकम बराबरको बिगो र जरिवाना तिराउने माग सहित मुद्दा दायर भएको थियो।
यो पनि पढ्नुहोस् : घरजग्गा व्यवसायबाट उदाएका इच्छाराज तामाङको ओरालो यात्रा