उपेन्द्र यादव प्रमुख अतिथि रहेको कार्यक्रम रोक्न शिक्षामन्त्रीको निर्देशन
मधेश प्रदेशका शिक्षामन्त्रीले उपेन्द्र यादव प्रमुख अतिथि रहेको मधेश कृषि विश्वविद्यालयको कार्यक्रम रोक्न निर्देशन दिएका छन्।
मधेश कृषि विश्वविद्यालयको प्रशासनिक भवनको सोमबार शिलान्यास गरिंदै छ। यो कार्यक्रममा जसपा अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाइएको छ।
यादवलाई प्रमुख अतिथि बनाएको भन्दै जनमत पार्टीले विरोध गर्दै आएको छ। जनमत पार्टीका नेता तथा कार्यकर्ताले आइतबार बिहान विश्वविद्यालयमा तालाबन्दी पनि गरेका छन्।
यससँगै मधेश प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादवले पनि कार्यक्रम रोक्न निर्देशन दिएका हुन्। मन्त्री यादवले आफू सहकुलपति भए पनि कार्यक्रमबारे जानकारी नपाएको जनाएका छन्।
‘मधेश प्रदेश सरकारको मातहतमा रहेको मधेश कृषि विश्वविद्यालय राजविराज, सप्तरीको सहकुलपति तथा विश्वविद्यालयको सभा (सिनेट)को अध्यक्ष म आफैं हुँदा विश्वविद्यालयमा हुने कार्यक्रमको विषयमा केही जानकारी नपाउनु दुर्भाग्य हो,’ मन्त्री यादवले भनेका छन्, ‘२०८० पुस ८ गते हुने कार्यक्रम विश्वविद्यालयले सिनेटको अध्यक्षको सहमति बेगर गर्नु विवाद निम्त्याउनु हो। तसर्थ, सो कार्यक्रम स्थगित गर्न विश्वविद्यालयको प्रशासनिक विभागलाई निर्देशन दिएको व्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराइन्छ।’
कार्यक्रम नरोकेमा अप्रिय घटना हुन सक्ने मन्त्री यादवले चेतावनी दिएका छन्। उनले विज्ञप्ति मार्फत भनेका छन्, ‘कार्यक्रम नरोकेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवार मन्त्रालय नहुने विश्वविद्यालयको भीसी, रजिस्ट्रार हुने जानकारी समेत गराउन चाहन्छु।’
विश्वविद्यालयमा दोस्रो सत्रको पठनपाठन शुरू भइरहे पनि आफ्नै शैक्षिक र प्रशासनिक भवन छैन। भवन निर्माणका ठेक्का सम्झौता भइसकेको छ। भवनको माघ ८ मा जसपा अध्यक्ष यादवले शिलान्यास गर्ने कार्यक्रम छ।