कोशी प्रदेश २५ रनमै अल आउट
गण्डकी प्रदेशका बलर चम्किएपछि कोशी प्रदेश २५ रनमै अल आउट भएको छ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार मूलपानी क्रिकेट मैदानमा भएका खेलमा गण्डकी प्रदेशले कोशीलाई १४२ रनले पराजित गरेको हो। गण्डकीले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा कोशी प्रदेश २५ रनमै समेटियो।
कोशीका कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। चार ब्याटर शून्यमा र दुई ब्याटर एक-एक रनमा आउट भए। सबैभन्दा बढी कप्तान अंकित सुवेदीले आठ रन बनाए।
गण्डकीका लागि विपिन खत्रीले ६ विकेट लिए। उनले सात ओभरमा तीन मेडन राख्दै चार रन खर्चिए। त्यस्तै, सन्दीप पराजुलीले तीन र अंकित न्यौपानेले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको गण्डकीले ४८.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो। गण्डकीका लागि मुस्कान थापाले ६७, विपिन खत्रीले ४२ र कमल परियारले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंक पनि जोड्न सकेनन्।
कोशीका लागि अभ्यास तिमिल्सिनाले ६ विकेट लिए। उनले ९.२ ओभरमा दुई मेडन राख्दै २३ रन खर्चिएका थिए। त्यस्तै, फिर्दोस अन्सारी, कमल खत्री र सोनु मण्डलले एक-एक विकेट लिए।
यो जितसँगै गण्डकीले दुई अंक जोडेको छ। चार खेलमा गण्डकीको पहिलो जित हो। कोशी प्रदेशले भने अहिलेसम्म जित हासिल गर्न सकेको छैन। ६ खेल खेलिसकेको कोशी प्रदेश अंकतालिकाको पुछारमा छ।