सरकारले भन्ने बित्तिकै रूसले नेपालीलाई फिर्ता गरिहाल्दैन : प्रधानमन्त्री दाहाल
रूसी सेनामा भर्ती भएका नेपाली युवालाई फिर्ता गर्न सबैले लाग्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।
युगान्डाबाट आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रूसी सेनामा रहेका नेपाली फर्काउन सहज नभएको बताएका हुन्। युगान्डामा रूसी विदेशमन्त्रीलाई भेटेर पनि यस विषयमा कुराकानी भएको उनको भनाइ थियो।
“सरकारले पठाएको पनि होइन। सरकारले भन्ने बित्तिकै रूसले मान्दिहाल्ने कुरा पनि छैन,” प्रधानमन्त्री दाहालले भने, “हामी सबैले आफ्ना तर्फबाट पहल गर्नुपर्छ। हामी सबैको साझा र लगातारको प्रयासले परिणाम निकाल्नुपर्छ।”
सकभर रूसी सेनामा नजाने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। “हाम्रो देशको सम्झौता भएका भारत र बेलायत बाहेक अन्य कुनै ठाउँमा पनि नेपाली सेनालाई भर्ना गरिंदैन,” प्रधानमन्त्री दाहालले भने, “जहाँ पायो त्यहीं जागीर खाने नाममा राज्यको नीति, संविधानको मर्म विपरीत जहाँ पनि जाने! अझ बाटो छलेर जाने! यो तरीका भएन।”
तथापि रूसी सेनामा रहेका नेपाली युवालाई फर्काउन पहल भइरहेको उनको भनाइ थियो। रूस र युक्रेन दुवै देशसँग कुराकानी भइरहेको दाहालले बताए।
यस विषयमा परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाइसकेको प्रधानमन्त्री दाहालले जानकारी दिए। युगान्डामा रूसका विदेशमन्त्रीसँगको कुराकानीमा रूसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्तिका लागि पनि कुराकानी भएको उनले बताए।
यो पनि पढ्नुहोस् :