एकीकृत समाजवादीको वर्षभरीको आम्दानी आठ करोड
नेकपा (एकीकृत समाजवादी)ले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ।
लेखापरीक्षण प्रतिवेदन अनुसार एकीकृत समाजवादीको आम्दानी गत आर्थिक वर्षमा आठ करोड चार लाख ५६ हजार ७०९ रुपैयाँ भएको छ। पार्टी सदस्यता, लेभी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम मुख्य आम्दानीको स्रोतका रूपमा रहेको एकीकृत समाजवादीले जनाएको छ।
त्यस्तै, दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड ८२ लाख ६८ हजार ८११ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार ८९८ रुपैयाँ बचत भएको छ।
चालू आर्थिक वर्षको बचत र अघिल्लो वर्षको बचत मौज्दात सहित एकीकृत समाजवादीसँग अहिले एक करोड ३२ लाख ४८ हजार ७५६ रुपैयाँ बचत मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ।
चालू आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्च समेत समेटिएको लेखा प्रमुख पौडेलले जानकारी दिए।