भाले गोही भेटिंदाको उत्साह
गोही संरक्षणमा कठिनाइ भइरहेका वेला नारायणी र राप्ती नदीमा भाले गोही भेटिएपछि संरक्षणकर्मी उत्साहित बनेका छन्।
चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा घडियाल प्रजनन केन्द्र छ। यो केन्द्रमा गोही हुर्काएर देशका प्रमुख नदीहरूमा छोडिंदै आएको छ। नदीमा गोही छोड्ने गरेको वर्षौं भइसक्यो तर गोहीको संख्या बढेको छैन।
यसको कारण हो- भाले गोहीको कमी। प्राकृतिक वासस्थान होस् या प्रजनन केन्द्र, भाले गोहीको संख्या एकदमै न्यून हुन्छ। जसले गर्दा गोहीको संख्या बढाउन कठिनाइ भइरहेको संरक्षणकर्मी बताउँछन्।
तर यही वेला संरक्षणकर्मीका लागि खुशीको खबर आएको छ। नारायणी र राप्ती नदीमा भाले गोहीको संख्या बढेको देखिएको छ। “गत वर्षभन्दा यो वर्ष दोब्बर संख्यामा भाले गोही भेटिएका छन्,” चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत गणेशप्रसाद तिवारी भन्छन्।
हालै गरिएको घडियाल गोही अनुगमनका क्रममा भाले गोहीको संख्या बढेको भेटिएको हो। चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्रले बर्सेनि अनुगमन गर्दै आएका छन्। यस वर्ष पुस १ देखि १५ गतेसम्म अनुगमन गरिएको थियो, जसको परिणाम हालै सार्वजनिक भएको छ।
नारायणी र राप्ती नदी क्षेत्रमा २६५ वटा घडि़याल गोही भेटिएका हुन्। जसमा ६ वटा भाले गोही रहेको तिवारी बताउँछन्। उनका अनुसार नारायणी नदीमा तीन भाले सहित ११३ र राप्ती नदीमा तीन भाले सहित १५२ गोही भेटिएका हुन्। “गत वर्ष तीन वटा भाले मात्र देखिएका थिए भने यस वर्ष ६ वटा भाले देखिनु खुशीको कुरा हो,” तिवारी भन्छन्, “अनुगमनका क्रममा नारायणी नदीमा तीन वटा डल्फिन पनि देखिए।”
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको १०० किलोमिटरको नदी क्षेत्र घडियालका लागि उपयुक्त वासस्थान हो। विश्वभर नेपाल र भारतमा मात्र पाइने लोपोन्मुख यस प्राणीलाई नेपालले साइटिस अनुसूची-१ मा राखेर संरक्षण गर्दै आएको छ। यस अनुसूचीमा लोप हुने स्थितिमा पुगेका प्राणी प्रजातिलाई समावेश गरिन्छ। व्यापारका कारणले ती प्रजाति अझै खतरामा पर्ने र लोप हुन सक्ने भएकाले यो अनुसूचीमा राखेर कारोबारमा प्रतिबन्ध लगाइएको हुन्छ।
गोहीको दीर्घकालीन संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको मुख्यालयसँगै कसरामा २०३५ सालमा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो। यस केन्द्रमा हुर्किने १०० हाराहारी गोहीलाई प्रत्येक वर्ष राप्ती र नारायणी नदीमा छोड्ने गरिएको छ। केन्द्रले हालसम्म एक हजार ८६२ वटा घडियालका बच्चा देशका प्रमुख नदीहरू महाकाली, कर्णाली, बबई, नारायणी, राप्ती, कालीगण्डकी र कोशीमा छोडिसकेको छ।
हरेक वर्ष नदीमा छोड्दा पनि गोहीको संख्या भने बढ्न सकेको छैन। भाले कम हुने भएकाले गोही संख्या बढाउन चुनौती भएको तिवारी बताउँछन्। “गोहीको अन्डा कोरल्दा ३० देखि ३२ डिग्री सेन्टिग्रेड तापक्रम भएमा भाले हुन्छ, नत्र पोथी हुने सम्भावना अधिक हुने देखिन्छ,” उनी भन्छन्, “पछिल्लो समय प्रजनन केन्द्र र प्राकृतिक वासस्थानमा समेत भाले ज्यादै न्यून हुने गरेकाले गोहीको संख्या बढ्न गाह्रो हुने गरेको छ। गोहीको संरक्षणमा मुख्य चुनौती नै यही हो।”
गोहीको अन्डा जोगाउन पनि गाह्रो छ। गोहीले अन्डा पारी बालुवामा गाडेर जान्छ। गोहीले अन्डा पाए मान्छेले नै खाइदिन्छन्। त्यस बाहेक जंगली जीवले पनि खोजी, खनी, खोस्री खाने गर्दछन्। “चराचुरुंगी, स्याल, न्याउरी मुसाले पनि खाइदिन्छन्,” प्राध्यापक करनबहादुर शाह भन्छन्, “नदी किनारको बालुवामा छोपिएका अन्डा बाढीले पनि बगाएर लान्छ ।”
नेपालमा गोहीका दुई प्रजाति पाइन्छन्, घडियाल गोही र मगर गोही। घडियाल सफा र निरन्तर बगिरहने ठूला नदीमा बस्छ। मगर गोही नदी बाहेक तालतलैया, पोखरी, तलाउ, घोलघाल, जलाशय र वर्षाका वेला धान खेतमा समेत आउँछ।
घडियालको मुख्य आहारा माछा हो भने मगर गोहीले माछा बाहेक जंगली जनावर एवं घरपालुवा कुकुरको समेत शिकार गर्छ। मगर गोहीको संख्या लोप हुने अवस्थामा नभए पनि घडियाल भने लोपोन्मुख अवस्थामा छ। नदी किनारमा रहेका अग्ला बालुवाका ढिस्कामा घडियालले जाडो याममा घाम ताप्ने, प्रजननका वेला अन्डा पार्ने र बच्चा कोरल्ने गर्छ। तर कोरलिएका सबै बच्चा बाँच्दैनन्।
घडियाल गोहीको थुतुनो लामो र पातलो हुन्छ। लामो थुतुनोकै मद्दतले यसले आफ्नो मुख्य आहारा माछा समात्छ। गोही प्रजातिमा सबैभन्दा ठूलो नै घडियाल गोही हो।
यसले कहिलेकाहीं कछुवा र ससाना स्तनधारी जनावर पनि खान्छ। पोथी घडियाल १० वर्ष जतिमा वयस्क हुन्छ। वयस्क हुँदा यसको लम्बाइ करीब २.५ मिटर हुन्छ। वयस्क भालेको लम्बाइ ६ मिटरसम्म हुन्छ र १३ वर्षको उमेरमा यसले प्रजनन गर्न सक्छ।
घडियालको औसत आयु भने २९ वर्ष जति हुन्छ। घडियाल नेपालका राप्ती, नारायणी, बबई र कर्णाली नदीमा पाइन्छ। त्यसैगरी भारतमा गेरुवा, चम्बल, सोन, केन र महानदीमा पाइन्छ।
मगर गोही भने नदीनाला, ताल र पोखरीमा पनि बस्छ। मगर गोहीले वर्षमा २० देखि २५ वटा अन्डा पार्छ। यसको खुट्टाका औंलामा पौडिन सजिलो पार्ने गरी छाला जोडिएको हुन्छ। यसको शरीरको माथिल्लो भाग जैतुन रङको र मुन्तिर भने सेतो-पहेंलो हुन्छ।
मगर गोही महाकाली, कर्णाली, बबई, राप्ती, नारायणी, कोशी नदीका साथै शुक्लाफाँटा, चितवन र बर्दिया राष्ट्रिय निकुञ्जका पानी जमेका ठाउँहरूमा पाइन्छ। नेपाल बाहेक मगर गोही भारत, पाकिस्तान, बाङ्लादेश, म्यानमार र इरानमा पनि पाइन्छ।
संरक्षण चुनौती
मानवीय क्रियाकलापले गोहीको वासस्थानमा व्यवधान पुग्दा संरक्षणमा चुनौती देखिएको प्राध्यापक शाह बताउँछन्। माछापालनमा निर्भर निकुञ्ज क्षेत्रका सीमान्तीकृत समुदायले जथाभावी माछा मार्दा गोहीलाई जोगाउन गाह्रो भएको हो।
उनीहरूले प्रयोग गर्ने जालीले पनि गोहीलाई मारिरहेको छ। माछा मार्ने अनुमति दिंदा ठूलो जालको प्रयोग गर्नुपर्ने, दिउँसो मात्र माछा मार्नुपर्ने, माछा मार्ने क्षेत्र तोकिए पनि अनुगमन नहुँदा गोही मारमा पर्ने गरेको प्राध्यापक शाहको तर्क छ।
“भएको नियमको पालना कोही पनि नगर्ने अनि गोही मासियो भनेर दुखेसो गरेर मात्र हुन्छ?” उनको प्रश्न छ, “निकुञ्जका सबै नदी क्षेत्रमा त गोही छैनन्। गोही नभएको ठाउँमा माछा मार्न लगाउनुपर्यो। गोहीको वासस्थानका माछा मार्न दिंदा उसलाई पनि आहाराको दुःख हुन्छ।”
माछापालनमा निर्भर सीमान्तीकृत समुदायका सदस्यलाई निकुञ्जमा जागीर दिएर वा अन्य विकल्प अपनाएर जीविकोपार्जनमा लगाउनुपर्ने उनको सुझाव छ। निकुञ्जले माछा मार्ने अनुमति दिंदा कुन महीनामा, कुन कुन प्रजातिको, कत्रो माछा मार्ने भन्ने सबै उल्लेख गरेको हुन्छ तर त्यसको पालना हुँदैन। नियममा सानो माछा पर्ने भुरे जाल उपयोग नगर्नु भन्ने उल्लेख छ। माछाले अन्डा पार्ने वेला पनि यसलाई मार्न पाइँदैन। “यी समस्या समाधान नगरेसम्म गोहीको संरक्षणमा चुनौती नै छ,” शाह भन्छन्।