सातै बलर चलेपछि मधेशकाे सहज जित, तेस्रो स्थानमा उक्लियो
सातै बलरले एकपछि अर्को विकेट लिंदै गएपछि मधेश प्रदेशले सहज जित हासिल गरेको छ भने अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलमा मधेश प्रदेशले कर्णालीलाई ६१ रनले पराजित गरेको हो। मधेशले दिएको २३२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ४१.१ ओभरमा १७० रनमै समेटियो।
कर्णालीका लागि अर्जुन घर्तीले ५८, दिनेश अधिकारीले ३३, विपिन शाहीले ३१ र प्रकाश जैशीले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
मधेशका लागि सबै बलरले प्रभावशाली प्रदर्शन गरे। मधेशका लागि राजेश यादवले तीन, प्रदीप पासवानले दुई तथा रूपेश सिंह, अभिषेक तिवारी, रञ्जित कुमार, हरिशंकर साह र पवन सर्राफले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको मधेशले नौ विकेटको क्षतिमा २३१ रन बनाएको थियो। मधेशका लागि हरिशंकर साह र मयन यादवले अर्धशतक बनाए। त्यस्तै, अनिल साहले ४४, अभिषेक तिवारीले ३४, पवन सर्राफ, राजेश यादव र पवन पासवानले ११-११ तथा राहुल मण्डलले १० रन बनाए।
कर्णालीका लागि दीपेन्द्र रावतले चार, अनुज चनाराले दुई, दिनेश अधिकारी, उनिष सिंह र दिवान पुनले एक-एक विकेट लिए।
यो जितसँगै मधेश प्रदेश अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पाँच खेल खेलेको मधेशको ६ अंक भएको छ। कर्णालीले भने पाँच खेल खेल्दासम्म अंक जोड्न सकेको छैन।
त्यस्तै, सुदूरपश्चिम प्रदेश तीन खेलमा ६ अंक जोडेर रनरेटका आधारमा अंकतालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको बागमती प्रदेशले पाँच खेलबाट ६ अंक जोडेको छ।
आइतबार सिद्धार्थनगर क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र मूलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब तथा गण्डकी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।