कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन
प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेश सरकारले समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को शनिबारको बैठकले वार्ता समिति गठन गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले बताए। वार्ताबाट समस्या समाधान गर्न सरकारले वार्ता समिति गठन गरेको राईको भनाइ छ।
कोशी सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूको नेतृत्वमा वार्ता समिति गठन गरेको हो। समितिमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती सदस्य छन्। त्यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई सदस्य-सचिव तोकिएको छ।
२०७९ फागुन १७ मा कोशी नामकरण गरिएको थियो। प्रदेश सभाले नामकरण गरेसँगै पहिचान पक्षधर विरोधमा उत्रिएका हुन्।
नामकरण भएकै दिन पनि लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेश सभा अगाडि विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेको थियो। त्यसयता पुनर्नामकरण गर्नुपर्ने र प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने भन्दै आन्दोलन चलिरहेको छ।
आन्दोलनका क्रममा २०७९ चैत ५ गते विराटनगरमा भएको प्रदर्शनका क्रममा मोरङको बेलबारी-२, लालभित्तीका पदम लिम्बू (लाजेहाङ) घाइते भएका थिए। टाउकोमा चोट लागेका उनको चैत १० गते मृत्यु भएको थियो।
पहिचान पक्षधरले आन्दोलन जारी राखेपछि यसअघि पनि वार्ता समिति गठन गरिएको थियो। केही चरणमा वार्ता भए पनि सहमति हुन सकेको थिएन। सरकारले फेरि वार्ता समिति गठन गरेको हो।
यो पनि पढ्नुहोस् : स्मृतिमा टेकेको काेशी विराेधी आन्दोलन, होला त सफल?