प्राविधिक शिक्षालाई श्रम बजारसँग जोड्ने ‘पोखरेली अभ्यास’
प्राविधिक शिक्षालाई श्रम बजारसँग जोड्ने गरी पोखरेली युवाले अभ्यास गरेको नयाँ ‘मोडेल’ ले सरोकारवालालाई आकर्षित गरेको छ।
प्राविधिक शिक्षा र तालीमलाई श्रम बजारसँग जोड्न पोखरामा नयाँ ‘मोडेल’ को अभ्यास गरिएको छ। आई-ल्याब पोखराको टोलीले गत ६ महीनामा तालीम र श्रम बजारलाई जोड्न नयाँ ‘मोडेल’ को अभ्यास गरेको हो।
पोखरा पर्यटनको केन्द्र हो भने पर्यटन उद्योग तथा होटल व्यवसायको विकाससँगै रोजगारीको प्रशस्त सम्भावना पनि छ। होटल व्यवसायका लागि माग अनुरूपको दक्ष जनशक्ति उत्पादन, श्रम बजारमा स्थानान्तरण र सम्बन्धित पेशामा कामदारलाई टिकाउन यो ‘मोडेल’ केन्द्रित रहेको टोली प्रमुख अनिल पौडेल बताउँछन्।
यस ‘मोडेल’ मा पोखराका १२ होटलको आवश्यकता र मागमा आधारित रहेर होटल व्यवसायमा काम गर्न इच्छुक २५ जना विपन्न वर्गका युवालाई तालीम प्रदान गरिएको हो। उनीहरूलाई तीन महीनाको तालीम दिइएको छ।
तालीमका लागि युवाको पहिचान तथा छनोट राईट फर चिल्ड्रेनले गरेको हो। तालीमको प्रायोजन पनि यही संस्थाले गर्दै आएको छ।
त्यसपछि गेट भोकेशनल फ्याब स्कूलले छनोट भएका प्रशिक्षार्थीलाई तालीम दिन्छ। तालीमप्राप्त युवालाई पोखराका १२ होटलले थप तीन महीना कार्यप्रशिक्षण दिन्छन्। लगत्तै एकवर्षे प्रारम्भिक रोजगारीको अवसर प्रदान गर्ने गरी होटलहरूसँग सम्झौता गरिएको टोली सदस्य विवेक पौडेल बताउँछन्।
त्यसैगरी, तालीमका लागि छनोट भएका युवा र उनीहरूका अभिभावकसँग पनि सम्झौता गरिएको पौडेल बताउँछन्। यसरी तालीमप्राप्त प्रशिक्षार्थी हाल तीनमहीने कार्यप्रशिक्षणका लागि होटलमा काम गरिरहेका छन्।
व्यावसायिक शिक्षा र श्रम बजारबीचको सम्बन्धलाई सुदृढ र सुमधुर बनाएर तालीमप्राप्त जनशक्तिलाई सम्बन्धित क्षेत्रमा रोजगारी सुनिश्चित गर्न यो मोडेल तयार गरिएको अर्का सदस्य सरिता अधिकारी बताउँछिन्। यसरी तालीमप्राप्त युवालाई पेशामा दीर्घकालीन रूपमा स्थापित गराउने पनि लक्ष्य रहेको अधिकारीको भनाइ छ।
नयाँ मोडलको अभ्यास गरिरहेको इम्प्लिमेन्टेशन ल्याब (आई-ल्याब) अर्थात् शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला सिकाइ तथा छलफल केन्द्रमा रूपमा गठन गरिएको हो। काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन र स्वीस महासंघको आर्थिक सहयोगमा सञ्चालित क्वालिटी परियोजनाको ब्याकस्टपिङ र लर्निङ कार्यक्रम अन्तर्गत चेयर अफ एजुकेशन सिस्टम इटिएच जुरिकको संयुक्त प्रयासमा आई-ल्याब गठन गरिएको हो।
यसले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम सुधारका लागि देशभरबाट प्रस्ताव आह्वान गरेको थियो। खुला प्रतिस्पर्धाबाट देशभरका सात टोली छनोट भएका थिए। जस अन्तर्गत गण्डकीको प्रतिनिधित्व गर्दै आई-ल्याब पोखराको टोलीले नयाँ मोडेलको अभ्यास गरिरहेको टोली प्रमुख पौडेल बताउँछन्।
यसमा सहकार्य गर्न स्थानीय सरकारले पनि रुचि देखाएका छन्। यो अभ्यास र त्यसबाट प्राप्त नतीजाबारेको छलफलमा स्थानीय सरकार प्रमुखले यो मोडेल युवालाई रोजगार उपलब्ध गराउन सजिलो हुने बताएका छन्।
कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले प्राविधिक शिक्षालाई स्थानीय सरकार र श्रम बजारसँग जोड्नुपर्ने आवश्यकता औंल्याए। “युवालाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्न स्थानीय सरकारले योजना ल्याउनुपर्छ,” अध्यक्ष गुरुङ भन्छन्, “आई-ल्याबको नमूना अभ्यासले गाउँमा रोजगारी सिर्जना गर्न सघाउन सक्छ। गाउँपालिकाले यसलाई अवलम्बन गर्न सक्छ।”
त्यस्तै, मादी गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले आफ्नो क्षेत्रका दुई वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना रहेको बताइन्। त्यसका लागि यो नमूना अभ्यास उपयोगी हुने उनको तर्क थियो। “जीवन सुधारका लागि प्राविधिक शिक्षा र तालीम नै आवश्यक छ,” गुरुङ भन्छिन्।
विकासलाई प्रविधिसँग नजोडुन्जेल प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको क्षेत्र सुदृढ हुन नसक्ने पोखरा महानगरपालिकाको शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यको भनाइ छ। यसमा सबै पक्षको समन्वय हुनुपर्नेमा उनले जोड दिए।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) गण्डकी प्रमुख दामोदर देवकोटाले प्रदेश र स्थानीय सरकारले समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए। गाउँघरमा रोजगारी सिर्जना गर्न प्राविधिक शिक्षा र तालीम नै अहिले उपयुक्त माध्यम हुने देवकोटाको भनाइ थियो।
सबै मिलेर युवालाई रोजगार बनाउने नयाँ अभ्यास सकारात्मक भएको गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका उपसचिव तोयानाथ लम्सालको भनाइ छ। प्राविधिक शिक्षा र तालीमका लागि संघ, प्रदेश र स्थानीय तहमा नै वित्तीय र अधिकार बाँडफाँड गरिएको भए पनि समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए। यस्ता नयाँ अभ्यासले युवालाई प्राविधिक शिक्षा, तालीम र श्रम बजारसँग जोड्न सजिलो बनाउने उनको भनाइ थियो।
युवालाई प्राविधिक शिक्षा दिनकै लागि गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान स्थापना भएको उल्लेख गर्दै निर्देशक सोमनाथ सापकोटा यसलाई प्रदेश स्तरमा सुदृढ गर्दै लैजानुपर्ने बताउँछन्। “श्रम बजार, उद्योगसँगको सहकार्य र समन्वय फितलो रहेको अवस्थामा आई–ल्याब टोलीको प्रयास पृथक् छ,” सापकोटा भन्छन्। यसलाई स्थानीय र प्रदेश सरकारसँगको सहकार्यमा व्यापक बनाउनुपर्ने उनको भनाइ छ।
श्रम बजारमा दक्ष जनशक्तिको माग उच्च भए पनि युवा विदेशिने क्रम बढेकाले माग पूर्ति गर्न नसकिएको होटल एशोसिएशन पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्। त्यसका लागि युवालाई तालीमसँगै श्रम बजारसँग जोड्नुपर्ने सुवेदीको भनाइ छ। “पुरानै शैलीमा तालीम दिएर छोड्ने होइन, तालीम दिइसकेपछि रोजगार दिने पनि व्यवस्था गर्नुपर्छ,” सुवेदी भन्छन्, “त्यसका लागि सबैको समन्वय हुनुपर्छ, यो नयाँ अभ्यास उपयुक्त हुन्छ।”