अदालतको आदेशपछि साम्पाङले खोले उपकुलपतिको कार्यकक्षको ताला
अदालतको आदेशपछि धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोलेका छन्।
उच्च अदालत, विराटनगरले अस्पतालमा उपचार सेवा अवरुद्ध हुने गरी बन्द, हडताल, तालाबन्दी नगर्नू नगराउनू भनेर अन्तरिम आदेश दिएको थियो। अदालतको आदेशपछि मेयर साम्पाङले उपकुलपति कार्यकक्षमा लगाएको ताला खोल्न लगाएका हुन्।
मेयर साम्पाङले माघ १ गते प्रतिष्ठान पुगेर तालाबन्दी गरेका थिए। ताला खोल्न भने मेयर साम्पाङले स्वकीय सचिव सुदर्शन लिम्बूलाई पठाएका थिए। लिम्बूले ताला खोलेका हुन्।
ताला खोल्नुअघि प्रतिष्ठानमा आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजको नेतृत्वले मेयर साम्पाङसँग उपमहानगरपालिकामा भेट गरेको थियो। भेटमा कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीले कार्यकारिणी समितिको बैठक काठमाडौंमा बोलाएकोले धरानमै बस्ने वातावरण तयार गर्न पनि तालाबन्दी खोलिदिन आग्रह गरेका थिए।
कर्मचारी कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खानले भने, ‘‘हाम्रो माग का.स. बैठक धरानमै हुनुपर्छ भन्ने छ, त्यसका लागि सकारात्मक वातावरण बनाउन पनि मेयर साबलाई अनुरोध गरेका थियौं।”
प्रतिष्ठानका कर्मचारी, शिक्षक तथा चिकित्सक आन्दोलनमा उत्रिएपछि त्यसप्रति समर्थन गर्दै साम्पाङले ताला लगाएका थिए। उनीहरूले बढुवा प्रक्रिया शुरू गर्न माग गरेका थिए। माग सम्बोधन गर्ने सहमति बनेको छ।