‘कलाको कदर नभए २० वर्षपछि नेपाली कन्टेम्पोररी आर्टिस्ट नपाइन सक्छन्’
‘चित्र र मूर्तिको महत्त्व तब हुन्छ, जब त्यो हेर्ने र बुझ्ने मान्छे हुन्छ। हेर्ने र गहिराइमा बुझ्ने मान्छे नै थिएनन् भने मोनालिसाको महत्त्व हुँदैनथ्यो।’
नेपाली चित्रकला र मूर्तिकलाले नेपाली संस्कृति, परम्परा र जीवनशैलीलाई जीवन्त बनाएका छन्। यिनै कलाको प्रवर्द्धन गर्ने उद्देश्यले म्यूजियम अफ नेपाली आर्ट (मोना)ले कला उत्सव ‘काठमाडौं आर्ट बिएनाले’ आयोजना गरेको छ। माघ ४ गते शुरू बिएनाले तीन महीना अर्थात् चैत ५ गतेसम्म चल्नेछ।
ठमेलस्थित काठमाडौं गेस्ट हाउस तथा त्यसैको परिसरमा रहेको मोना र काठमाडौं आर्ट हाउसमा आयोजित प्रदर्शनीमा ८० जना नेपाली कलाकारका १०० भन्दा बढी कला राखिएका छन्। बिएनालेको सन्दर्भमा आयोजक मोनाका संस्थापक निर्देशक राजन शाक्यसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानी :
काठमाडौं आर्ट बिएनाले आयोजनाको पृष्ठभूमि बताइदिनुस् न। यसका आकर्षण के छन्?
मोनामा पछिल्लो तीन-तीन महीनामा एकल चित्रकला प्रदर्शनी भइरहेकै थियो। ‘काठमाडौं आर्ट बिएनाले’ भने एक वर्षयता गरिएको तयारी हो। यो कला उत्सव यस पालि पहिलो पटक आयोजना गरेका हौं र हरेक दुई वर्षमा हुनेछ। नेपालमा राम्रा कलाकारहरू एक ठाउँमा जम्मा गरेर प्रदर्शनी नभएको धेरै भएको थियो। त्यही अभाव पुर्न बिएनाले गरिएको हो। चार महीना चल्ने प्रदर्शनीमा ८० जना नेपाली कलाकारका १०० भन्दा बढी कला राखिएका छन्।
यसका लागि एक वर्षअघि नै कलाकारलाई ‘अध्यात्म’ भन्ने शीर्षक दिइएको थियो। यस विषयमा ‘कन्टेम्पोररी आर्टिस्ट’ सँगै परम्परागत विधाका कलाकारले पनि चित्र र मूर्ति बनाउनुभएको छ। अध्यात्मबारे मानिसको आआफ्नो बुझाइ हुन्छ। कलाकारको त्यही फरक फरक बुझाइ अनुसारका कला बिएनालेमा हेर्न पाइन्छ।
बिएनालेमा राखिएका कला हेर्न आउनेहरू नेपाली हुनुमा गर्व गर्नेछन्। नेपालका कला पनि यस्ता उत्कृष्ट रहेछन् भने एक पटक सोचमग्न बन्छन्। हिमाल हामीले बनाएनौं, पशुपतिनाथ, स्वयम्भू जस्ता मठमन्दिर, चैत्य पनि पुर्खाको पालामा बनेका आस्थाका धरोहर हुन्। २१औं शताब्दीको पिंढीले के गर्यो त भन्ने कुरा आएमा हामीले यी कला देखाएर गर्व गर्न सक्छौं।
बिएनालेमा राखिएको एउटा चित्र २० वर्ष लगाएर बनाइएको छ। प्रदर्शनीमा जोकोही पनि आएर अवलोकन गर्न सक्नुहुन्छ। प्रदर्शनीमा कलाकृति समेटिएका कलाकारमध्ये तेजबहादुर चित्रकार (दिवंगत) बाहेक अन्य सबैसँग भेट्न र छलफल गर्न पाउनुहुन्छ।
प्रदर्शनीको शीर्षक ‘अध्यात्म’ नै किन?
यसका दुई-तीन वटा कारण छन्। कलाकारले पूरै जीवन चित्र र मूर्ति बनाउन खर्चिनुभएको छ। कतिपय कलाकारले संस्कृति, अध्यात्म र ध्यानको विषयमा चित्र बनाएर वर्षौं बिताउनुभएको छ। उहाँहरूले बनाएका मूर्तिकला र चित्रकलामा भगवान्, अध्यात्म, धर्म लगायतको व्याख्या पाइन्छ र त्यही व्याख्याले हामीमा अध्यात्म र आस्थाको भाव जागेको छ, हामीलाई जीवनप्रति आशावादी बनाएको छ। सिंगो जीवन यस्तै कला बनाएर बिताउनेहरूको कला र क्षमता प्रदर्शन गर्ने ठाउँ उपलब्ध गराउन बिएनाले आयोजना गरिएको हो।
अर्को, अहिले एआई (कृत्रिम बुद्धिमत्ता)को युग हो। एआईको प्रभाव हरेक क्षेत्रमा बढ्दै जाँदा मानिसको कला, सिर्जनाको अवस्था भोलि के होला भन्ने एक किसिमको अन्योल र डर छ। यसले गर्दा पनि कलाकारका कामलाई समेटिएको हो। यही समयमा बिएनाले किन आयोजना गरियो त भन्ने लाग्न सक्छ। फेब्रुअरीदेखि विदेशी पर्यटक नेपाल घुम्न आउने दर बढ्छ। यस वेला कला उत्सव हुँदा उनीहरूले नेपाली कला देख्न पाउँछन्। ८० कलाकारका कलामध्ये कुनै एकले मन छोयो भने पनि एक कलाकारको नाम याद गरेर फर्किनेछन्।
८० कलाकार र १०० हाराहारी कला जुटाउन कति चुनौती भयो?
कलाकारसँग काम गर्न एकातिर मजा छ, अर्कातिर कठिनाइ पनि उत्तिकै हुन्छ। सिर्जनामा घोत्लिनेहरूलाई यो वा त्यो गर भन्न सकिंदैन र हुँदैन पनि। कसैको स्वभाव त झोकी हुन्छ। एकै परिवारका सदस्यको त विचार मिलाउन सकस हुन्छ, यहाँ त ८० कलाकारलाई एक ठाउँमा जोड्नु थियो। तर मैले यो कार्य आत्मसन्तुष्टिका लागि प्रेमले गरेको हुँदा रमाएर गरें। कमाउन त अन्य व्यापार-व्यवसाय गरौंला। प्रदर्शनीको मिति नजिकिंदै गर्दा कला जुटाउन कलाकारलाई ताकेता गरिरहनुपर्यो। कुनै कलाकारले दुई महीना अघि सिर्जना पूरा गर्नुभयो, केहीले हिजोअस्तिसम्म बनाइरहनुभएको थियो।
अर्को, कला प्रदर्शनीका लागि स्थानको ठूलो समस्या हुन्छ। तर काठमाडौं गेस्ट हाउस हाम्रो आफ्नै ठाउँ भएकाले समस्या नै भएन। आफ्नै ठाउँ भएकाले रातको १ बजेसम्म पनि बसेर काम गर्न पायौं।
यति धेरै तारतम्य मिलाएर प्रदर्शनी गरिन्छ, नेपाली अवलोकनकर्ताको प्रतिक्रिया चाहिं कस्तो हुन्छ? कला खरीद गर्ने संस्कार नेपालीमा कस्तो देख्नुहुन्छ?
मोनामा कला प्रदर्शनी गर्दा बिक्री गर्ने उद्देश्य हुँदैन। मलाई कलामा व्यापार गर्नु छैन। व्यापार गर्ने अन्य धेरै कुरा छन्। मानिसलाई थरीथरीका कला देख्ने अवसर जुटाउनु एक मात्र उद्देश्य हो। विश्वले नेपाल सगरमाथा र विविध संस्कृतिको देश भनेर चिनेकै छ, त्यससँगै अब कलाको देश भनेर पनि चिन्नुपर्छ भन्ने ध्येय हो।
प्रदर्शनीमा आउने अवलोकनकर्ताले कलाहरू स्विकार्नुभएको देख्छु। तर आजको नयाँ पुस्तालाई कला र यसको महत्त्वबारे बुझाउन एकदमै खाँचो छ। हाम्रो पुस्तामा बुबाआमाहरूले हामीलाई पूजाहरूमा करबल गरेर बसाउनुहुन्थ्यो। त्यसरी राख्नुको अर्थ उहाँहरूले कहिल्यै बताउनुभएन, हामीले पनि अर्थ खोज्ने माध्यम थिएन।
त्यसैले ती विषयलाई बेवास्ता गर्ने हाम्रो पुस्ताको प्रवृत्ति भयो। तर नयाँ पुस्तासँग स्रोतसाधन र प्रविधि छ, कुनै कुरामा रुचि भयो भने सबै पत्ता लगाउन सक्छन्। त्यसैले उनीहरूमा रुचि जगाउन सक्नु मात्र अहिलेको आवश्यकता हो। रुचि जागेपछि त्यसको महत्त्व बुझ्छन् र संरक्षण गर्ने सोच पनि आउँछ। कला प्रदर्शनीको उद्देश्य नै यत्ति हो।
तर अझै पनि हामीकहाँ यस्ता प्रदर्शनीमा गएर रमाउने संस्कार बसेको छैन। घुम्नु भनेको कुनै गन्तव्यमा जानु भन्ने सोच छ। कतै जानुपरे एक्लै त हिंड्दै हिंड्दैनौं। जबकि एक्लै घुम्न सकिने ठाउँ संग्रहालय र प्रदर्शनी हुन्। यस्ता प्रदर्शनीमा आएर कलासँग साक्षात्कार गर्दा आफैंसँग साक्षात्कार गर्न सकिन्छ, दिमागको फरक हिस्सा चलायमान हुन्छ।
अध्यात्म शीर्षक दिएर कला प्रदर्शन नै गरिरहनुभएको छ। तपाईंका लागि अध्यात्म भनेको के हो?
अध्यात्मको अर्थ पनि जीवनका विभिन्न अवस्थामा फरक हुँदो रहेछ। चेत नहुँदाको अवस्थादेखि जन्मिंदासम्म अध्यात्म भनेको आमा हो, शायद। किनभने त्यो अवस्थामा त्यो बच्चाको जीवनमा उसकी आमा बाहेक अर्को हुँदैन। फेरि अध्यात्म पनि धर्मको अस्थालाई लिएर विभिन्न हिस्सामा विभाजित हुन्छ नै। तर हामीले यहाँ अध्यात्मको कुरा गर्दा धर्मभन्दा विश्वास, आस्था र भावनाको कुरा गरिरहेका छौं। अहिले मेरा लागि अध्यात्म भनेको कला मात्र हो।
मेरो अध्यात्म यही भएकाले पनि नेपाली कला र कलाकारलाई विश्वमा चिनाउन मोना खोलेको हुँ। यी कलाहरू विदेशीलाई देखाएर, चित्र बेचेर कमाउनेभन्दा पनि यहाँ आउने मानिसले यिनलाई हेरेर, आफ्नो देशको कला, संस्कृति, सम्पदा र इतिहासलाई बुझ्न सकून् भन्ने हो। हामीले बुझेपछि मात्र हामीलाई यसको महत्त्व हुन्छ, अनि संरक्षण पनि।
नेपाली कला भएन भने नेपाली, भारतीय, चिनियाँ वा अन्यबीच भिन्नता नै हुँदैन। मान्छे त सबै मान्छे नै हुन्छ। सबैको शरीरमा रातो रगत नै हुन्छ। तर हामीलाई हाम्रो संस्कृतिले फरक बनाएको छ। हाम्रो कलाले फरक बनाएको छ। त्यही कला मेरा लागि अध्यात्म हो, प्रेरणा हो, सन्तुष्टि हो। त्यसैले केही आर्थिक, व्यवस्थापकीय चुनौती लिएर पनि यही काममा छु।
अन्य देशसँग तुलना गर्दा नेपाली कलाको स्थान कहाँ देख्नुहुन्छ?
खासमा सबै कला र कलाकारको आआफ्नै विशेषता र महत्त्व हुन्छ। तर अन्य देशसँग तुलना गर्दा नेपाली कला र कलाकार कम छैनन्। अझ परम्परागत कलामा त हामी नै अगाडि छौं। परम्परागत कला निर्माणमा हाम्रो २२ सय वर्षको इतिहास छ। पौभा, थांका कला त नेपालमै जन्मिएको हो, यहाँबाट तिब्बत, भूटान हुँदै संसारभर फैलियो। यी कला हेर्दा नेपालीको जस्तो सुन्दर कलाकारिता संसारको अरू देशका कलाकारसँग छैन भन्ने लाग्छ। यस्तो कला बनाउन यहाँका कलाकारकै जस्तो लगाव चाहिन्छ।
यत्तिका वर्षसम्म मैले बुझेको के हो भने नेपाली कलाकारले कला सिर्जना गर्दा म यति मूल्य पर्ने चित्र बनाउँछु भनेर सोच्दैन। मैले बनाएको चित्रले कस्तो सन्देश दिन्छ, कति आशावादी बनाउँछ भन्ने सोच्छ। त्यसरी बनाएका चित्र हेरेर भगवान्प्रति मानिसको आस्था र विश्वास जीवन्त बनिरहेको छ। त्यो नै नेपाली चित्रकार, मूर्तिकार र नेपाली ललित कलाको विशेषता हो।
यति संवेदनशील भएर बनाइए अनुसार कलाको कदर कति भएको छ?
हामीले उचित सम्मान गर्न सकेका छैनौं। अझ राज्यको तहबाट कलाकारका लागि केही पनि भएको छैन। कतिले आफ्नो कला अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धामा लगेर आएको पैसाले जीवन चलाएका छन्। कैयौं कलाकार प्रदर्शनी गर्न ठाउँ नपाएर बसिरहेका छन्। जिन्दगीभर कला साधनामा खर्चेर एक पटक पनि प्रदर्शनी गर्न नपाएर बितेका कलाकारहरू पनि छन्।
त्यसैले हामीले आफ्ना तर्फबाट जति सक्छौं, गर्छौं भनेर पनि मोना खोलेका हौं। यहाँ कलाकारले आफ्नो सिर्जना देखाउन ठाउँ पाउनुहुन्छ। यस्ता स्थान नभए त उहाँहरूको कला मर्छ। कला मर्नु भनेको हाम्रो संस्कृति र सम्पदाको आयु घट्नु हो।
कलाकारितामा झेल्नुपरेका यस्तै समस्या र असुविधाकै कारण नेपाली कलाकार विदेशिन थालेका हुन्?
देशको आर्थिक, राजनीतिक दुर्दशाले हरेक क्षेत्रलाई असर पारेको छ। तर यो असर कला क्षेत्रमा अहिले नै पूरै देखिएको छैन, अबको पाँचदेखि १० वर्षमा देखिन्छ। अबको २० वर्षपछि ‘कन्टेम्पोररी आर्टिस्ट’ खोइ भन्दा कोही नहुन सक्छ। त्यसैले हामीले भएकाहरूलाई जोगाउने हो। फेरि, कलाकारिता एक-दुई वर्षमै हासिल हुने कुरा होइन, कैयौं वर्ष र कतिको त जीवनभरको मिहिनेत लाग्छ।
कुनै विषय पढेर विज्ञता हासिल गर्न सकिएला, चित्र कसरी कोर्ने, रेखा कसरी राम्रो बनाउने भन्ने पढेर सीप पनि जान्न सकिएला तर कलाकार बन्न प्रतिभा नै लिएर आउनुपर्छ। सीप भन्नु र सिर्जना शक्ति, कला भन्नु फरक हो। यो कला गुम्यो भने अर्को कलाकार बन्न थप दुई दशक लाग्छ। उनीहरू गुम्दा राष्ट्रिय धन नै गुम्छ। हामीले कलाकारहरू बचाउन नसके आगामी १० वर्षपछि देशमा उनीहरूले बनाउने जस्तो कलाको अभाव हुनेछ। नेपालको कला इतिहासमा ठूलो खाडल पर्न सक्छ।
१५-१६ वर्षसम्म कला क्षेत्रमा रहेको व्यक्तिले जीवन धान्न नसकेपछि अमेरिका, अस्ट्रेलिया रोज्छ नै। तर उसको जीवन सहज बनाउन सके यहीं टिक्छ। हिजोका कलाबाट हामीले त्यो वेलाको समाज, संस्कृति र चिन्तन बुझ्न पाएका छौं। आज बनिरहेका कला जोगाउन सक्नु भनेको अबको ५०० वर्षपछि सन् २०२४ ताका नेपाल कस्तो थियो, त्यस वेला नेपालीहरू के सोच्थे भनेर मानव जीवनको अभिलेख सुरक्षित हुन्छ। यस्तो इतिहास र संस्कृतिको आधार बनाउने प्रतिभालाई पलायन हुन दिनु हुँदैन।
चित्र र मूर्तिकला बुझ्न बेग्लै चेत चाहिन्छ भन्छन्, त्यस्तै हो?
यो गलत बुझाइ हो। कलालाई हेर्ने आआफ्नो दृष्टिकोण हुन्छ। कुनै कला हेरेपछि तपाईंमा कस्तो भावना जागृत हुन्छ, त्यो तपाईंमा निहित हुन्छ। एउटा चित्र हेरेर सबैले उही बुझ्नुपर्छ भन्ने पनि हुँदैन। कला बुझ्न एउटै क्षमता चाहिन्छ- दिमागलाई खुला राखेर हेर्ने।
संग्रहालयमा कला हेर्न आउँदा दिमागको ढोका खुला राखेर आउने हो। अमूर्त कला हेर्दा बुझिएन भने मैले बुझिनँ भन्ने हो। बुझिएन भने साथीहरूसँग छलफल गर्न सकिन्छ। त्यसबारे सोध्नु राम्रो कुरा हो। त्यसले त्यो कला के हो भनेर बुझ्ने अवसर दिन्छ। पहिल्यै पूर्वाग्रही भएर यो त बुझिंदैन भन्न चाहिं हुइँदैन।
कलाकाे कुरा गर्दा मोनालिसाको चित्र धेरैकाे दिमागमा आउँछ। त्यस्ता कलाकृति बनाउने कलाकार नभएका हुन् कि हाम्रो कला त्यो दाँजोमा पुग्न नसकेको हो?
अहिलेसम्म लियोनार्दो दा भिन्चीलाई सबैभन्दा उत्कृष्ट कलाकार मानिन्छ। पछिल्लो समय उहाँको एउटा कला दुबईमा ५१५ मिलियन डलरमा बेचियो। तर अहिले भिन्चीको मोनालिसा हेर्दा हामीले ५०० वर्षअघि बनाइएको भन्ने बाहेक त्यसबाट अरू ज्ञान पाउँदैनौं। तर नेपाली कलामा विदेशीहरूले धेरै कुरा पाउन सक्छन्। एउटै चित्रमा आशा जगाउनेदेखि ‘विश्व सुन्दर घर’ सम्मको अवधारणा समेटिएको हुन्छ।
हरेक देशका कलाहरूको आआफ्नै सुन्दरता हुन्छ। तर अध्यात्म विषयमा बन्ने कलाहरूको सन्दर्भमा नेपालसँग कुनै देशको तुलना नै हुँदैन। कन्टेम्पोररी र एब्सट्राक्ट आर्ट १००-२०० वर्ष अघि यूरोपबाट नेपालमा भित्रिएका हुन्। त्यसैले ती विधामा यूरोपका देशहरू नै अगाडि छन्। तर परम्परागत कला यहीं शुरू भएकाले यसमा नेपाल अगाडि छ।
कलाका पारखी मानिने यूरोपेली कलाकारले नेपाली कला हेरेर कस्तो प्रतिक्रिया दिन्छन्?
मोनामा राखिएका चित्रहरू हेरेर उनीहरू छक्क परेका छन्। उनीहरू ती कलामा घण्टौं घोरिन्छन्। कलाकारलाई भेट्छन्, हात मिलाउँछन्। त्यसमा कलाप्रति उनीहरूको सम्मान देखिन्छ। हामीले चाहिं आफ्नै कलाको ओज र आफ्नो क्षमतालाई त्यति बुझेका छेनौं।
नेपाली कलाकार आफैंमा उत्कृष्ट छन् भने विदेशी चित्रकार जस्तो बन्ने सपना किन देख्छन् त?
हाम्रा नेता र मन्त्रीहरूले नेपाललाई सिंगापुर बनाउँछु भने जस्तै हो यो। सिंगापुर बनाउनै पर्दैन, नेपाललाई नेपाल बनाउने हो। अरू देश देखाएर तिनै गजब र सुन्दर भन्ने राजनीतिकर्मीको वर्षौंदेखिको रटानको प्रभाव समाजमा गहिरोसँग परेको छ। त्यो प्रभावका कारण आमजनतादेखि कलाकारमा विदेशीले गरेको मात्र राम्रो भन्ने मानसिकता बनेको हो।
कला क्षेत्रको संरक्षणमा राजनीतिकर्मी र सरकारले कति चासो दिएका छन्?
हामीकहाँ राजनीतिकर्मी र सत्ताले कलाको महत्त्व बुझेकै छैनन्। उनीहरूलाई भोलि आफ्नै कुर्सी रहन्छ वा रहँदैन भन्ने सोच्दैमा फुर्सद छैन, भावी पुस्ता र अझ सयौं वर्षपछिका लागि के सोचून्! उनीहरूको सोच सत्ताभन्दा पर हुनै सकेन। त्यसैले उनीहरूले कला वा कलाकारका लागि केही गरून् भनेर मैले त सोच्नै छाडिसकें। आफूले सकेको गर्ने, प्रयास जारी राख्ने हो। सत्तासँग आशा गरेर आफैंलाई तनावमा चाहिं पार्नु हुँदैन।
अन्त्यमा, नेपाली कला क्षेत्रको विकास गर्न के गर्नुपर्ला?
पहिलो कुरा त, कलाको शिक्षा आवश्यक छ। किनभने चित्र र मूर्तिको महत्त्व तब हुन्छ, जब त्यो हेर्ने र बुझ्ने मान्छे हुन्छ। हेर्ने र गहिराइमा बुझ्ने मान्छे नै थिएनन् भने मोनालिसाको महत्त्व हुँदैनथ्यो। कला हेर्ने भनेर कसैलाई जबर्जस्ती हेर भन्ने कुरा आउँदैन। आफ्नो विवेक र चेतनाले कलाको गहिराइ बुझ्ने हो। त्यसका लागि कलाको ज्ञान र शिक्षा दिइनुपर्छ।
मान्छेहरू आर्ट भनेको धनी व्यक्तिका लागि मात्र हो भन्छन्। धनी मान्छेले कला खरीद गर्न सक्ला, त्यो बेग्लै कुरा हो। तर संग्रहालयमा राखिएको कला त सबैका लागि हो। खरीद गर्नु मात्र कलालाई हेर्नु होइन, संग्रहालय र प्रदर्शनीमा कला हेरेर सन्तुष्ट हुनु, सिक्नु, आफैंलाई परख गर्नु नै कलाको उपयोगिता हो। एक व्यक्तिले बनाएको कलामा हामीले समाज, संस्कृति र जीवन पाउँछौं। त्यसरी कलालाई बुझाउन सकेमा कलाको महत्त्वबोध हुन्छ र स्तरोन्नति हुन्छ।
यो पनि पढ्नुहोस् : बिएनालेमा सास फेरिरहेका चित्र र मूर्ति