नेपाली सुर-संगीतका अलंकार : योगेश वैद्य
नेपाली सुरसंगीतको उन्नयनमा योगेश वैद्यले पुर्याएको योगदान उल्लेखनीय र अविस्मरणीय छ भने उनका कृति-सुकीर्तिहरूले हामीलाई बिर्सन दिनेछैनन्।
नेपाली संगीत क्षेत्र यति धेरै संग्रालिएर फैलिनुुमा उठान-अगुवा सुरकर्मीहरूको योगदान अविस्मरणीय छ। उत्खनन भएका र गरिन बाँकी नेपाली संगीतको प्राग्भूमिमा थुप्रै सुरकर्मी उदाए साथै विस्मृत गोधूलीको धूमिल प्रतिबिम्बमा हराउँदै गइरहेका छन्। जसले विना कुनै स्वार्थ निरन्तर संगीत साधना गरे, नेपाली संगीतको जग-जमीन उठाउने श्रेय उनै सुरकर्मीहरूलाई जान्छ। जुन सुकार्यको पूजा-प्रार्थना वा प्रशंसा आज गर्नैपर्ने हुन्छ।
इतिहास र वर्तमान संगीतको तुइन नजोडिए, आज लिपिबद्ध नभए भविष्यले खोज्ने अभिलेख तुवाँलोले ढाके जस्तै धूमिल देखिन सक्छ। र, हामीद्वारा सिर्जित हाम्रै ललितकलामाथि गौरव गर्ने स्थिति रहँदैन।
नेपाली संगीतको पूर्वातीत पूर्वांग र समकालीन उत्तर्रांग दुई ठूल्ठूला पाटाहरू चुचुरो भई उठिसकेका छन्। पूर्वांगको चूचुक-चुलीमा रहेका मास्टर सेतुराम, मास्टर मित्रसेन, मेलवादेवी, उस्ताद साहिंला, मास्टर रत्नदास प्रकाश, हीरा बाई, मानवीर राना, पञ्चबाला दासी, मिस पारुलबाला, मिस चन्दादेवी, मिस प्रभा, उस्ताद खेम चन, मिस तारा बाई, मास्टर पूर्णमान, मिस दुलारी, उस्ताद बद्री आदि थिए। साथै दार्जीलिङबाट हाजिरमान र हाजिरमाने शैलीले पनि नेपाली संगीतशैलीकै निम्ति मध्यपहाडी राजमार्ग खन्दै गरेका थिए।
दोस्रो विश्वयुद्धका आसपास नेपाली आधुनिक संगीत बामे सर्ने क्रममा थियो। उसो त काठमाडौं उपत्यकाभित्र संगीत उन्नयनका निम्ति वादित्रगोष्ठी, प्रेक्षमण्डपी, ध्वजागोष्ठिका आदि गुठीहरू लिच्छविकालमै अस्तित्वमा देखिन्छन्। उत्तर मल्लकालमा परम्परागत खेल-खलः, दबु-डबली, प्याँख, ब्याँचूली र बाहिर मैथिली, भोजपुरी, अवधी आदि समूह, समुदाय वा समाजबाट पनि नेपाली संगीत निस्सृत भई अन्तर्घुलन हुँदै थियो। यही सांस्कृतिक सम्मिश्रणले नेपाली आधुनिक संगीतको जग बसालेको देखिन्छ।
उठान-अतीतका सुरकर्मीले फैलाउन नभ्याएको सांगीतिक सोतोलाई राजमार्ग बनाउन आधुनिक संगीतको प्रविधियुक्त डोजर सञ्चालित गर्ने नातिकाजी, शिवशंकर, पुष्प नेपाली, बच्चुकैलाश, अम्बर गुरुङ, कोइलीदवी, हिनादेवी, रानुदेवी, कलानाथ अधिकारी हुँदै तारादेवी, प्रेमध्वज, पन्नाकाजी, माणिकरत्न, उही गोविन्दबहादुर, नारायणगोपाल आदि लावणिक सुरकर्मीका लहर-लर्कोमा सुस्पष्ट प्रदीप्त हुने कलाकार हुन्- योगेश वैद्य।
गायक योगेश वैद्यका विषयमा लेख्नु कुनै भ्रम, भ्रान्ति वा द्विविधा हुँदैन र छैन पनि। र पनि, यति चाहिं लागिरहेकै छ कि उनलाई यथार्थपरक ढंगले सचित्रण गर्न सकिंदैन कि? उनका स्वाभाविक चित्रहरू जेरक्स कपीका रूपमा उतार्न सकिंदैन कि? उनको खूबी, सामर्थ्य, गायन-गलाको गहिराइ नाप्न सकिंदैन कि? आदि अनेकन् सवाल मेरा मनमा सामुद्रिक ज्वारभाटा झैं उफान भएर उठ्ने गर्दछन् किन, किन। एक आभूषणयुक्त स्वर भएका गायक वैद्यमाथि आफ्ना सुस्पष्ट विचारहरू प्रक्षेपण गर्नु-गरिनु ऐच्छिक होइन अनिवार्य विषय हो। उनका कृति, कर्म र योगदान लिपिबद्ध हुनु जरुरी छ।
गायक वैद्य प्राज्ञिक व्यक्तित्व हुन्। शिक्षित र सबै कुराले दीक्षित व्यक्तित्व हुन् उनी। प्रशासनिक क्षेत्रमा होस् या सुर क्षेत्रमा उनी अब्बल थिए। यसो त नेपाली संगीत क्षेत्रले भोग्दै, बेहोर्दै र खेप्दै आएको अपठित भनिने आरोप पछि छ, जुन वैद्यको हकमा लागू हुँदैन। अधिकांश आरम्भ-उराहाकालीन नेपाली कलाकारहरू साक्षर मात्र थिए। अधिकांश समकालीन गायक-गायिका वैद्यको शैक्षिक तह-तप्कामा थिएनन्। मेरिट बेसिसमा दर्ता गर्ने हो भने वैद्यलाई ‘अल्फा’ समूहमा राख्नुपर्ने हुन्छ। धेरै सुरकर्मीमध्ये उर्मिला श्रेष्ठ भोजपुरे, सुशीला कंसाकार, रमेश ताम्राकार, जुजुकाजी रञ्जित, रविन शर्मा, ईश्वर श्रेष्ठ, नूपुर भट्टाचार्य आदिलाई मात्रै गायक वैद्यको समूहमा राख्न सकिन्छ।
योगेश वैद्यको स्वभाव वा चरित्र चित्रण गर्ने हो भने उनी नरवृषभ-नरोत्तम हुन्। उनलाई सभ्य, शालीन र शान्तिप्रिय भनिंदा गल्ती हुँदैन। अग्रज, समकालीन वा अनुज सबै पुस्तासँग नम्र भावले वाग्मी हुनुको स्वभावले उनी कुलीन हुन् भन्ने प्रस्टिन्छ। ‘एरोग्यान्ट’ या ‘एक्सेन्ट्रिक बहेवियर’ उनीबाट कहिल्यै अनुभूत-पराभूत भएन। उनको मुहारमा सन्तुलित, संयमित र मृदुल-वाचाल मुस्कान रहिरह्यो। उनका हरेक प्रस्तुतिमा पृथक् साथै अनुकरणीय व्यक्तित्व प्रदर्शित हुन पुग्यो। जुन सबै कलाकारमा पाइँदैन।
तुलना गर्ने हो भने गायक योगेश वैद्य र प्रेमध्वज प्रधानमा स्वभाव-शिष्टताजन्य निकटता भेटिन्छ, सबै विषय-सन्दर्भमा भने होइन। चर्चा-परिचर्चाको हिसाब-हैसियतले सतही मूल्यांकन गर्दा वैद्यलाई आमगायकलाई झैं अलंकृत गर्न सकिएला। तर उनको गायकीको मापन स्वर-सप्तक वा फ्रिक्वेन्सी-मोडुलेशन, मुर्की-मूर्च्छना, रेन्ज वा कम्पास विज्ञानसम्मत विधिबाट गरिनुपर्ने हुन्छ। कुनै पनि गायक वा गायिका जुनसुकै गीत गाएर चर्चाको शिखर चुम्न सक्छन्। तर प्रश्न उर्लिन्छ- त्यो गीत जनमनमा कति थेगियो?
गला-कलाको गाम्भीर्य गवेषण गर्ने वैद्यले गाएका आधुनिक गीत, राष्ट्रभावका गीत गरी संख्यात्मक रूपमा त्यत्ति धेरै नभए तापनि गुणात्मक रूपमा कम होइनन्। र, उनले गाएका सबै गीतले चरमचुली चुमेकै छन् भन्ने मेरो जिकिर होइन। अर्थात्, लोकप्रियता हासिल गरेका गीत अथवा परिचय दिलाउने गीत कमै छन्। कतिपय गीत-संगीत अनुरागीमाझ प्रसारण-सञ्चरण नहुनाले पनि ओझेल परेका हुन सक्छन्। यद्यपि गायक वैद्यलाई नेपाली संगीत क्षेत्रले एउटा उचाइको बिन्दुबाट विचरण गरिरहेकै देखिन्छ। उनको पृथक् गायनशैली र स्वत्व-साम्राज्य नेपाली संगीत जगत्मा स्पष्टै अनुभूत छ।
गायक वैद्यको मखमली आवाजको आभूषण नेपाली संगीत श्रोतामाझ ढुंगाको अक्षर जस्तै उत्कीर्ण भइसकेको छ। पाश्चात्य जगत्ले वर्गीकरण गरेको ‘ब्यारिटोन’ अथवा पूर्वीय शास्त्रले निर्क्योल गरेको ‘कलावन्त’ स्वर हो- वैद्यको गायनकला। यो निचोडको आधार उनले गाएको ‘सपना भुलाई सारा, आँशु पिएर जाऊ’ (रचना : शिव अधिकारी, संगीत : नातिकाजी) हो। लचकदार लावण्य भएको गायकीले वैद्यको वैशिष्ट्य स्थापित गरेको छ।
गायक वैद्यलाई स्थापित र चर्चाको शिखरमा पुर्याउने गीत पनि यही हो। उनको ‘आइडेन्टिटी’ यही गीतले दिएको छ। मेलोडियस गीत गाउने गायकका रूपमा उनी स्थापित छन्। नेपाली संगीत क्षेत्रले गौरव गर्ने विषय हो यो।
उफ्रिपाफ्रि गर्ने, उत्पात मच्चाउने गीतहरू गायक वैद्यको रोजाइमा नपर्नु नै उनको व्यक्तित्व र शैलीशिल्प बनेको देखिन्छ। बलडान्स गर्ने खालका केही युगल गीत भने गाएका छन् उनले। जस्तो- ‘तिमीलाई के भयो? तिमीलाई जे भयो’ (रचना : किरण खरेल, संगीत : शिवशङ्कर, सहस्वर : तारादेवी)। यो गीत २०३० को दशकमा निकै चर्चित थियो। मडरेट्टो टाइमिङको यो गीतमा नारी-पुरुषले ब्याले नृत्य-नाटिका गर्न सकिन्छ।
वैद्यलाई कारुणिक अनि अर्थपूर्ण गीत गाउने ‘चुजी’ गायक पनि भन्ने गरिन्छ। सबैखाले गीत उनको छनोटमा पर्यो/परेन भन्ने सवाल पनि नउठेको होइन। कतिपय गीत साथीभाइका दबाबपूर्ण अनुरोध अनि सामाजिक लोकोचारका कारण पनि रेकर्ड भएको पाइन्छ। कहिलेकाहीं गीत र संगीतको तालमेल, लय-तरज, संयोजन पक्ष आँगलठेगल भई कमजोर रेकर्ड भएको हुन सक्छ। यसले ती गीतलाई लोकको रुझानभन्दा टाढा पुर्याउँछ।
४० को दशकसम्म गायक वैद्य संगीतकार हुतराज शर्मा, नातिकाजी, शिवशंकर साथै गीतकार मवीवी शाह, यादव खरेल, राममान तृषित, किरण खरेल, विश्वबल्लभ, जी शाह आदिका कक्षमा घुमेका देखिन्छन्। त्यही क्रममा वैद्यका स्वरमा ‘पिरतीका पानाहरू’ (रचना : किरण खरेल, संगीत : तारादेवी), ‘मेरो आँशुमा नहाँसे, घायल यो दिन के हाँस्ला’ (रचना : जी.शाह, संगीत : नातिकाजी) जस्ता चर्चित गीतहरू रेकर्ड भए।
५० को दशकमा उनले अर्को सर्कल विस्तारित हुन थालेको देखिन्छ। जसमा जोडिएर गीतकारहरू ईश्वरबल्लभ, बी नन्द वैद्य, राजेन्द्र थापा, कृष्णहरि बराल, दिनेश अधिकारी साथै संगीतकारहरू शुभबहादुर, दीपक जंगम, मदन दीपबिम गीत-संगीतको निश्वासमा अनुलोम-विलोम गर्न आइपुग्छन्। जसबाट वैद्यको गायन प्रभाव, आकर्षण र आवृत्तिले अर्को छुट्टै आकाश निर्माण गर्दै पुरानो कक्षलाई विनिर्माण गर्न शुरू गरेको देखिन्छ।
६० को दशकपछि योगेश वैद्य आफ्ना गायनकलालाई विस्तारित गर्न नयाँ खुड्किलामा प्रस्थान गरेको देखिन्छ। शक्तिबल्लभ, कमल परियार, नरेन्द्र प्यासी, बमप्रसाद श्रेष्ठ, मनराजा नकर्मी आदिको संगीत र कृष्णप्रसाद पराजुली, आनन्द अधिकारी, प्रमोद ढुंगाना, मेरिना पौडेल, कोमल पाण्डे आदिसँग जोडिंदै नेपाली संगीतको विपुल-विहंगम फैलावट लिएको देखिन्छ वैद्यलाई।
विशेष गरेर नातिकाजी, शिवशंकर, जी.शाह, राममान तृषित, हुतराज शर्मा आदि सर्जकसँग कृतिगत रसायनमा प्रायः जोडिएका गायक वैद्यले एकल, युगल, सामूहिक देशभक्तिका गीतहरू पनि थुप्रै गाएका छन्। ‘नेपाल मेरो तिमीलाई उपहार भो जिन्दगी’ (रचना : मवीवी शाह, संगीत : नातिकाजी) उनको लोकप्रिय देशभक्ति गीत हो।
२०२५ सालमा रेडियो नेपालमा रेकर्ड भएको सबैबाट फ्याँकिएको (रचना : विश्वबल्लभ, संगीत : हुतराज शर्मा) योगेश वैद्यको पहिलो गीत हो। रेडियो नेपालद्वारा आयोजित गायन प्रतियोगिता भने उनी २०२६ मा द्वितीय र ०२८ प्रथम भएका थिए। रेडियोमा उनका आफ्नै रचना, संगीत र स्वरमा रेकर्ड भएको गीत ‘बितेका मेरा...’ हो। त्यस्तै, ‘ए जून तारा’, ‘माया होइन’, ‘यहाँ कुरिरहेछु’ आदि गीत उनको स्वर र संगीतमा रेकर्ड भएका छन्।
२०६१ मा रेडियो नेपाल बाहिर कमलादीको ‘सिम्फोनी स्टुडियो’ मा पवन चाम्लिङको रचना र यो पंक्तिकारको संगीतमा वैद्यले ‘आँशुको रङ एउटै भए पनि व्यथा र वेदना आआफ्नै हुन्छ’ बोलको गीत रेकर्ड गराएका थिए। जुन गीत फत्तेमान, रुबी जोशी र मीरा राणाको स्वरसँगै अर्को क्षितिज अल्बममा संगृहीत छ।
गम्भीर गायनकलाका साधक योगेश वैद्य नेपालीका साथै अंग्रेजी, हिन्दी र उर्दू-फारसी साहित्य समेतको गहन अध्येता थिए। उनी गजल, मुक्तक, रुवाइका साथै सनेटका पारखी थिए। उनी कुनै पनि रचनाले हृदयतल या संवेदनामा स्पर्श गर्नुपर्छ भन्ने मान्यता राख्थे। त्यस्तो सिर्जना नै कालजयी हुने ठान्ने उनले नेवारी भाषाका चुनिएका केही कवितामा पनि आफ्ना ओजिलो स्वर मिसाएका छन्।
प्रसारबाजी वा आफूलाई प्रायोजित गर्न कहिल्यै नरुचाउने गायक वैद्य सदैव मूल्यमान्यतामा अडिग रहे। उनले सस्तो लोकप्रियताको पछाडि पादुका शरणी गरेको कहिल्यै देखिएन। गीत-संगीतलाई सम्मानित तौरले मनन गर्ने गायक वैद्य लाभ, हानि, प्राप्ति, सम्मान-अभिनन्दनका लेनदेन जस्ता आत्मतुष्टितर्फ कहिल्यै लालची बनेनन्। उनी एक सच्चा स्वाभिमानी साधक थिए।
श्रेष्ठतम गायक योगेश वैद्यले आफ्नो गला-गायनलाई विनिमय वा आर्जनको माध्यम बनाएनन्। नेपाली आधुनिक संगीत क्षेत्रका कलावन्त अलंकार उनी स्वार्थ-शक्तिमा भन्दा सौम्य जीवनवृत्तमा रमेको देखिन्छ।
२००३ सालमा नरदेवी, काठमाडौंमा जन्मेका सुप्रसिद्ध गायक योगेश वैद्यका आमाबाबु रुक्मिणी र इन्दिरानन्द वैद्य हुन्। योगेशले तैयारा बानुसंग विवाह गरे। उनले मेलवादेवी घरानाका संगीतप्रवीण नरराज ढकालसँग शास्त्रीय गायन सिकेर आफ्नो कलामा परिष्कार ल्याएका थिए। पढाइमा एमएस्सी उत्तीर्ण उनी नरराज ढकालपछि नातिकाजी र शिवशंकर जस्ता नेपालका वरिष्ठ संगीतसाधकद्वयको सान्निध्यमा रहे। जसले उनलाई सच्चा साधक बनायो।
गायक योगेश वैद्यका सात वटा पुस्तक कृति प्रकाशित छन्। उनको सोलो अल्बम एक्लो मन, एक्लो लगनले ठूलो व्यावसायिक सफलता हासिल गरेको मानिन्छ। नेपाली सुरसंगीतको उन्नयनमा उनले पुर्याएको योगदान उल्लेखनीय र अविस्मरणीय छ। उनका कृति-सुकीर्तिहरूले हामीलाई बिर्सन दिनेछैनन्। श्रद्धाञ्जली!
सपना भुलाई सारा आँसु पिएर जाऊ,
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ।।
(सम्पादनः आनन्द राई, भाषाः प्रद्युम्न खनाल)