‘नेपालमा पन्चैबाजाको अनुसन्धान गर्दा मंगलिनी परम्पराले लोभ्यायो’
‘नेपाल पुगेपछि काठमाडौंमा लक्ष्मीनाथ श्रेष्ठ र उहाँकी पत्नी बेलाइतीदेवीसँग बसें। लक्ष्मीले धेरेथोर भाषा सिकाइदिनुभयो। बेलाइतीदेवीले पहाडमा कसरी बाँच्ने भनेर सिकाउनुभयो- प्याराफिन स्टोभ कसरी प्रयोग गर्ने, खोलामा कसरी लुगा धुने आदि।’
एथ्नोम्युजिकोलोजिस्ट क्यारोल टिंगी सन् १९८० को दशकमा नेपाल आएकी थिइन्। गोर्खा र जुम्ला लगायत ठाउँमा बसेर पन्चैबाजाको अनुसन्धान गरेकी उनले हार्टबीट अफ नेपाल: द पन्चैबाजा पुस्तक पनि लेखेकी छन्। त्यही क्रममा मंगलिनीहरूलाई भेटेर तीबारे लेख पनि तयार पारिन्।
उनले नेपालमा सय घण्टाभन्दा बढीको संगीत रेकर्ड गराएकी छन् जुन ब्रिटिश लाइब्रेरीले ‘डिजिटाइज’ पनि गरेको छ। यसमा ९०० भन्दा बढी ट्र्याकमा पन्चैबाजा, नगारा बाना, मंगलिनी, रत्यौली, बिस्केट जात्रा, घिन्ताङ घिसीं, घाँटु जस्ता लोकसंगीत संगृहीत छन्। टिंगीसँग सेवा भट्टराईले हालै जूम मार्फत गरेको अन्तर्वार्ताको सम्पादित अंश :
एथ्नोम्युजिकोलोजीमा तपाईंको रुचि कसरी भयो? नेपाल कसरी आउनुभयो?
मैले पश्चिमी शास्त्रीय संगीतमा केन्द्रित स्नातक डिग्री पूरा गरेपछि एथ्नोम्युजिकोलजीमा रुचि बस्यो। त्यसपछि पहिलो पटक यूरोप बाहिर गएँ जहाँ संगीतको भिन्नै संसार थियो।
म गाडीबाटै काठमाडौं आएँ। यो ठाउँले लोभ्यायो। स्नातकोत्तर डिग्रीको अनुसन्धान यहीं गर्ने निर्णय गरें। सोही क्रममा सन् १९३० को दशकमा अर्नोल्ड बेकले बनाएका नेपाली संगीतका रेकर्डिङहरू सुन्न पाएँ।
अनुसन्धानका लागि पन्चैबाजा नै कसरी छान्नुभयो?
मिरेल हेल्फरको लेखबाट पन्चैबाजाबारे थाहा पाएँ। त्यति वेलासम्म मलाई नेपाली संगीतमा केकस्ता विधा छन्, थाहा थिएन। यसबारे खासै अनुसन्धान गरिएको पनि रहेनछ। पन्चैबाजाबारे चाहिं अलि धेरै लेखिएको थियो। त्यसैले मलाई शुरूमा बाटो देखायो।
गोरखा नै किन रोज्नुभयो?
किनकि त्यहाँ विवाह र अन्य अवसरमा पन्चैबाजा बजाउने बलियो परम्परा कायमै थियो। गोरखा दरबारको नगारा बाना परम्परा पनि थियो। त्यहाँ मन्दिरमा बज्ने र विभिन्न ऋतुमा बजाइने हरेक किसिमका संगीत सुन्ने अवसर पाएँ। मैले विद्यावारिधिको अनुसन्धान शुरू गर्दा प्रज्ञा-प्रतिष्ठानका रामशरण दर्नालले फेलोशिपका लागि आवेदन दिन सुझाउनुभएको थियो। पाएँ पनि।
त्यस बापत नेपालमा बस्न एक वर्षको भिसा र चाहेको ठाउँमा यात्रा गर्ने स्वतन्त्रता पाइयो। गोरखा मात्र नभएर जुम्ला, कालिकोट र पूर्वी नेपाल समेत पुगेर पन्चैबाजा सुन्ने र यसका क्षेत्रीय भिन्नता तुलना गर्ने यो अद्भुत अवसर थियो।
पन्चैबाजा सम्बन्धी अनुसन्धानमा खटिंदाको स्थानीय अनुभव कस्तो थियो?
गोरखा पुगेपछि स्थानीय पन्चैबाजा वादकहरूसँग सम्पर्क गरें। एउटा बिहेमा भेटिएका गोपाल परियार मेरो अनुसन्धान सहायक बने। उनले मलाई धेरै मानिससँग परिचय गराउँदै विभिन्न चाडपर्वमा सामेल गराए।
मैले पन्चैबाजाको सांगीतिक पक्षको अध्ययन गरें। संसारभरका संगीतकार जस्तै पन्चैबाजा वादकले पनि राम्रो पारिश्रमिक पाउँदैनन् र समाजमा तिनको स्थान निम्न कोटिको छ भन्ने थाहा पाएँ। संगीतमा उनीहरूको विशेषज्ञता र समर्पणको पहिचान गरिएको छैन।
मंगलिनीहरूलाई कसरी भेट्नुभयो?
गोरखामा दशैं कार्यक्रममा सहभागी नहुन्जेल मलाई मंगलिनी परम्पराको ज्ञान थिएन। फूलपाती भित्र्याउन तीन मंगलिनी कलश बोेकेर हिंड्दै गरेको देखें। पन्चैबाजा र नगारा बानाको धुनसँगै उनीहरू गाइरहेका पनि थिए। केही खोजीनितीपछि मलाई विद्यावारिधिपछिको डिग्री (पोस्टडक)का लागि यही परम्पराबारे अनुसन्धान गर्न मन लाग्यो।
यो परम्पराको अनुसन्धानमा सन्दर्भस्रोतहरू कसरी फेला पार्नुभयो?
नेपाली परम्परासँग सम्बद्ध कुनै समकालीन स्रोत त फेला पारिनँ तर भारतमा रहेका समानान्तर परम्पराबारे पढें। त्यसपछि नुवाकोटमा दशैंका विभिन्न अनुष्ठानका लागि गीत गाउँदै आएका पाँच मंगलिनीसँग समय बिताएँ। उनीहरू मलाई आफ्नो ज्ञान र गायन बाँड्न तयार भए।
नेपाल आउनुअघि केकस्ता तयारी गर्नुभएको थियो?
नेपाल जानुअघि नेपाली भाषा सिक्न प्रयास गरेकी थिएँ। नेपाल पुगेपछि पहिलो ६ हप्ता काठमाडौंमा लक्ष्मीनाथ श्रेष्ठ र उहाँकी पत्नी बेलाइतीदेवीसँग बसें। लक्ष्मीले धेरेथोर भाषा सिकाइदिनुभयो। बेलाइतीदेवीले पहाडमा कसरी बाँच्ने भनेर सिकाउनुभयो- प्याराफिन स्टोभ कसरी प्रयोग गर्ने, खोलामा कसरी लुगा धुने आदि।
गोरखा बस्दा भाषा पनि बिस्तारै सुधारिंदै गयो। अरूले भनेको बुझ्न सक्ने भएँ। त्यो भाषाको आधारभूत सीप मात्र थियो। राजनीति, साहित्य वा अन्य विषयमा बौद्धिक कुराकानी गर्ने तहको थिएन। तर पछि मलाई नेपाली जीवनशैली अपनाउनभन्दा पश्चिमी जीवनमा फर्कन गाह्रो पर्यो।
काठमाडौंबाट गोरखासम्मको यात्रा चाहिं कसरी गर्नुभएको थियो?
काठमाडौंबाट खैरेनीटार जाने बस चढ्थें। बस खचाखच हुन्थ्यो, छतमा बाख्रा हुन्थे। गोरखा बजार जान बस फेर्नुपर्थ्यो। धूलैधूलो भएको उथलपुथल सडक थियो। गोरखामा दुई कोठा भएको सानो फ्ल्याट भाडामा लिएँ। पैसा तिरेपछि हरेक दिन पानीको एक जार डेरामै आइपुग्थ्यो। घर पछाडि एउटा शौचालय थियो, अन्य मानिस पनि त्यही प्रयोग गर्थे। मसँग एउटा सानो प्याराफिनको स्टोभ थियो। त्यसैमा दालभात पकाउँथें।
अनि पन्चैबाजा रेकर्ड गर्न विवाहहरूमा धाइरहन्थें, ठूलो र भारी टेप रेकर्डर र सोनी वाकम्यान बोकेर। रिल टु रिल टेपले एकपट्टि ९० मिनेट रेकर्ड गर्थ्यो। त्यसरी दशैंमा आठ वटा क्यासेट र बिहेमा तीन-चार वटा क्यासेट सकिन्थे। त्यति वेला गोरखा कुनै पर्यटकीय मार्गमा थिएन र म त्यहाँ नयाँ थिएँ। तर मानिसहरू गफ गर्न आइरहने भएकाले एक्लो महसूस भएन।
पन्चैबाजा र मंगलिनीबारे काम गरेपछि तपाईं नेपालको एथ्नोम्युजिकोलोजी क्षेत्रबाट हराउनुभयो नि?
मंगलिनीबारे अनुसन्धान गर्दै गर्दा म गर्भवती थिएँ। जसोतसो पोस्टडक्टोरल अनुसन्धान पूरा गरें। तर सानो बच्चा लिएर नेपाल आउजाउ गर्न सहज भएन। कुनै दिन नेपालमा फेरि काम गर्ने सोचेकी थिएँ। तर विभिन्न कारणले सम्भव भएन।
नेपालमा आफूले गरेको कामलाई अहिले कसरी हेर्नुहुन्छ?
त्यसले आजसम्म पनि मेरो जीवनमा केही न केही दिइरहेको छ। वर्षौंसम्म ती रेकर्डिङ मेरो कोठामा बसिरहेका थिए। ब्रिटिश लाइब्रेरीले डिजिटाइज र अपलोड गरेपछि तिनले नयाँ श्रोता पाए। आज पनि मानिसहरू ती रेकर्डिङ कसरी तिनको अनुसन्धानात्मक काममा सहयोगी भए भनी बताइरहेका हुन्छन्। यसले सन्तोष दिन्छ।