हनुमानढोकामा खुम्चिएका मंगलिनी
मंगलिनी परम्परासँगै त्यसले बोकेको प्राचीन लोकसंगीत र इतिहास पनि मेटिंदो छ।
हिन्दू धार्मिक अनुष्ठानहरूमा मंगलगान गरिनु नौलो होइन। एक समय थियो, यो कामका लागि राज्यले नै महिलाहरू नियुक्त गर्थ्यो। तर महिला अगुवाइको यो परम्परा अहिले हराउँदो छ।
भजन र गीत मार्फत अनुष्ठानलाई मंगलमय वातावरण दिने महिलालाई ‘मंगलिनी’ भनिन्थ्यो। राजपरिवारले गर्ने अनुष्ठानका निम्ति मंगलिनीको टोली नै खटाइन्थ्यो। राजतन्त्र हटेपछि अहिले ती हनुमानढोका संग्रहालयमा चौकीदार बनेका छन्। तिनले राजपरिवारका बिहे, व्रतबन्ध आदिमा गाउने गीत पनि धेरैजसो प्रयोगमा छैनन्, दशैंमा दुर्गा भजन चाहिं गाइरहेकै हुन्छन्।
रोहिता सुवाल र धनकुमारी डंगोल पछिल्लो खेमाका ‘मंगलिनी’ हुन्। उनीहरूले क्रमशः २०४३ र २०४४ सालमा नियुक्ति पाएका थिए। तत्कालीन युवराज दीपेन्द्रको उपनयनका लागि सात नयाँ मंगलिनी माग गरिएपछि यिनले आवेदन हालेका थिए। “त्यसअघि हामीले गीत गाएका थिएनौं,” धनकुमारी भन्छिन्, “नियुक्तिपत्र पाएपछि काम नै गाउने रहेछ भन्ने थाहा भयो।”
उनीहरूसँगै नयाँ-पुराना १६ जना मंगलिनीलाई गायन तालीमका निम्ति शास्त्रीय संगीतज्ञ नरराज ढकाल र तबलावादक शम्भुप्रसाद मिश्रकहाँ लगियो। नीरविक्रम प्यासीले पुराना गीतको समीक्षा गरेर शब्द तयार पारे। उनीहरूलाई दुर्गा, गणेश, गोरखनाथ आदिका भजनसँगै जन्मोत्सवमा गाइने गरी १० गीत सिकाइएका थिए। यीमध्ये कुनै दशैंमा काठमाडौं, गोर्खा र नुवाकोटमा अनि कुनै चाहिं नारायणहिटी दरबारका शुभकार्यमा गाइन्थे।
मिथकीय परम्परा
मंगलिनी परम्परा कहिले शुरू भयो, यकीन छैन। तर धनकुमारीले मिथकीय पात्र रामसँगै शुरू भएको र नेपालमा लिच्छवि र मल्लकालमा समेत प्रचलनमा रहेको कुरा अग्रजहरूबाट सुनेकी छन्। शाहकालमा मंगलिनीहरू काठमाडौं सहित गोर्खा र नुवाकोट दरबारमा पनि गाउँथे। गोर्खा पृथ्वीनारायण शाहको पुर्ख्यौली राज्य हो भने नुवाकोट उनको पहिलो प्रमुख विजयस्थल। नुवाकोटमै उनी केही समय बसे पनि। दशैंमा गोर्खाबाट फूलपाती ल्याइँदा मंगलिनीको विशेष भूमिका हुन्छ। मंगलिनीले गाउने एउटा गीतमा पृथ्वीनारायणका नाति रणबहादुरको नाम उल्लेख छ, जुन अध्येता क्यारोल टिंगीले रेकर्ड गरेकी छिन्। यो गीत भजन संग्रह रागमालामा पनि समेटिएको छ।
शाहवंशको सम्बन्ध रहेका अन्य ठाउँमा पनि मंगलिनी परम्परा पाइन्छ। ब्रिटिश जर्नल अफ एथ्नोम्युजिकोलोजीमा सन् १९९३ मा प्रकाशित एउटा लेखमा टिंगीले लमजुङ दरबारमा ‘मालश्रिनी’ भनिने कन्याहरूले मालश्री गाउने गरेको उल्लेख गरेकी छिन्। उनी लेख्छिन्, “दक्षिणएशियाभरि नै यस्ता धार्मिक अनुष्ठानमा गाउने महिला छन्। तीमध्ये सबैभन्दा प्रसिद्ध शायद देवदासी हुन्। ओडिसाका मन्दिरका बाह्रौं शताब्दीका विभिन्न शिलालेखमा देवदासी वा ‘मंगल नारी’ को उल्लेख पाइन्छ। पुरीमा सन् १९८० को दशकसम्म पनि यो परम्परा बाँचेको थियो। ग्रामीण भारतमा अझै पनि संस्कारहरूमा महिलाले गाउने परम्परा छ।.... महाराष्ट्रमा महिलाहरूले विवाहमा मंगलाष्टक गीत गाउँछन् भने गुजरातमा सबै संस्कारमा मंगलगीत गाइन्छ। उत्तर प्रदेशका गाउँका उच्च जातिहरूमा महिलाहरू नै संस्कार गीतका अभ्यासकर्ता र जानकार हुन्।”
नेपालमा पनि मंगलगायन परम्परा निकै प्रचलित रहेको लोकसंगीतका अध्येता रामशरण दर्नालले जनाएका छन्। नेपाली संगीत संस्कृति पुस्तकमा संगृहीत नेपाली संगीतमा मंगलगीतको परम्परा शीर्षक लेखमा उनले लेखेका छन्, “...विद्यारम्भ गरौँ, पूजाआजा थालौँ, शुभ साइतमा कतै प्रस्थान गरौँ वा बिहा, व्रतबन्ध आँटौँ, जुनसुकै शुभकार्यका लागि नेपाली समाजले मंगलकामनाका साथ मंगलगीत गाएको वा बजाएको सुन्न सकिन्छ। नेपालका विभिन्न भागमा मंगलगीतलाई विभिन्न नामले जान्न सकिन्छ। सुदूरपश्चिमाञ्चल (सेती र महाकाली) मा सगुन र फाग भन्ने चलन छ। केही अघिसम्म पनि ती फाग नारीकण्ठमा मात्र सुरक्षित थिए, अब पुस्तक र शोधपत्रमा अंकित भएका छन्। नेपाली लोकसंगीतमा मंगलगीतलाई ‘मांगल’ वा ‘माहल’ भनिएको छ। मंगलगीत गाउने नारीलाई ‘मंगली’ र साइतमा बाजा बजाउनेलाई ‘सगुनी’ भनियो।”
मध्य नेपालमा अहिले पनि मंगलिनी परम्परासँग मिल्दोजुल्दो ‘मागर’ गीत प्रचलनमा छँदै छ। कर्णाली र सुदूरपश्चिममा महिलाले शुभकार्यमा ‘मागल’ गाउँछन्। तिनलाई ‘मुग्लेरी’ भनिन्छ। “हरेक प्रकारका शुभकार्यका लागि हामीसँग गीत छन्, जन्मदेखि विवाह, पूजा र धान रोपाइँसम्म,” जुम्लाकी नवकन्या तिमिल्सिना भन्छिन्, “विवाहमा एकातिर पण्डितले मन्त्र सुनाउँछन्, अर्कातिर महिलाले बेहुलाको लुगा–गहना, बेहुलीको शृंगार, जन्तीको आगमन, अन्य रीति र बिदाइ समेटिएका गीत गाउँछन्।”
दरबारले नियुक्त गरेका मंगलिनी ग्रामीण भेगका तिनै गायिकासँग नजिक देखिन्छन्। टिंगीका अनुसार मंगलगायनको प्राचीन परम्परामा भारत र नेपालबीच केही समानता पनि थिए। यसलाई पुष्टि गर्न उनी मंगलिनी परम्परा र तवायफ/देवदासी परम्परालाई जोड्छिन्। तवायफहरू दरबारमा नाचगान गर्थे भने ‘देवतालाई चढाइएका’ देवदासी मन्दिरमा यी कला सिक्दै हुर्किन्थे। यिनलाई यदाकदा यौनकर्मसँग पनि जोडेर व्याख्या गरिएको पाइन्छ। तर नेपालका मंगलिनीको भूमिका शुभकार्यमा मंगलगीत र भजन गाउने मात्र छ। दरबारमा नाचगान गर्ने ‘नानी’ हरू छुट्टै हुन्थे, ती धार्मिक रीतिरिवाजमा संलग्न हुँदैनथे। पश्चिम नेपालका देउकी भनिने ‘देवदासी’ पनि मंगलिनीभन्दा अलग हुन्। मंगलिनीले विवाह गर्न सक्छन्। तवायफ वा देवदासीका विपरीत उनीहरू आफ्नै घरमा बस्छन्।
मंगलमय प्रजननशक्ति
नेपालमा मंगलिनीलाई विशेष देखाउने एउटा पक्ष तिनमा मंगलभाव निहित रहने मान्यता पनि हो। हिन्दू रीतिरिवाजले तय गरेका केही मानकमा महिला जीवनदायिनी शक्ति हुन्। तिनको उपस्थिति पनि मंगल हुन्छ। पुरुषसत्ताका ती मानकमा आफूलाई सीमित गरेकी विवाहित महिला शुभ मानिन्छिन्।
“विवाहित अवस्था यो मंगलपनको मूर्तरूप हो र विवाहित महिलाले लगाउने वेशभूषा यसका प्रतीक,” कार्मन र ल्युकलाई उद्धृत गर्दै टिंगी भन्छिन्। उनले वेशभूषा भनेर सौभाग्य सूचक मानिने रातो रङ, सिन्दूर आदिलाई संकेत गरेकी हुन्।
विधवाहरू जसको प्रजननशक्ति र सौभाग्य सूचक वेशभूषा समेत पुरुषसत्ताले नियन्त्रण गर्थ्यो, उनीहरू मंगलगायनबाट पनि वर्जित छन्। “कुनै मंगलिनीले पति गुमाए उनलाई पेन्सन दिएर अवकाश गरिन्छ। त्यसपछि उनलाई मंगल गीत गाउन दिइँदैन,” रोहिता भन्छिन्।
मंगलिनीलाई ‘जीवनदायिनी शक्ति’ सँग जोड्ने अर्को एउटा प्रचलन– गोर्खा दरबारमा विजयादशमीका दिन ‘फागु’ खेल्ने क्रममा मंगलिनीहरूले तल हिंडिरहेका पुजारीलाई झ्यालबाट अबीर बर्साउँथे। “फागुमा मंगलिनीको महत्त्वपूर्ण भूमिका हुन्थ्यो,” रोहिता सम्झन्छिन्, “हामी आँगन परिक्रमा गरिरहेका पुजारी र तिनका सहयोगीलाई रातो रङ लगाइदिन्थ्यौं।”
क्यारोल टिंगीले रातो रङलाई देवीको रजस्वलाको रगत वा प्रजननको प्रतीक भनेकी छन्, “यसरी आगामी वर्षमा जीवन र उत्पादनका लागि गरिने यो धार्मिक उत्सवमा मंगलिनीहरू मातृदेवीका सहयोगी बन्दछन्।”
हिन्दू परम्परामा रजस्वलालाई अशुद्ध मानिन्छ तर नवसिर्जनाको प्रतीक भएकाले शुभ पनि मानिन्छ। यो विरोधाभासलाई टिंगी अझ व्याख्या गर्छिन्, “हिन्दू समाजमा शुभ र शुद्ध भनेको सधैं एउटै हुन्छ भन्ने छैन। छुट्टाछुट्टै वैचारिक ध्रुवका यी अवधारणा विभिन्न तरीकाले परस्पर क्रियामा रहन्छन्। जस्तो- ‘दमाईं वाद्यवादक’ हरू अशुद्ध मानिन्छन् तर शुभ हुन्छन्। त्यसै गरी शुद्ध मानिने विधवा ब्राह्मणीलाई अशुभ मानिन्छ।”
विवाहित महिला शुभ मानिन्छन् तर ती कतिपय धार्मिक कार्यका लागि शुद्ध मानिंदैनन्। यस्ता काममा रजस्वला र विवाह नभएका बालिकालाई अघि सारिन्छ। किनकि विवाहित महिलामा देवीले वास नगर्ने मान्यता छ। महिलाहरू पण्डित र पुजारी हुन नपाउनुमा पनि यही मान्यताले काम गरेको छ। काठमाडौंका दाफा खलःलगायत विभिन्न भजन समूहले महिलालाई निषेध गर्थे। भारत, केरलाको सबरीमाला मन्दिरमा रजस्वला हुने उमेरका अर्थात् १० देखि ५० वर्षसम्मका स्त्रीको प्रवेश निषेध छ।
मंगलिनी र ग्रामीण भेगका मंगल गायिकाका हकमा धार्मिक सहभागितामा निहित यस्तो वर्जना निकै खुकुलो रहेको अनुभूति हुन्छ। जस्तो- कर्णाली र सुदूरपश्चिममा मस्टो, कुलपूजा आदिमा धामीले संस्कार चलाइरहँदा महिलाले समान रूपमा देववन्दना गर्छन्। काठमाडौंको तलेजु भवानीमा पुजारीले शाहवंशकी कुलदेवी दुर्गाको पूजा गर्दा मंगलिनीबाट मंगलगान गराउन छुटाइँदैन।
‘ब्रह्ममुहूर्तमा पण्डितले साइत दिएपछि पुरोहितले मन्त्रोच्चारण गर्न थाल्छन्, मंगलीले मंगलगान शुरू गर्छिन्, सगुनीले मंगल धुन बजाउन थाल्छन्। हरेक शुभकार्यमा बजाइने वा गाइने यो मंगल धुन कसले रचना गर्यो, कसले यसमा स्वर भर्यो? त्यो ठीकसँग पत्तो लागेको छैन। परम्परागत रूपमा यो कहिलेदेखि भक्तहरूको कानमा गुन्जिँदै आयो, त्यो पनि यसै भन्न सकिंदैन। तर नेपाली संगीतमा यो मंगल धुन आजसम्म पनि त्यत्तिकै चलिआएको छ,’ सोही लेखमा दर्नालको धारणा छ।
मंगलिनीका गीत
गत दशैंको फूलपातीका दिन हनुमानढोकाको ठूलो चोकमा निकै चहलपहल देखिन्थ्यो। एकातिर सेतो कोट–प्यान्ट लगाएका सैनिकको ब्यान्डले पश्चिमा शैलीको त अर्कातिर कालो दौरा–सुरुवाल लगाएको टोलीले नेपाली शैलीको बाजा बजाइरहेका थिए। छेवैको भवनको माथिल्लो तलामा गणेशको वन्दना गर्दै गरेका मंगलिनीहरू रातो सारी लगाएर चोकमा झरे। तिनको अगुवाइ गरेकी थिइन्, धनकुमारी डंगोलले। शिरमा कलश बोकेकी उनलाई रातो मखमली छाता ओढाइयो।
तब ब्यान्डलाई पछ्याउँदै मंगलिनीको लस्कर जमलतिर लाग्यो। बाजाको धुनसँगै बीचबीचमा बन्दूकको सलामी पनि दिइन्थ्यो। जमलमा गोर्खाबाट ल्याइएको फूलपाती बोकेर केही पुरुष उभिएका थिए– रातो टोपी, दौरा, कछाड/धोती लगाएका। तिनले चाँदीको डन्डी बोकेका थिए जसको एक छेउमा सिंह कुँदिएको छ। डन्डीलाई भुइँसम्म लत्रिएको रातो मखमली कपडाले छोपिएको छ। छेउछेउमा हिंड्ने दुई जनाले केरा आदिका बोट बोकेका छन्, सँगै सयपत्रीका माला पनि छन्। यो हो शाह राजवंशको पुर्ख्यौली थलो गोर्खाबाट ल्याइएको फूलपाती।
त्यहाँ पुगेपछि मंगलिनीले पहिले दुर्गाको भजन गाउँछन्–
जय बिन्दवासिनी तिमी भवानी, पूजा लेऊ मन लाएर
तन मन सारा आफ्नो तिमीमा, गर्दै छौं अर्पण
घरकी दुर्गा, मनाउँछौं हामी बाह्रै वर्ष
अन्माऊ फूलपाती चढाऊ डोली, भन्दै जय जय काली
वेद जगाई जननी आइन्, कालरात्री मनाऊँ
जय बिन्दवासिनी तिमी भवानी।
बाजागाजा विनाको गायन मात्र हुने भएकाले मंगलिनीको आवाज त्यहाँ मधुरो सुनिन्छ। त्यसपछि फूलपातीको डोली उठाई हनुमानढोका लगिन्छ। मूल चोकको एक ठाउँमा टपरीमा खानेकुरा र अरू सामग्री राखिएका थिए। फूलपाती आइपुगेपछि पुजारीहरूले हिन्दू विधि अनुसार पूजा गर्न थाल्छन्। सँगसँगै मंगलिनीहरू गणेशको भजन गाउँछन्–
जय गणनायक विघ्न विनाशक, ऋद्धि–सिद्धिका स्वामी
निर्मल ज्ञान मिलोस् भनी प्रभुमा, बिन्ती गर्छौं हामी
विघ्नेश्वर हे मंगलकारी, भक्तहरूका त्राता
बाधा बन्धन दूर गराऊ, प्रभु हे शान्ति प्रदाता,
मोदक प्रिय लम्बोदर भगवान् आदि देव सुखकारी
सद्गुणको शुभ ज्योति जगाऊ, मन यो निर्मल पारी।
अर्को चरणमा मंगलिनीले मालश्री धुनमा दुर्गाभजन गाउँछन् जसमा दुर्गालाई योद्धाका रूपमा वर्णन गरिएको छ। यिनै भजन भित्री चोकमा बोकाको बलि दिने क्रममा पनि गाइन्छ।
गणेश पूजा नदीकिनारमा चन्द्रवदन मृगलोचनी
आऊ गंगा जमुना त्रिवेणीसँग मध्य दाहिने कालिका
चण्ड प्रचण्डरूपिणी छत्तीस वाहन साधिनी
गणेश पूजा नदीकिनारमा चन्द्रवदन मृगलोचनी।
शंख, चक्र, गदा, पद्म, खड्ग खपरू लिएर
लाल लहंगा वीरगीत छतीस बाजा बजाएर
बजाई डिमिडिमी डमरू डिमिडिमी खड्ग खपरू धारणी
हात खपरू त्रिशूल लिएकी कोटी सेना मारनी।
अर्को चरणमा दुर्गालाई वरदायिनीका रूपमा अर्थ्याइएको भजन गाइन्छ–
जय दुर्गे दुर्गति परिहारिणी, दुःख निवारिणी जय भवतारिणी
जय माता दुर्गे भवानी, गर सबको कल्याण
जय करुणामयी विश्व विदारिणी, विद्यारूपिणी बुद्धिप्रदायिणी
हर अभिमान र मनको बन्धन, ज्ञान देऊ हे विश्व विदारिणी
तामसहारिणी दैत्यविदारिणी, मानसचारिणी मुक्ति विकासिनी
विकृतिमा विजय गराऊ, शक्तिस्वरूपा हे भयहारिणी
असुर–भाव विनाशिनी अम्बे, भाव प्रकाशिनी जगद शरणी
सबको मनमा विजय जगाऊ शक्ति देऊ हे मंगलकारिणी।
यही गीतका अन्य संस्करण पनि दक्षिणएशियामा पाइन्छन्, संस्कृत र अन्य रैथाने भाषामा। कतिपय शास्त्रीय संगीतकारले रेकर्डिङ पनि गरेका छन्। मंगलिनीले गाउने गीतका शब्द तत्कालीन युवराज दीपेन्द्रको उपनयन अगाडि कवि नीरविक्रम प्यासीले संशोधन गरेको टिंगीले उल्लेख गरेकी छिन्। त्यसअघि यी गीतमा अन्य भाषाका अंश पनि रहेकाले प्यासीले त्यसलाई नेपालीमा ढालेका हुन सक्छन्। जस्तो- टिंगीले नै रेकर्ड गरेको, आदित्यशमशेर राणाको घरमा गाउने मंगलिनीहरू चिनीचम्पा र कमलाले गाएको गीत यस्तो छ–
श्याम मनोहर देखो नारायण आए गरुड सवारी हो
शंख चक्र गदा पद्म विराजे गले तुलसी वन माला हरि हरि
आए गरुड सवारी हो
मुहार मुकुट र हुस्न झल्के मुख मुरलि गोपाल हरि हरि
आए गरुड सवारी हो
ब्राह्मण मुख से वेद पढता हे नारद बीन बजाइ हो
कञ्चन थाली पान सुपारी रूक्मिणी चमर डोलाइ हरि हरि
आए गरुड सवारी हो
देव मुनि सब शंख चलता हे तुमरो ज्ञान बखानी हो
गोपाल त्रिलोचन मिलिमिलि नाचे इन्द्र पुष्प वर्षाए हरि हरि
आए गरुड सवारी हो।
राजा महेन्द्रले ‘एक भाषा’ को नीति लागू गरेपछि दरबारिया गीतका भाषा पनि बदलिए। सबै शास्त्रीय गीत नेपालीमा गाउन थालिए। ‘नेपाली शास्त्रीय संगीतमा पहिले हिन्दी वा ब्रजभाषाकै पदहरू गाइन्थे। पछि श्री ५ महेन्द्रको हुकुम अनुसार नेपाली शास्त्रीय संगीतमा नेपाली पदकै गीतहरू राखि गाउनुपर्ने भयो। प्रारम्भमा यो कार्य अलि अप्ठेरो भएपनि पछि गएर गायकहरूलाई बानी परेपछि सजिलै अनुभव गरियो,’ पञ्चायत स्मारिकामा दर्नाल लेख्छन्।
मंगलिनीले नुवाकोट र गोर्खामा गाउने गरेका गीत पनि छन्। राजतन्त्र छँदा उनीहरू तीनतिर बाँडिन्थे। तीन जना गोर्खा, पाँच जना नुवाकोट जान्थे भने बाँकी काठमाडौंमै रहन्थे। तर गोर्खामा गाइने गरेको यो गीत अहिले उति सुनिंदैन–
जय देवी भैरवी गोरखनाथ अम्बिके जगदम्बिके
ज्योति ज्वाला विशाल आँखा वीरगीत कति–कति
ता ता थैया ताता थैया ता ता थैया ताता थैया
नाच संग लिई जोगिनी, नाच संग लिई जोगिनी,
भक्तका दुःख हटाऊ जननी, भक्तका दुःख हटाऊ जननी
अम्बिके जगदम्बिके, अम्बिके जगदम्बिके।
यो गीतमा गोरखनाथको प्रसंग छ। त्यस्तै नुवाकोटमा गाइने गीतमा नुवाकोट मन्दिरसँगै त्यहाँका दशैं प्रचलनहरूको वर्णन पाइन्छ–
भैरवी देवी तिम्रो शरणमा हामी आयौं
नुवाकोटमा सुन्दर मन्दिर, भित्र बसेर आसन बाँधी
सन्ध्याकालमा दीप जलाई, नगरा बजाई, सबद सुनाई
भैरवी देवी तिम्रो शरणमा हामी आयौं।
दशैंकेन्द्रित बाहेक मंगलिनीले राजपरिवारका पूजा र शुभकार्यमा गाउने गीत पनि छन्। तीमध्ये गणेश वन्दना आदि आज पनि गाइन्छन् तर कन्यापूजा, दशावतार जस्ता गीत खासै प्रयोगमा छैनन्। राजपरिवारको जन्मदिनमा गाइने गीत यस्तो छ–
जय जय जय जय होस् तिम्रो
यही प्रार्थना छ दिनरात हाम्रो
अष्टचिरञ्जीवीले रक्षा गरी
चिरायु राखून् सिरी पशुपतिले।
यस्तै अरू गीत हराइसकेका पनि हुन सक्छन्। टिंगीले आदित्यशमशेर राणाको घरमा रेकर्ड गरेको, हनुमानढोकाका मंगलिनीलाई पनि थाहा नभएको एउटा गीत यस्तो छ–
जय देवी भैरवी गोरखनाथ दर्शन देऊ भवानी
प्रथम देवी उत्पन्न भयो हे जन्म लियो कैलाश हे
ज्योती जगमग चहुँदिश देवी चौंसठ्ठी योगिनी साथ हे
स्वपन दियो हे गोरखनाथको भैरवी मनाइ ए
बीस सय भोग प्रसन्न देवी वरदान दियो सब देश हे
देवी वचन वरदान पायो हे भारत सकल नेपाल हे
खाट सिंहासन जिती लियो हे और लियो सब देश हे
देव वर्ण माथ मुकुट वरदान सुरूजे उदाइए
तपस्या जिती प्रकट भयो हे तखत भयो नेपाल ए
शिरमा सिंदुर मकुट झलकत कुण्डल झलकत कानमा
देव वर्ण श्री रणबहादुर तपस्या जिती अखण्डै।
राजा रणबहादुर शाहको उल्लेख रहेको यो गीतमा गोरखनाथ र भैरवी देवीको आशीर्वादका कारण शाह राजाले नेपाल जितेको आशय छ। हनुमानढोकाका मंगलिनीको संग्रहमा अहिले १० वटा गीत मात्र छन्। अन्त यो परम्परा हराएकाले इतिहास झल्काउने अन्य गीत पनि सँगै हराइसकेका हुन सक्छन्।
मंगलिनीको वर्तमान
मंगलिनीका गीतहरू नेपाली लोकगीत परम्पराका विशिष्ट संग्रह हुन सक्छन्। लय र संरचनाका आधारमा मंगलगीतहरूलाई धर्मनिरपेक्ष लोक परम्पराभन्दा भिन्न मान्ने टिंगी स्थाननाम र देवतालाई चढाइने वस्तुको उल्लेखले गीतलाई अलग स्थान दिएको बताउँछिन्। उनका अनुसार यो परम्परा सन् १९८० को दशकमै कमजोर भइसकेको थियो। सोही कारण दीपेन्द्रको उपनयनका लागि नयाँ समूहको नियुक्ति, शब्द सुधारसँगै पुनः तालीम दिनुपरेको थियो। त्यति वेला सक्रिय दरबारका १६ मंगलिनीमध्ये अहिले ६ जना बाँकी छन्। दशैंमा गाउन भनी तीन नयाँ मंगलिनी करारमा राखिएका छन्। बाँकी दिन सबै जना हनुमानढोका दरबारमा चौकीदारका रूपमा खटिन्छन्।
“राजतन्त्र छँदा हाम्रो नियमित काम नै नित्य पूजा र सबै शुभकार्यमा गीत गाउने हुन्थ्यो, राजपरिवारलाई नजिकबाट भेट्थ्यौं,” रोहिता सुनाउँछिन्। राजतन्त्र छँदा राजपरिवारको सहभागितामा त्यहाँ हुने धार्मिक कार्यक्रम अहिले सरकारी कर्मचारीको उपस्थितिमा गरिन्छ।
टिंगीले शाहपरिवार बाहिर दुई मंगलिनी मात्र भेटेको उल्लेख गरेकी छन्, आदित्यशमशेरको घरमा काम गर्ने तिनै कमला र चिनीचम्पा। उनका अनुसार झन्डै ४० वर्षअघि कमला ४० वर्ष कटिसकेकी थिइन् भने चिनीचम्पा ६० वर्ष। अब शायदै कुनै भूतपूर्व राजघरानामा यो परम्परा जीवित होला।
यो पनि पढ्नुहोस् : ‘नेपालमा पन्चैबाजाको अनुसन्धान गर्दा मंगलिनी परम्पराले लोभ्यायो’