आशुतोषको शतकको मद्दतले बागमती विजयी
आशुतोष घिराइयाको शतकको मद्दतले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले जित हासिल गरेको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ७४ रनले पराजित गरेको हो। बागमतीले दिएको २७४ रनको लक्ष्य पछ्याउने क्रममा कोशी प्रदेश २०० रनमै समेटियो।
कोशीका लागि सुजन थपलियाले ५९, अंकित सुवेदीले ५३, आइश भट्टराईले ३१ र सोनु अन्सारीले २१ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
बागमतीका लागि इशान पाण्डेले पाँच, सूर्य तामाङले दुई र प्रतीक श्रेष्ठले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको बागमतीले ४८.३ ओभरमा सबै विकेट गुमाएर २७३ रन बनाएको थियो। कोशीका लागि आशुतोष घिराइयाले १११ बलमा ११६ रन बनाए। उनले १६ चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतीक श्रेष्ठले १९ रन बनाए। कोशीका लागि अभ्यास तिमिल्सिनाले तीन, कमल खत्री र हेमन्त राईले दुई-दुई तथा फिर्दोश अन्सारीले एक विकेट लिए।