राष्ट्रिय सभा निर्वाचनले गठबन्धनका अन्य दल र जनमत पार्टीबीच खटपट
राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशमा अन्य समूहतर्फ छुट्टै उम्मेदवार बनाएको जनमत पार्टीका नेताहरू गठबन्धनको रवैया विरुद्ध उभिएको बताउँछन्।
सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा सत्तारूढ गठबन्धनसँग एक सीट मागेको थियो। गठबन्धनले सीट नदिएपछि याे पार्टीले मधेश प्रदेश र लुम्बनी प्रदेशमा एक-एक उम्मेदवार उठाएको छ।
मधेशमा रामशंकर महासेठ र लुम्बिनीमा बाल गोविन्द चौधरी उम्मेदवार छन्। यसले गर्दा गठबन्धनमा रहेका दलहरू जनमत पार्टीसँग असन्तुष्ट छन्।
गठबन्धनमै रही जनमतले छुट्टै उम्मेदवार बनाएपछि सत्तारूढ दलमा असन्तुष्टि देखिएको हाे। गठबन्धनमा रहेको जनमत पार्टीका संघीय सरकारमा एक मन्त्री छन् भने मधेश प्रदेशमा दुई मन्त्री छन्। त्यस्तै, राष्ट्रिय योजना आयोग र प्रदेशको नीति आयोगमा पनि जनमतकै सिफारिशमा सदस्य छन्।
मधेशमा जनमतका उम्मेदवारलाई लिएर गठबन्धनमा रहेका दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्। मधेशमा महासेठ अन्य समूहतर्फ उम्मेदवार छन्। गठबन्धनबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना उम्मेदवार छन। त्यस्तै, नेकपा (एमाले)ले विजेता झालाई उम्मेदवार बनाएको छ।
जनमतले गठबन्धनका उम्मेदवारलाई मत नदिंदा निर्वाचन परिणाममा केही फरक पर्छ? मधेश प्रदेशमा राष्ट्रिय सभाको मतभार हेर्दा कांग्रेस पहिलो शक्तिका रूपमा छ। कांग्रेसको मतभार तीन हजार १६१ छ। त्यस्तै, एमालेको दुई हजार ३५५ र जनमत पार्टीको ७४६ मतभार छ।
गठबन्धनमा रहेका दलहरू कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीको मतभार जोड्दा सात हजार ५४१ पुग्छ। यस्तोमा जनमतले गठबन्धनलाई नसघाउँदा पनि खासै फरक नपर्ने देखिन्छ। त्यसैले गठबन्धनका अन्य दलले जनमतसँग संवाद पनि गरेका छैनन्।
कांग्रेस सहमहामन्त्री महेन्द्र यादव जनमत पार्टीको व्यवहारलाई राजनीतिक अपरिपक्वताको संज्ञा दिन्छन्। “प्रदेशदेखि संघसम्म अहिलेसम्म कांग्रेसकै कारणले जनमत गठबन्धनमा टिकेको छ तर राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवारी दिंदा राजनीतिक परिपक्वताको अभाव देखिएको छ,” यादव भन्छन्।
जनमत पार्टीसँग अर्को सत्तारूढ दल जसपा पनि सन्तुष्ट छैन। जनमत पनि सबैभन्दा बढी जसपाप्रति नै आक्रामक रूपमा प्रस्तुत हुँदै आएको छ। मधेशमा जनमतले जसपालाई प्रतिस्पर्धी शक्तिका रूपमा लिने गरेको छ। त्यसैले सरकारमा सहभागी भए पनि जनमतका नेता तथा कार्यकर्ता सरकार विरुद्ध नै उत्रिने गरिरहेका छन्।
मधेशका मुख्यमन्त्री एवं जसपाका नेता सरोजकुमार यादव जनमतलाई गठबन्धनमा राख्ने कि नराख्ने भन्नेमा सोच्नुपर्ने वेला आएको बताउँछन्। हरेक निर्वाचनमा गठबन्धन विरुद्ध गइरहेको उल्लेख गर्दै यादव भन्छन्, “गठबन्धनमा सहभागी दलले जनमतका क्रियाकलापको विषयमा सोच्नुपर्ने समय आएको छ।”
यसअघि पनि जनमतले गठबन्धनका उम्मेदवार विरुद्ध आफ्नो उम्मेदवारी दिएको थियो। उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनको उम्मेदवार छँदाछँदै जनमतले छुट्टै उम्मेदवारी दिएको थियो। त्यस्तै, उपनिर्वाचनमा बारा-२ मा उपेन्द्र यादव विरुद्ध उम्मेदवार खडा गरेको थियो।
अहिले राष्ट्रिय सभा निर्वाचनमा हार्ने निश्चित हुँदाहुँदै पनि उम्मेदवारी दिएर ‘स्टन्ट’ गर्न खोजेको जसपा नेता यादव बताउँछन्। “हार्दै छु भन्ने थाहा पाउँदापाउँदै पनि राजनीतिक प्रचारबाजीकै लागि उम्मेदवार बनाएको छ,” उनी भन्छन्।
जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादव भने गठबन्धनमा रहेका दलहरूले आफ्नो धर्म निर्वाह नगरेकाले उम्मेदवारी दिनुपरेको बताउँछन्। “गठबन्धनले एकीकृत समाजवादीलाई सीट दियो, जनमतलाई दिएन। गठबन्धन दलको रवैयाका विरुद्ध पनि उम्मेदवार बनाएका हौं,” यादव भन्छन्, “हार र जितभन्दा पनि जनमत पार्टी आफ्नो मूल्यमान्यतामा अडिक रहनुपर्छ भन्ने सन्देश दिन पनि उम्मेदवारी दिएका छौं।”