राष्ट्रिय सभा निर्वाचनमा ३८ प्रकारका मतपत्र
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले ३८ प्रकारका मतपत्र तयार गरेको छ।
आयोगले शुक्रबारसम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुर्याइसकिएको जनाएको छ। माघ ११ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदै छ। त्यसमा आठ दलका ५१ उम्मेदवार प्रतिस्पर्धामा छन्।
सातै प्रदेशका लागि छुट्टाछुट्टै मतपत्र तयार भएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले बताए। सबै समूहका छुट्टाछुट्टै गरेर ३८ प्रकारका मतपत्र तयार गरिएको पन्थीले जानकारी दिए।
आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि ६ हजार ९१० मतपत्र छापेको छ। जसमा कोशी प्रदेशमा चार प्रकारका ९२०, मधेश प्रदेशमा चार प्रकारका ९४० र बागमती प्रदेशमा चार प्रकारका एक हजार ७६० मतपत्र छापिएका छन्।
यस्तै, गण्डकीमा ६ प्रकारका ९००, लुम्बिनीमा चार प्रकारका ७४०, कर्णालीमा ६ प्रकारका ७५० र सुदूरपश्चिममा तीन प्रकारका ९०० मतपत्र छापिएका छन्। प्रदेश सभा सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको विवरण र स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको विवरण भएको मतपत्र तयार गरिएको सहायक प्रवक्ता पन्थीले बताए।
राष्ट्रिय सभाका २० सांसदको आउँदो फागुन २० गते पदावधि सकिंदै छ। जसमध्ये एक जनालाई सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनीत गरेका थिए भने १९ जना निर्वाचित भएका थिए। निर्वाचित १९ जनाको ठाउँमा माघ ११ गते चुनाव हुन लागेको हो।