स्रोत नखुलेको दुई करोड ३० लाख सहित चार जना पक्राउ
राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रुपैयाँ सहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरू रहेको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। राजस्व अनुसन्धान विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
व्यापारी अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको ढुंगानाले बताए। बरामद गरिएको रकम हुन्डी कारोबारको हुन सक्ने आशंका रहेको उनको भनाइ छ।
पक्राउ परेका चारै जना विरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट म्याद लिने विभागको तयारी गरिरहेको महानिर्देशक ढुंगानाले बताए।