बीपी प्रतिष्ठानको विवाद समाधान गर्न सहमति जुट्यो, बढुवा प्रक्रिया शुरू हुने
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान गर्न सहमति जुटेको छ।
धरानबाट काठमाडौं पुगेका पाँच राजनीतिक दलका प्रतिनिधि र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबीच बीपी प्रतिष्ठानको समस्या समाधान गर्ने सहमति जुटेको हो। बैठकमा शिक्षक, कर्मचारी र चिकित्सकले गरिरहेको आन्दोलनका विषयमा छलफल भएको जनाइएको छ।
स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा शिक्षक र कर्मचारी बढुवाका विषयमा तत्काल कार्यकारिणी समितिको बैठक बसेर सञ्चालक परिषद्मा पेश गर्ने प्रस्ताव तयार गर्ने र सञ्चालक परिषद्को विशेष बैठक बोलाउने सहमति भएको नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले बताए। “कार्यकारिणी समितिको बैठक बसेर दुई दिनभित्र बढुवा प्रकिया अगाडि बढाउने सहमति भएको छ,” पोखरेलले भने। उनका अनुसार कार्यकारिणी समिति र सिनेटको बैठकले शिक्षक तथा कर्मचारीका माग सम्बोधन गर्नेछ।
स्वास्थ्यमन्त्री बस्नेतले प्रतिष्ठानको विषयमा आफू गम्भीर भएको बताएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यसचिव वैकुण्ठ अर्यालसँग संयुक्त बैठक गरेर प्रतिष्ठानको समस्या समाधानका विषयमा छलफल भएको बस्नेतको भनाइ थियो। त्यसका लागि मुख्यसचिव अर्याललाई शिक्षक र कर्मचारीका माग सम्बोधन गर्न आवश्यक गृहकार्य गर्ने जिम्मेवारी दिइएको पनि उनले जानकारी गराएका थिए।
धरानबाट काठमाडौं गएको टोलीमा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा, प्रदेश सांसद विजय राई, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य जीवन राई, पूर्व मेयर तिलक राई, कांग्रेस नगर सभापति पोखरेल, नेकपा (एमाले)का नगर अध्यक्ष हर्कजंग एभेङ, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष मनोज भट्टराई, कांग्रेस नगर उपसभापति तथा धरान–१८ का वडाध्यक्ष प्रविन राई, जसपा नगर अध्यक्ष ताजुब लिम्बू लगायत थिए।