शरणार्थी प्रकरणका अभियुक्त शमशेर मियाँ हज समिति अध्यक्षमा पुनर्बहाल
नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा सामेल भएको अभियोग लागेका शमशेर मियाँको नेपाल हज समितिको अध्यक्षमा पुनर्बहाली भएको छ।
उच्च अदालत, पाटनले माघ ३ मा शमशेरलाई समितिको अध्यक्षका रूपमा कामकाज गर्न गराउन अन्तरिम आदेश दिएको थियो। त्यसको भोलिपल्ट माघ ४ गते मियाँको पुनर्बहाली गरिएको हो।
उनी पक्राउ परेपछि मकबुल मियाँ कार्यवाहक अध्यक्ष बनेका थिए। नक्कली भूटानी शरणार्थी प्रकरणमा सामेल समूहले उनको गाडीलाई रकम ओसारपसारमा प्रयोग गरेको अनुसन्धानबाट खुलेको थियो।
जिल्ला अदालत, काठमाडौंले मियाँलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। धरौटीमा छुटेपछि पुस २९ गते उनी पुनर्बहालीको माग सहित उच्च अदालत पुगेका थिए।
न्यायाधीश रमेशराज पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि माघ ८ गते बोलाउन आदेश समेत दिएको छ। अदालतले छलफलको दिनसम्म मियाँलाई अध्यक्षको हैसियतमा काम गर्न नरोक्न भनेको हो।