बिएनालेमा सास फेरिरहेका चित्र र मूर्ति
पहिलो पटक आयोजित कला प्रदर्शनीको उत्सव ‘काठमाडौं आर्ट बिएनाले’ मा वर्षौं अवसर नपाएका कलाकारका चित्रकला र मूर्तिकला समेटिएका छन्।
चित्र एक
पञ्चमुखी देवी गायत्रीको वर्णन गरिएको संस्कृत श्लोकमा मोती, मुगा, सुन, नीलो र सेतो वर्णको पाँच अनुहार भएकी भनिएको छ। यिनै देवीको चित्र २० वर्ष लगाएर बनाएका छन्, परम्परागत कलाकार उदयचरण श्रेष्ठले। शीर्षक दिएका छन्- गायत्री।
शिरमा चन्द्रमा भएकी, कमलको फूलमा विराजमान देवीले १० वटा हातमा शंख, चक्र, गदा, खप्पर, कमलको फूल जस्ता वस्तु लिएकी छन्। गरगहनाले धपक्कै उनी ध्यानमग्न देखिन्छिन्।
यही ‘गायत्री’ चित्रले म्यूजियम अफ नेपाली आर्ट (मोना)मा राखिएका विभिन्न चित्रको बीचमा दिव्य आभा छरिरहेको छ। कलाकार श्रेष्ठसँग यो चित्रबारे आफ्नै कथा छ। २० वर्ष लगाएर बनाएको कलाबारे उनी भन्छन्, “यो चित्र बनाउन शुरू गर्दा म भर्खर ललितकला कलेज पढ्दै थिएँ। एउटा पोस्टकार्डमा गायत्रीको फोटो देखेपछि मन परेर बनाउन थालेको थिएँ, भर्खरै सकें।”
पोस्टकार्डलाई आधार बनाएर चित्र बनाउन शुरू गरेका उनले जब विभिन्न धार्मिक ग्रन्थ, तन्त्रशास्त्र, पत्रपत्रिका, स्वस्थानी, पुराण लगायतमा गायत्री देवीको व्याख्या भेटे, त्यसपछि चित्रमा परिमार्जन गर्दै गए। धार्मिक ग्रन्थहरूमा गरिएका वर्णनलाई मुख्य आधार बनाए पनि यसमा उनले केही मात्रामा आफ्नो कल्पना पनि मिसाए। “यही कारण चित्र पूरा गर्न यत्तिका वर्ष लाग्यो,” उनी भन्छन्।
यही माघ ५ गतेबाट शुरू कला प्रदर्शनीको उत्सव ‘काठमाडौं आर्ट बिएनाले’ मा यो चित्र पनि प्रदर्शनीमा राखिएको छ। ठमेलस्थित काठमाडौं गेस्ट हाउस परिसर र त्यहीं रहेका मोना र काठमाडौं आर्ट ग्यालरीमा बिएनाले हुँदै छ। तीन महीनासम्म चल्ने यो कला उत्सवको शीर्षक दिइएको छ- ‘अध्यात्म’।
कलाकार श्रेष्ठले मोनाका संस्थापक निर्देशक राजन शाक्यबाट अध्यात्म शीर्षकमा चित्र उपलब्ध गराउन एक वर्षअघि नै खबर पाएका थिए। त्यसै क्रममा उनले उक्त चित्र प्रदर्शनीमा राखेका हुन्। “तयार पार्न लामो समय लागे पनि अहिले प्रदर्शनीमा राख्न पाउँदा खुशी छु,” उनी भन्छन्, “एउटा कलाकारलाई आफ्नो चित्र प्रदर्शन हुनुले ठूलो अर्थ राख्छ।”
श्रेष्ठको भनाइमा नेपालमा चित्रकारहरूले आफ्नो कला सहज रूपमा प्रदर्शन गर्न पाएका छैनन्। पैसा तिरेर ग्यालरीमा प्रदर्शन गर्न सबैको आर्थिक क्षमताले नभ्याउने भएकाले धेरै कलाकार खुम्चिएर बस्न बाध्य छन्। त्यसमा पनि नयाँ कलाकारहरूले कला प्रदर्शनी गर्न दुर्लभ अवसर नै जुर्नुपर्छ। अहिले मोनाले सञ्चालन गरेको आर्ट ग्यालरी धेरै कलाकारका लागि अवसर बनेको उनी बताउँछन्। मोनाले कला प्रदर्शनीको अवसर नपाएका कलाहरूलाई निःशुल्क प्रदर्शनी गर्न ठाउँ दिने गरेको छ।
चित्र दुई
काठमाडौं आर्ट बिएनाले मूर्तिकार मीना कायस्थलाई पनि अवसर बनेको छ। प्रदर्शनीमा उनको ‘घाम पानी घाम पानी स्यालको बिहे’ शीर्षकको मूर्तिकला राखिएको छ। यो कला उनले नौ महीना लगाएर बनाएकी हुन्। एकैसाथ घाम र पानी परेको देखाइएको मूर्तिमा स्यालको विवाहमा बिरालो बाहुन छ अनि कुकुर, खरायो, सिंह, भ्यागुता, बाँदर लगायत नाचगान गर्दै जन्ती गएका छन्।
यस मूर्तिकलाको रचनागर्भ खोतल्दा कायस्थ आफ्नो बाल्यकाल सम्झन्छिन्। भक्तपुरको कमलविनायकमा जन्मिएकी उनी नजिकैको कालिका स्कूलमा पढ्थिन्। घामपानी परेपछि कक्षाकोठाबाट साथीहरूसँग एकै हुलमा निस्किएर चौरमा रमाउँथिन् उनी। पानीमा भिजेर घर पुग्दा बुबाआमाको गाली खानुपर्थ्यो।
“अहिले सम्झँदा ती दिन नै मेरो लागि अध्यात्म र ध्यान जस्ता रहेछन्। त्यसैले होला, राजन सरले अध्यात्म शीर्षकको कुरा गर्दा घामपानी स्यालको बिहे भन्ने सोच आएको थियो,” उनी सुनाउँछिन्।
मूर्तिको विषय टुंगो लागेपछि यसको प्रस्तुतीकरणमा उनलाई समय लाग्यो। धेरै पटक बनाउँदै भत्काउँदै गरिन्। आफ्नो चित्त बुझाउन अनेक कोशिश गरिन्। अन्त्यमा बेहुला स्याललाई हात्तीमा बसाइन्, बेहुलीलाई डोलीमा। डोली बोक्ने दुई खरायो बनाइन्। बाजागाजा बजाउनेमा भ्यागुता र स्याललाई राखिन्। विवाह उत्सव देखाउन तोरण पनि टाँगियो। जब मूर्तिले पूर्ण रूप लियो, बल्ल उनको मन प्रफुल्ल भयो। “सबै बनेपछि त जति हेर्यो त्यति खुशी लाग्यो। खासमा मूर्तिकला खुशीको माध्यम पनि हो,” उनी भन्छिन्।
कायस्थले यस कलामा बेग्लै संसार उभ्याइदिएकी छन्। मूर्तिकला हेर्ने व्यक्तिले जंगलमा आयोजित ठूलो विवाह समारोहमा आफूलाई पनि सहभागी ठान्छ। जनावरहरूको नाचगान उत्तिकै उल्लासमय देखिन्छ। यति जीवन्त कला बनाएकी उनी बिएनालेको प्रदर्शनीमा आफ्नो काम धेरै दर्शकमाझ पुग्नेमा उत्साहित छिन्। यो मूर्तिकला यही प्रदर्शनीमा बिक्री होस् भन्ने चाहन्छिन् उनी। “वर्षौंको मेहनतले बनाएको कला बिक्री भयो भने खुशी लाग्छ। यसपछि अर्को बनाउन जाँगर पनि आउँछ,” उनी भन्छिन्।
चित्र ३
कलाकार मनीष ध्वजू (२३)ले बनाएको पाटन दरबार क्षेत्रको सुनको झ्यालको चित्र पनि बिएनालेमा समेटिएको छ। यो चित्रलाई तस्वीर भनेर झुक्किने धेरै छन्। तर यो उनले पेन्सिलले बनाएको चित्र हो, जसलाई ‘हाइपररियालिस्टिक ड्रइङ’ भनिन्छ।
पाटनको उत्कृष्ट कलाकृतिमध्ये मानिने सुनको झ्याल पाटन म्यूजियम छिर्ने ढोकाको ठीकमाथि दोस्रो तलामा छ। झ्यालमा विभिन्न देवीदेवताका आकृति कुँदिएका छन्।
हिन्दू र बौद्ध धर्मका भगवान्हरूको सुन्दर आकृति भएको यस झ्यालमा काठ र सुनको मिश्रण छ। झ्यालमाथिको तोरणमा उमामहेश्वरलाई देवताहरूले घेरेका छन्। यस सम्बन्धी चित्र बिएनालेमा प्रदर्शन गर्न पाउँदा चित्रकार ध्वजू दंग छन्। भन्छन्, “धर्म, अध्यात्म जस्ता विषयमा भएका प्रदर्शनमा आफ्नो चित्र राख्न पाएको थिइनँ। यस पटक अवसर मिल्यो।”
८० कलाकार, १०० सिर्जना
म्यूजियम अफ नेपाली आर्ट (मोना) सन् २०२० देखि सञ्चालनमा आएको हो। मोनाले व्यवस्थापन गर्दै आएको काठमाडौं आर्ट हाउसमा कलाकारहरूले चित्रकला, मूर्तिकला सहजै प्रदर्शनीमा राख्न सक्छन्। कला प्रदर्शनीकै लागि बनाइएको यो स्थानमा यस पटक मोनाले काठमाडौं आर्ट बिएनाले आयोजना गरेको छ। तीन महीना चल्ने यो कला उत्सवमा ८० जना नेपाली कलाकारका १०० भन्दा बढी चित्रकला, मूर्तिकला प्रदर्शनीमा रहनेछन्।
बिएनाले यसपालि पहिलो पटक भएको हो। यो कला उत्सव हरेक दुई वर्षमा गर्ने योजना छ। बिएनालेको तयारी एक वर्षअघि शुरू गरिएको आयोजक तथा मोनाका संस्थापक निर्देशक राजन शाक्य बताउँछन्। उनका अनुसार नेपाली चित्रकला, मूर्तिकलाले यहाँको संस्कृति, परम्परा र जीवनशैलीलाई जीवन्त बनाएका छन्। तर पछिल्लो समय प्रविधिको विकास र प्रयोग र त्यसमा पनि एआई (कृत्रिम बुद्धिमत्ता)को फड्कोले कला क्षेत्रमा पनि प्रभाव पार्न थालेकाले मानिसको कलात्मक शक्ति चिनाउन र विस्तार गर्न यस्ता कला प्रदर्शनी महत्त्वपूर्ण भएको शाक्य बताउँछन्।
प्रदर्शनीको शीर्षक अध्यात्म राखिनुको कारणबारे उनी भन्छन्, “कलाकारहरूले संस्कृति, अध्यात्म, ध्यान सम्बन्धी कला बनाएर जीवन नै बिताएका छन्। तर यस विषयमा प्रदर्शनी नभएकाले यो शीर्षक रोजिएको हो।”
शाक्यले भने झैं अध्यात्म विषयमा धेरै कलाकारको रुचि रहेको प्रदर्शनीमा राखिएका चित्रकलाहरूले देखाएका छन्। प्रदर्शनीमा परम्परागत चित्रकार हरिप्रसाद शर्माको राजा जयप्रकाश मल्ल र तलेजु भवानीले कौडा खेलेको, राजनकुमार पन्तको ‘पारिजातको रूख’, जीवन मोक्तानको ‘हरियो तारा’, बालकृष्ण वनमालाको ‘निर्माता, रक्षक र भक्षक’ लगायत चित्रकला समेटिएका छन्।
कला र कलाकार बचाउन प्रदर्शनी
आफूले महीनौं या वर्षौं लगाएर बनाएको कला एक पटक भए पनि ठूलो प्रदर्शनीमा राख्न पाउनु कलाकारको सपना हुने चित्रकार ध्वजू बताउँछन्। “स्थापित कलाकारलाई भन्दा नयाँ कलाकारलाई यस्ता प्रदर्शनमा ठाउँ दिइनुपर्छ। किनभने धेरै प्रदर्शनी हुँदैनन् र प्रदर्शनी भए पनि प्रायः ठूला कलाकारहरूले स्थान पाउँदा नयाँ आउने वातावरण नै बन्दैन,” उनी भन्छन्।
हुन पनि कला प्रदर्शनी कलाकारले आफू र आफ्नो कला चिनाउने मञ्च हो। यिनै प्रदर्शनीबाट दर्शकसम्म कला पुग्छ र तिनको बिक्री हुने सम्भावना हुन्छ। जसबाट कलाकारले आर्थिक टेको पाउँछन्। पछिल्लो समय आमयुवासँगै कलाकार पनि अवसरको खोजीमा विदेशिने लहर देखिन थाल्दा तिनलाई आर्थिक रूपमा टिकाउन यस्ता प्रदर्शनी अत्यावश्यक रहेको कलाकारहरूको बुझाइ छ।
काठमाडौं विश्वविद्यालय, स्कूल अफ आर्टका प्राध्यापक सुजन चित्रकार अहिलेको अवस्थामा नेपाली कला र कलाकारितालाई बचाउने सजिलो माध्यम नै कला प्रदर्शनी भएको बताउँछन्। उनका अनुसार कला प्रदर्शनीमा आमदर्शकले कलाको महत्त्वसँगै कलामा लगानी गर्नुपर्छ भन्ने पनि बुझ्छन्। तर सरकारी तहबाट प्रदर्शनी जस्ता कार्यक्रम हुन नसक्दा कलाकारले भरथेग नपाएको उनको भनाइ छ। उनी भन्छन्, “जति पनि प्रदर्शनी भएका छन् निजी तहबाटै भएका छन्। सरकारी तहबाट त कलाकारहरूलाई छात्रवृत्ति दिएको, विभिन्न प्रोत्साहनका कार्यक्रम गरेको थाहै छैन।”
सरकारी तहबाट कलाको संवर्द्धन र प्रवर्द्धनका काम नहुँदा सर्वसाधारणले पनि कलाको महत्त्व बुझ्ने र कलाचेत हासिल गर्ने अवस्था बन्न सकेको छैन। नेपालीहरूमा कला खरीद गर्ने संस्कार पनि कम छ। कला किन्नेहरूले पनि अक्सर कलाको समीक्षा र पारख गरेर भन्दा पनि सौन्दर्य हेरेर किन्ने गरेका कलाकारहरूको अनुभव छ। परम्परागत र समसामयिक कलाबारे बुझाउन नसक्दा र कला बहस, कला चिन्तन, कला प्रदर्शन पनि कम हुँदा यस्तो भएको प्राध्यापक चित्रकार बताउँछन्।
मोनाका संस्थापक निर्देशक शाक्य नेपालका राजनीतिक व्यक्तिहरूमा कला क्षेत्रबारे रत्तिभर चासो देख्दैनन्। उनी भन्छन्, “आजसम्म सत्तामा रहेका कोही व्यक्ति कला संग्रहालयमा गएर रमाएको, घोरिएको देखेको छैन। उनीहरूले यसको महत्त्वबोध नै गरेका छैनन्।”
शाक्यका अनुसार कलाकारहरू पलायन हुने दर पछिल्लो समय बढिरहेको छ। यसको असर आजको भोलि नै देखिने नभई एक दशकसम्म लाग्न सक्ने भन्दै उनी कुनै दिन परम्परागत चित्र कोर्ने दक्ष कलाकारको अभाव हुने स्थिति निम्तिन सक्ने अनुमान गर्छन्। उनी भन्छन्, “कलाकार नरहनु भनेको कला नरहनु, संस्कृति नरहनु हो। त्यसैले जसरी सकिन्छ कला र कलाकारितालाई बचाउन सक्ने कार्य गर्नुपर्छ।” त्यसमध्ये कला प्रदर्शनी पनि एक भएको उनी बताउँछन्।